काठमाडौं । काठमाडौं १ बाट कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले अलिकति दुखी भए पनि समाज र देश परिवर्तनको यात्रामा झन् दृढ भएर लाग्ने प्रतिक्रिया दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु,’ मिश्रले विज्ञप्तिमा लेखेका छन् ‘गत पाँच वर्षको मेरो उतारचढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।’
उनले भावुक भएको भन्दै शुभेच्छुक मतदाता र सहयोगी साथीहरूलाई धन्यवाद पनि ज्ञापन गरेका छन् । ‘म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु,।’
मिश्रले भनेका छन् ‘राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ। म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं एक का मतदाताका लागि मैले केही गर्न सकेको छैन।’
उनले निर्वाचनमा विजयी भएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् ।
निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहले ७ हजार १ सय ४० मत ल्याएर विजयी हुँदा मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।