काठमाडौं। काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्पलाई कारबाही गर्ने भएको छ। महागरले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालित तर ‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५’ का आधारभूत मापदण्ड पूरा नगरेका पेट्रोल पम्पलाई कारबाही गर्ने भएको हो।
महानगरले संकलन गरेको तथ्यांकअनुसार देशभरि पेट्रोल पम्प संख्या १ हजार २ सय छ। तीमध्ये काठमाडौंमा १ सय २३, ललितपुर २९ र भक्तपुरमा २० पम्प छन्। काठमाडौंमा रहेका १२३ मध्ये ६७ भने काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने महानगरका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई बताउँछन्।
नियम बन्यो २०७५ मा, पम्प सञ्चालन २०३४ मै
नेपालमा २०३४ सालदेखि पेट्रोल पम्प सञ्चालनमा छन्। त्यो समयको बजारको भीड तथा सवारीचापका आधारमा सञ्चालन भएका पम्प अहिलेको भीडमा पनि चलिरहेकै छन्। तर, नेपाल अयाल निगमबाट भने २०७५ सालमा पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ जारी भएको छ। जसलाई पेट्रोलसम्बन्धी कानुन मानिन्छ।
महानगरका अनुसार निगमको २०७५ सालको नियमका आभारभूत कुरा पालना नगरेका कारण पेट्रोल पम्पलाई कारबाही गर्न लागिएको हो। यसअघि नै पम्प सञ्चालकले निगमको नियम पालना गर्ने प्रतिबद्धता जनाए पनि केही पम्पबाहेक अधिकांशले बेवास्ता गर्दै आएका छन्।
‘पेट्रोलजस्तो संवेदनशील कुरामा नियम पालना गर्नुपर्छ भनेर हामीले सम्झाउन खोजेको हो। सम्भव भएसम्म सबै नियम पालना गर्नुपर्छ,’ नगर प्रहरी निरीक्षक भट्टराईले क्यापिटल नेपालसँग भने, ‘तर, सबै नसके अधिकांश नियम मान्नुपर्छ। महानगरले सिधै भत्काउने होइन, विभिन्न चरणमा कारबाही चाहिँ गर्छ।’
पेट्रोलसम्बन्धी कानुनी व्यवस्था के छ?
२०७५ मा जारी भएको आयल निगम नियमावलीको नियम २२ को खण्ड (क) को उपखण्ड (१४) अनुसार पेट्रोलियम पदार्थ बिक्री क्षेत्र, बिक्री स्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारका आधारमा विक्रेतालाई पाँच भागमा वर्गीकरण गरिएको छ।
(क) नमुना पम्प विक्रेता (ख) साधारण विक्रेता (ग) पेट्रोल विक्रेता (घ) प्याक्ड विक्रेता (ङ) मट्टितेल विक्रेता। नेपालमा सञ्चालित अधिकांश पेट्रोल पम्प बिक्रेता साधारण विक्रेता हुन्।
जसले पेट्रोल पम्प सञ्चालन गर्दा सुरक्षा घेराबार बनाएको, पम्पकै जग्गामा सवारी राखेर डिजेल÷पेट्रोल भर्नुपर्ने, पम्पमा कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश दिन नहुने उल्लेख छ।
त्यस्तै सेवाग्राहीको आवतजावत हुने स्थानलगायत स्टोरेज ट्यांक, फिलिङ प्वाइन्ट फायर सेफ्टी टुल्स रहेको स्थानमा २० सेन्टिमिटर अग्लो कंक्रिटको रोड सेफ्टी कर्ब स्टोनले बारेको हुनुपर्ने छ।
बिजुलीको तार नजिकै पनि पम्प राख्न नहुने नियममा उल्लेख छ। पम्पमा रहेको शौचालयलाई सर्वसाधारणका लागि खुला हुनुपर्ने, अग्निजन्य सुरक्षा मापदण्ड पूरा गरेको, चौबिसै घन्टा खुला, तेलको मौज्दातसम्बन्धी निकायलाई जानकारी गराउनुपर्ने नियम छ।
काठमाडौं उपत्यकाका मात्र नभई मुलुकभरि नै सञ्चालनमा रहेका पेट्रोल पम्पले मापदण्ड पूरा गरेको देखिँदैन। तर, आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी भने पेट्रोल पम्पले मापदण्ड पूरा नगरेको भन्न चाहँदैनन्।
‘हामीले आपूर्ति गरिरहेका छौं भने मापदण्ड नमिलेको भन्न मिल्दैन। तर, नयाँ बनाइएको मापदण्डसँग नमिलेका पेट्रोल पम्प भन्न मिल्छ,’ थानीले क्यापिटल नेपालसँग भने। यद्यपि, उनले कतिवटा पम्प पूर्णरूपमा मापदण्डविपरीत छन् र कतिवटाले केही नियम पालना गरेका छन् भन्ने खुलाउन चाहेनन्।
किन कडाइ गर्दैछ महानगरले पेट्रोल पम्प?
