सप्तरी। सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ।
सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रतालाई अझै फराकिलो बनाएको छ। राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा जारी क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणामअनुसार राउतले १० हजार ७ सय मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४ हजार ९ सय ९० मत प्राप्त गरेका छन्। यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले १ हजार ९ सय ६१ मत ल्याएर तेस्रोमा छन्।
प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) मा जनमत पार्टीका सतिश सिंहले पनि अग्रतालाई बढाउँदै लगेको छ। उनले १० हजार ८ सय ३२ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले ४ हजार १ सय ७१ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।
प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीकै महेश यादवले ९ हजार ७ सय ६१ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेश कुमार यादवले ५ हजार २ सय ७८ र जसपाका लक्ष्मण यादवले ४ हजार २ सय ३१ मत प्राप्त गरेका छन्।
कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नम्बर १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नवलकिशोर साहले २ हजार ६ सय २७ मतका साथ अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका रामदेव साहका रामदेव साहले २ हजार ३ सय ८९ मतका साथ पच्छयाई रहेका छ भने जनमत पार्टीका जयकान्त राउतले १ हजार ७ सय ७५ मत का ल्याएर तेस्रोमा छन्।
क्षेत्र नम्बर ३ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिनेशकुमार यादवले ३ हजार २७ मतका साथ अग्रता लिएका छन् भने नेकपा एमालेका ताराकान्त चौधरीले १ हजार ८ सय ९७ मत ल्याएर दोस्रो स्थान रहँदा जनमत पार्टीका अनिश अन्सारीले १ हजार ४ सय ५० मत प्राप्त गरी तेस्रोमा छन्।
क्षेत्र नम्बर ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले १ हजार ४९ मतका साथ अग्रता लिएका छन् भने जसपाका बालकिशोर यादवले ५ सय ६२ मत ल्याएर उनलाई पच्छयाई रहेका छन्। जनमत पार्टीका सुकदेव साहले ५ सय मत ल्याएर तेश्रोमा छन्।