बर्दघाट (नवलपरासी)। मुलुक पूरै आमनिर्वाचनको सरगर्मीले तातेको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ को चुनावी अंकगणितमा हृदयेश त्रिपाठी र उद्यमी विनोद चौधरीको अन्तिम हिसाबकिताब चलिरहेको छ। सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चौधरी र जनता प्रगतिशिल पार्टी अध्यक्ष त्रिपाठी नेकपा (एमाले) को सहयोगमा मैदान उत्रिएका छन्।
चुनावी रौनकले छोपिरहँदा मुलुकका एकमात्र डलर अर्बपति व्यवसायी चौधरी र पुराना राजनीतिक खेलाडी हृदयेश त्रिपाठीको प्रतिस्पर्धा बर्दघाटमा रोचक छ। यस क्षेत्रमा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका तथा प्रतापुर गाउँपालिकाका तीनवटा वडा पर्छन्।
व्यापक घरदैलो र चुनाव प्रचारप्रसार सकेर अन्तिम तयारी गरिरहेका त्रिपाठीसँग मतदाता र चौधरीसँग स्थानीय नेता र अगुवा सन्तुष्ट देखिएका छ्रैनन्।
मतदातामाझ चौधरीको धनाढ्य छविको छाप बसेको छ। नेताभन्दा पनि आफ्नो उद्योगी-व्यवसायीको परिचय उनको नयाँ मतदाता र उनलाई विगतमा नचिन्नेका लागि स्थापित भएको छ।
एउटा उदाहरण हेरौं।
बर्दघाट जिमिरेभारकी भानुमती चौधरी योपटकको मत विनोद चौधरीलाई दिने बताउँछिन्। ‘उहाँ धनी मान्छे हो, माथी गएर डकैती गर्दैन, हाम्रो ठाउँमा विकास गर्छ भन्ने विश्वास मलाई छ,’ उनी भन्छिन्। यहाँ आउनुअघि आफूले विनोद चौधरीको नाम पहिला नसुनेको र नचिनेको बताइन्।
एमाले प्रभाव रहेको गंगाबस्ती-१४ कि अस्मिता अर्याल नयाँ घर बनाउने चटारोमा थिइन्। राजनीतिमा सामान्य चासो रहे पनि उनले यसअघि कसलाई भोट हालेको खुलाउन चाहिनन्, तर योपटक चौधरीलाई भोट दिने बताइन्।
हामीले सोध्यौं, किन?
‘उहाँको भाषण सुनिरहेको छु, घरदैलोको भिडियो हेरेको छु, उहाँले अधिकांश समय विकास, पूर्वाधार, योजनाका बारेमा कुरा गर्नुभएको छ, हामीलाई यस्तै चाहिएको हो। तर, उहाँले चुनाव जितेपछि यहाँ आउने समय निकाल्न नसक्ने हो कि भन्ने शंका बाँकी छ,’ अर्यालले एक सासमा भनिन्।
अर्यालमात्र होइन, यस क्षेत्रका १ सय ८ जनालाई सोध्दा चौधरीलाई भोट दिने र नदिने बताउनेमध्ये ९० प्रतिशतको आंशका उनी जितेर गएपछि आउँदैनन् कि भन्ने देखियो।
१ सय ८ मध्ये ४९ जनाले चौधरीलाई भोट दिन्छु भने। ३५ जनाले त्रिपाठीलाई भोट दिने बताए। सातजनाले ‘घन्टी’ चुनाव चिह्न (स्वतन्त्र) लाई भोट दिने बताए। ती सातमध्ये पाँचजनाले घन्टीको उम्मेदवारको नाम चाहिँ भन्न सकेनन्। १७ जनाले भोट हाले पनि अहिले नभन्ने बताए।
३५ मध्येका एक प्रतापपुरका भोला थारुले त्रिपाठीलाई भोट दिने बताए। ‘पहिला पनि आफूले त्रिपाठीलाई भोट दिएको हो, अहिले पनि मेरो भोट त्रिपाठीलाई जान्छ,’ थारु भन्छन्।
त्यस्तै सरावलका मोहन थारुले गाउँ वरिपरि स्वास्थ्य क्षेत्रमा त्रिपाठीले काम गरेको आफूले देखेको र चाहेका बेला भेट्न सक्ने भन्दै विगतमा जस्तै योपटक पनि त्रिपाठीलाई नै भोट दिने बताए।
विगतमा भोट दिएका अधिकांशले योपटक भने चौधरीलाई भोट दिने बताए। चौधरी पहिलोपटक यो क्षेत्रबाट निर्वाचन लड्दैछन्। चौधरीलाई भोट दिन्छु भन्ने ४९ जनामध्ये ३२ जनाले यसअघि २०७४ को चुनावमा त्रिपाठीलाई भोट हालेको बताए।
‘त्रिपाठीले विगतमा वाचा गरेको कुनै काम पूरा गर्नुभएन। बाढी आउँदा यहाँको गाउँमा डुबान हुन्छ, सुस्तामा समस्या हुन्छ, त्यसैले योपटक भोट चौधरीलाई जान्छ,’ विनोद चौधरी नै नाम भएका बर्दघाट-१२ का मतदाता भन्छन्।
