काठमाडाैं । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरू ल्याएको छ। ग्राहकहरूले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रूपमा यी प्लानहरू सुरू गर्न सक्ने कम्पनीले बताएको छ। नयाँ प्रिपेड प्लानअन्तर्गत तीनवटा स्टार्टर प्याकहरू सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन्।
यी प्याकहरू मंसिर ४ गतेदेखि सञ्चालनमा आएका छन्। ग्राहकले सजिलोको करसहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन्।
स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रूपमा सजिलो प्लान प्राप्त गर्छन्। यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ।
त्यस्तै, यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत करसहित १ रुपैयाँ ६२ पैसा प्रतिमिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस करबाहेक १ रुपैयाँमा पठाउन सक्ने बताइएको छ।
वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरूका लागि सहयात्री प्लान रहेको छ। यो प्लानअन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबि डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।
यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्ने जनाइएको छ। सहयात्री प्लानअन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन्। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन्।
साथै, यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेटपछि छुट प्राप्त गर्न सक्छन्। त्यस्तैगरी, अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान।
यो प्लानअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जिबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबि डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन्।
साथै, यी सबै स्टार्टर प्याकहरूमा पहिलो रिचार्ज अफर पनि रहेको छ। यो योजनाअन्तर्गत सिम कार्ड सुरू गरेको अर्को दिनको मध्य रातिसम्म २ सय रुपैयाँ र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन्।
प्राप्त बोनस पेएज यूगोअन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ। बोनस रकम ३ दिनको लागि मान्य रहन्छ। कम्पनीका अनुसार नेपाल घुम्न आउने पर्यटकहरूका लागि पनि एनसेलले १०० रुपैयाँ, ५०० रुपैयाँ र एक हजार रुपैयाँका तीन प्लानहरू प्रदान गर्दै आएको छ।
१०० रुपैयाँको प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन्। ५०० रुपैयाँको प्लानमा पर्यटकले ५० रुपैयाँमा मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जिबी डेटा प्राप्त गर्न सक्छन्।
त्यस्तै, एक हजार रुपैयाँको प्लानअन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जिबी डेटाबाट फाइदा लिन सक्ने कम्पनीले बताएको छ।