काठमाडौं। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका उमेदवारले गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएर पुनः मतदानको माग गरेपछि मतगणना कार्य अझै सुरु हुन सकेको छैन।
गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै सोमबार पत्रकार सम्मेलन गरेर एमालेकातर्फबाट प्रतिनिधिसभामा गोरखा–१ का रामशरण बस्नेत, गोरखा–२ का उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटा केन्द्रमा पुनः मतदान गर्न माग गरेका छन् ।
पुनः मतदानको माग गरिएका स्थानहरुमा गोरखा १ अन्तर्गत भिमसेन थापा गाउँपालिका–१ को वालकल्याण आधारभूत विद्यालय, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, भिमसेन थापा गाउँपालिका–८ को भिमसेन आधारभूत विद्यालय, भिमसेन थापा गाउँपालिका–१ को विन्द्रवती मावि मतदान केन्द्र रहेका छन् ।
त्यस्तै गोरखा २ अन्तर्गत बारपाक सुलकोट गाउँपालिकाका सूर्यज्योती मावि, पालुङटार नगरपालिका–७ को जीवनज्योती मावि, बारपाक सुलिकोट गाउँपालिका–४ को हिमालय मावि, अजिरकोट गाउँपालिका–३ को ज्ञानज्योती मावि, पालुङटार–१ को स्थानिका आधारभूत विद्यालय र सिरानेचा–८ को परोपकार मावि जौवारी रहेका छन् ।
मतदान केन्द्रहरुमा मृत, वेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदाताहरुको नामबाट समेत मतदान भएको, उम्मेदवारका फर्जी प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरुलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिलाई बोल्न नदिने, मतदाताहरूको इच्छा विपरीत समातेर लगेर मतदान गराइएको आरोप उनीहरुको छ ।
गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्। उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।