महानगरभित्रको अग्नि सुरक्षा अर्थात अग्नि नियन्त्रणको जिम्मेवारी महानगरपालिकाको हो। सोही कारण आफ्नो क्षेत्राधिकारभित्रका पम्पलाई नियममा ल्याउन खोजेको महानगरले जनाएको छ। पेट्रोलियम पदार्थ अतिप्रज्वलनशील भएका कारण सुरक्षा मापदण्ड पालना गर्नुपर्ने नगर प्रहरी निरीक्षक भट्टराई बताउँछन्।
महानगरका एक अधिकारीका अनुसार अग्नि सुरक्षा र व्यापार–व्यवसायको सुरक्षा महानगरले दिन्छ। दमकल प्रयोग पनि महानगरले नै गर्छ। त्यसैले अहिले बाटोमै राखेर पेट्रोल भर्ने, न्यूनतम मापदण्ड पूरा नभएका, पम्प वरिपरि पेट्रोल चुहिएर जोखिम देखिएकालाई सम्झाउने वा बन्द गर्न लगाउने भन्ने विषयमा छलफल भइरहेको छ। तर, डोजर नै प्रयोग गरेर नभत्काउने महानगरले जनाएको छ।
उनका अनुसार ६७ वटै पम्प अतिजोखिमयुक्त भने छैनन्। यद्यपि, केही सुझाव दिनुपर्ने अवस्थामा छन्। पहिलो चरणमा महानगरभित्रका विभिन्न स्थानका १०/१२ पम्पलाई केही समय बन्द गर्ने तथा चेतावनी दिने सुझाव महानगरपालिकाको कार्यालयमा पुगेको छ।
उक्त विषयमा छलफल भएपछि महानगरले ‘फिल्ड’ मा काम सुरु गर्ने छ। दोस्रो चरण वा केही समय पेट्रोल पम्प बन्द गरेपछिको कारबाहीका विषयमा हाल कुनै टुंगो लागेको छैन।
यी हुन् अति संवेदनशील पेट्रोल पम्प
नयाँबानेश्वरको थ्रि ब्रदर्स आयल स्टोर, चुच्चेपाटी फ्युल सेन्टर, बाबा आयल स्टोर कलंकी, सीता केयर प्रालि, श्यामा आयल स्टोर कलंकी, भ्याली बाबा सप्लायर्स गैरीगाउँ, कोतधुक आयल स्टोर बालाजु, चक्रपथ फ्यूल सेन्टर, मायाराम भोलाराम त्रिपुरेश्वर, साझा आयल स्टोर, हलचोक फ्युल सेन्टरलगायत मापदण्डविपरीत रहेको महानगरले जनाएको छ।
तीमध्ये बालाजुको कोतधुक आयल स्टोर घरभित्रै पेट्रोल पम्प राखेर सञ्चालन भइरहेको छ भने हलचोक फ्युल सेन्टर सशस्त्र प्रहरी बल मुख्यालय अगाडि छ।