काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-नयाँदिल्ली-काठमाडौं सेक्टरमा साप्तहिक १० उडान गर्ने अनुमति पाएकाे छ।
सन् २०२२ सेप्टेम्बर १५ मा निगमले दिल्लीका लागि १४ उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति मागेकाे थियाे।तर, निगमले मंगलबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले १० उडान गर्न मात्रै स्वीकृति दिएको जनाएको हो। दिल्लीको मात्र नभई
प्राधिकरणले निगमले माग गरेको अन्य उडान पनि कटौती गरेको छ।
निगमले दिल्लीमा १४, दोहा, मलेसिया र दुबई ७/७ र रियाध ६, मुम्बई, बैंग्लोर, हङकङ, बैंकक र नारिता ३/३ गरी सातामा ५६ उडान गर्न प्राधिकरणसँग अनुमति मागेकाे थियाे। तर प्राधिकरणले अक्टोबर २३ मा निगमको उडान सातामा ४२ मात्र स्वीकृति दिएको थियाे।
प्राधिकरणले उडान कटौती गरेसँगै निगमले आफ्नो आम्दानी घट्ने तथा रद्द उडानका यात्रुलाई रि–राउटिङ गर्दा अतिरिक्त लागतको भारसमेत बेहोर्नुपर्ने जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल विभिन्न १० गन्तव्यमा उडान गर्दै आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनअनुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृतिपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काठडमाडौं–दिल्ली–भैरहवा–काठमाडौं) साताकाे ४ उडान गर्ने गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाएको निगमले जनाएको छ।
निगमको कटौती भएका उडान हिस्टोरी स्टल/उडान अनुमतिअनुसार नै यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गन्तव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरिएको निगमले जनाएको छ।
निगमले त्रिभुवन विमानस्थलमा स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई 'ग्राउन्ड ह्यान्डलिङ' सेवा प्रदान गर्दै आएको छ। निगमसँग ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोतसाधनको उपलब्ध छ। निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको आइएसएजिओ सर्टिफिकेट मान्यता प्राप्त छ।
निगमले त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कार्य गर्दै आएको र निर्माणाधीन पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कार्यसमेत आफूलाई दिन आग्रह गरेको छ।