काठमाडाैं। गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो। तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए। तरकारीमा मोलमोलाई पनि उस्तै थियो। अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो। सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए।
टाढाबाट ल्याउनुपर्ने र महँगोमा किन्नुपर्ने भएकाले महँगाेमा बेच्नुपर्ने बाध्यता रहेकाे व्यापारी बताउँछन्। '१० रूपैयाँ नाफा नखाएर कसरी व्यापार गर्नु,' व्यापारी विनिता गिरीले भनिन्, 'घर टाढा छ, व्यापारका लागि यहाँ आएका हाैं, हामीले उत्पादन गर्ने पनि हाेइन। तरकारी बेचेर किनेको मूल्यमा ५/१० रूपैयाँ नाफा हुने त हाे।'
उनका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट व्यापारीले तरकारी किनेर ल्याउँछन्। त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उनले बताइन्।
कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए। उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्य सुनेर अचम्मित भए। 'सिजनअनुसार सबै ठाउँमा १०/२० पर्ने बन्दाको मूल्य कोहलपुरमा १ सय ५० रैछ,' उनले भने, 'कोहलपुर गएको मौकामा कृषि बजारस्थल गएकाे थिए एक/दुइटा स्टलमा साेध्दा बन्दाकाे मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँ भएकाे पाए।'
बन्दाकाे भाउ सुनेर ट्ववा गरेकाे उनले सुनाए। बन्दाकाे यस्ताे मूल्य अहिलेसम्म नसुनेकाे प्रमुख विष्टले बताए। 'अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ,' उनले भने, 'बझाङको बुखखोरीमा बन्दाको मूल्य प्रतिकेजी १२ रूपैयाँ, बित्थडचिरको आनन्दपुरमा १५, मुस्याखान बैतडीमा १०, खोड्पे बैतडीमा १४, अनारखोली डडेल्धुरामा १५, धनगढीको दुवै हाटबजारमा ७०, सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो !' कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टकाे भनाइ छ।
व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले १ सय ३० देखि १ सय ४० मा खरिद गरेको बताउँछन्। सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उनको भनाइ छ। कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै भए पनि सिजनमा भाउ बढेकाे बताउँदै जिसीले कृषकले नै बढी लिएको र ढुवानी गर्दा महँगो परेको भनेर बेच्ने गरेकाे बताए। १०/१२ त नाफा खाएर बच्ने गरेकाे उनले बताए।
अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य सयको आसपास छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन। 'अहिले बन्दाको थोक मूल्य ८०/९० छ,'उनले भने 'अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको छैन।'
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ। कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ। रासस