काठमाडौं। निर्वाचन प्रचार प्रसारकै क्रममा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा तेस्रोपटक विजयी भएका छन्।
चुनाव हार्ने निश्चित भएपछि प्रधामन्त्रीको कार्ड फालेको लगायतका अनेकौ अड्कलबाजी विपक्षीले गरिरहेको बेला महामन्त्री थापाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईलाई भारीमतका साथ पछि पार्दै तेस्रो पटक सानदार जित हात पारेका छन् ।
थापाले २१ हजार ३ सय २ मत ल्याएका छन भने एमालेका भट्टराईले १३ हजार ८ सय ५५ मत ल्याएका थिए। उनीहरूबीच ७ हजारभन्दा बढीको मतान्तर छ। ४५ हजार ५ सय ३ मत खसेको थियो।
सत्तारुढ दलबीच चुनावी तालमेल गरेर मैदानमा उत्रिएका गठबन्धनबाट हालसम्म को प्रधानमन्त्री हुने भन्ने निश्चित गरिसकेको छैन। तर, थापाले भने आफू भावि प्रधामन्त्रीका लागि पार्टीभित्र हुने संसदीय दलको नेताका लागि चुनाव लड्ने र त्यसमा जित हासिल गरे प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव पेस गर्ने प्रतिबद्धता चुनावी प्रचार-प्रसारमा गरेका थिए। त्यसका लागि आफूलाई झापाबाट निर्वाचित गराएर पठाउनसमेत आम कार्यकर्ताहरुलाई आग्रह गरेका थिए।
त्यहीअनुरूप अहिले शर्माको विजयी पनि निश्चित जस्तै देखिएको छ। तथापी त्यहाँ मतगणना भइरहेको छ। शर्माले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेललाई भारी मतले पछि पारिरहेका छन्।
शर्मासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत महामन्त्री थापालाई प्रधामन्त्रीका रूपमा अगाडि सार्न सकिने बताएका थिए। थापा संसद् भित्र पनि प्रधामन्त्रीका रूपमा अगािड बढाउनका लागि आफ्नो साथ सदैव रहने प्रतिबद्धता यस अघिनै जनाएका थिए।
पौडेल काठमाडौं ५ बाट उम्मेद्धवार बनेका छन्। हालसम्मको मतपरिणाम अनुसार पौडेलको पनि विजयी हुने सम्भावना प्रवल देखिएको छ। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ठूलो मतान्तरका साथ पछि पारिरहेका छन् ।