काठमाडौं। मंसिर ४ मा सम्पन्न निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएका अर्थमन्त्री, पूर्वअर्थमन्त्रीसहित व्यवसायीका मतपरिणाम सार्वजनिक भइरहेका छन्।
मतगणनामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दुई व्यवसायी मुस्ताङबाट योगेश गौचन र मनाङबाट टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। गौचन र गुरुङ दुवै पर्यटन व्यवसायी हुन्।
हालसम्मको मतपरिणामअनुसार अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा सुरुवाती अग्रता लिएका छन्। उनको क्षेत्रमा मंगलबार दिउँसोबाट मात्र मतगणना सुरु भएकाले परिणाम आउन केही समय लाग्ने देखिन्छ।
अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार शर्माले ३ सय ५१ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले २ सय ४१ मत ल्याएका छन्।
नेपालका एकमात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पनि अग्रता कायम राखेका छन्। नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चौधरीले १० हजार ३ सय २२ मत ल्याउँदा उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले ८ हजार ६ सय ५९ मत ल्याएका छन्।
गण्डकी प्रदेशकै गोरखा क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार बनेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले पनि अग्रता कायम राखेका छन्। बजगाईंले १ हजार ८ सय २१ मत ल्याउँदा नेकपा (एमाले) का उम्मेदवार रामशरण बस्तेनले ४ सय १९ मत ल्याएका छन्।
मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका उम्मेदवार व्यवसायी कृष्णकुमार श्रेष्ठले पनि अग्रता कायम राखेका छन्। हालसम्मको मतपरिणामअनुसार ६ हजार १ सय २१ मत पाएका श्रेष्ठका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँले ४ हजार ८७ मत ल्याएका छन्।
बागमती प्रदेश चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र कांग्रेस उम्मेदवार अर्थविद विश्वनाथ पौडेल गणनामा पछाडि परेका छन्। पूर्वअर्थमन्त्री पाण्डेले ६ हजार ४८ मत ल्याएका छन् भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले ५ हजार ५ सय ९१ मत ल्याएका छन्। पाण्डे र पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ३७ मत ल्याइसकेको छन्।
चितवन क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ५ हजार १ सय २८ मतसाथ अग्रता कायम गरेका छन्। कांग्रेस उम्मेदवार बनेका व्यवसायी एवं राज्यमन्त्री उमेश श्रेष्ठले ३ हजार ७ सय ६ मत ल्याएका छन्।
चितवन क्षेत्र नम्बर ३ मा भने व्यवसायी विक्रम पाण्डे ५ हजार ७ सय २५ मतसाथ अग्र स्थानमा छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ४ हजार ४ सय २४ मतसाथ पछ्याइरहेकी छिन्।
रसुवा क्षेत्र नम्बर १ मा व्यवसायी मोहन आचार्यले अग्रता कायम राखेका छन्। कांग्रेस उम्मेदवार आचार्यले ४ हजार ५ सय ७२ मत ल्याएका छन् भने नेकपा एमालेका छोवाङतेन्जिङ तामाङले २ हजार ७ सय ५० मत ल्याएका छन्।
रामेछाप क्षेत्र नम्बर १ मा व्यवसायी पूर्णबहादुर तामाङले अग्रता कायम राखेका छन्। कांग्रेस उम्मेदवार तामाङले १ हजार ७ सय १९ मत ल्याएका छन् भने नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले १ हजार १ सय ८१ मत ल्याएका छन्।
नुवाकोट क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका व्यवसायी सुमनविक्रम पाण्डेले ९ सय ८५ मत ल्याएका छन् भने कांग्रेसका अर्जुननरसिंह केसीले २ हजार ९ सय १६ मतसाथ अग्रता कायम राखेका छन्।
लुम्बिनी प्रदेश रोल्पा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पूर्वअर्थमन्त्री वर्षमान पुनले अग्रता कायम गरेका छन्। माओवादी केन्द्रका पुनले ६ हजार ७ सय ६८ मत ल्याएका छन् भने नेकपा एमालेका पूर्ण बुढामगरले २ हजार ६ सय १ मत ल्याएका छन्।
सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बनेका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले अग्रता कायम राखेका छन्। कांग्रेस उम्मेदवार बडूले ५ हजार ३ सय ६२ मत ल्याएका छन् भने नेकपा एमालेका गणेशसिंह ठगुन्नाले ५ हजार २ सय ६ मत ल्याएका छन्।
प्रदेश १ झापा क्षेत्र नम्बर ४ बाट व्यवसायी लालप्रसाद साँवा लिम्बूले ७ हजार ३ सय ११ मत ल्याएर अग्रता कायम राखेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ६ हजार ६ सय ७० मत ल्याएका छन्।
संखुवासभा क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार बनेका व्यवसायी दीपक खड्काले ६ सय ६ मत ल्याएका छन् भने नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमले पनि ६ सय ६ मत ल्याएका छन्।
धनकुटा क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार बनेका व्यवसायी सुनिलबहादुर थापाले ६ हजार ४ सय ८३ मत ल्याएका छन् भने नेकपा एमालेका राजेन्द्रकुमार राईले ७ हजार ६ सय २ मतसाथ अग्रता कायम राखेका छन्।