उद्यमी चौधरीले छिमेकी नवलपुरमा उद्योग, पर्यटनमा लगानी गरेको यहाँका मतदाता जानकार छन्। त्यसको फाइदा चौधरीलाई देखिन्छ। मतदाताले यहाँ पनि चौधरीले उद्योग लगाउने, रोजगार बढाउने काम गर्छन् भन्ने आश राखेका छन्। यही आशमा चौधरीले केराजन्य उत्पादनका लागि उद्योग शिलान्यास गरिसकेका छन्।
त्रिपाठीको सचिवालयमा मतदाताको सहज पहुँच छ। उनी मतदाताको फोन उठाउने, कलब्याक गर्नेसम्म गर्छन्। सचिवालयका सदस्यहरू सिधा मतदातासँग जोडिने गरी काम गरिरहेका छन्। स्थानीयहरू विगतका कामले रुष्ट बनेको त्रिपाठीले महसुस गरेका छन्। तर, सचिवालयका सदस्यहरू र त्रिपाठी स्वयंले आफ्नो अजेन्डाभन्दा चौधरीको आलोचना बढी गर्ने गरेका छन्।
चौधरीको सचिवालय व्यवस्थित छ तर ‘भिआइपी’ आगमनले मतदाताको सिधा पहुँच चौधरीको सचिवालयमा छैन। सचिवालय सदस्यहरूले चौधरीसँगको सिधा सम्पर्कका लागि मतदातालाई अवरोध गर्ने गरेका छन्। चौधरीलाई जानकारी नै नदिई कतिपयले बाहिरबाट नै फर्काउने गरेकाले त्यसको असर भोटमा पर्नसक्छ। निर्वाचन भनेको मत हो भन्ने सचिवालयका सदस्यहरूले बिर्सिएको पाइन्छ।
के भन्छन् हृयदेश त्रिपाठी?
धेरै पटक चुनाव लडेकाले योपटक चुनाव नलड्ने मनस्थिति बनाएको थिएँ। तर, यही क्षेत्रका मान्छे गठबन्धनको उम्मेदवार भएको भए मेरो निर्णय अर्कै हुन्थ्यो, तर राजनीतिक योगदान नभएको र बाहिरको मान्छे आएर निर्वाचन लड्ने भएपछि स्थानीयले नै मलाई फेरि आउनुपर्योे भनेकाले निर्वाचन लड्दैछु।
यो निर्वाचनमा स्थानीयको अपार साथ पाएकाले मैले नै जित्छु। यहाँको पूरै गाउँ, स्थानीय र वस्तुस्थितिबारे मलाई थाहा छ, समस्या पनि मलाई नै थाहा छ, समाधान पनि मै गर्न सक्छु। चौधरीजीले निर्वाचन जित्न आचारसंहिताविपरीतका काम दैनिकजसो गर्नुभएको छ। उजुरी परेको छ, छानबिन भएको छैन।
के भन्छन् विनोद चौधरी?
यस क्षेत्रको उम्मेदवारी दिएपछि म एक दिन पनि यो क्षेत्रबाट बाहिर गएको छैन। यहाँका प्रत्येक वडा र घरसम्म पुगेको छु। धेरैभन्दा धेरै समय स्थानीयसँग बिताएँ। समस्या सुन्ने र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने योजना बनाएको छु। विगतमा गर्न सक्ने काम पनि यहाँ भएको छैन भनेर स्थानीयले नै मसँग गुनासो गरेका छन्।
म यहाँ आएर चुनाव जितेर काठमाडौं बस्ने होइन, त्यहाँ पुगेर यहाँको विकास गर्ने हो। उद्योग, पूर्वाधारमा लगानी गर्नका लागि काम सुरु भइसकेको छ। कार्यालय बनाएर योजना बनाउन सुरु गरिसकेँ। मलाई राजनीतिक बेइमानी गर्नु छैन। यहाँका जनतालाई ठग्नु छैन, यहाँका जनता २५ वर्षदेखि ठगिँदै आएका छन्। मेरा लागि यो विल्कुल नयाँ मैदान हो, यहाँका मतदाता निर्दाेष छन्, त्यो निर्दाेषपनको कसैले झुक्काएर फाइदा लिनु हुन्नँ। म यहाँ काम गर्छु, त्यो विश्वास यहाँको जनतामा छ।
विक्रम खनाल असन्तुष्ट, सन्तु कलवार बने सारथी
विनोद चौधरीले टिकट पाएपछि नेपाली कांग्रेसका स्थानीय नेता विक्रम खनाल र सन्तु कलवार असन्तुष्ट थिए। संघको टिकटको दाबेदार रहेका कलवार प्रदेशमा चित्त बुझाउँदै अहिले चौधरीसँग साथमै छन्। आफ्नो मत माग्दै चौधरीका लागि जनमत जुटाइरहेका छन्।
‘सुरुमा म असन्तुष्ट नै थिएँ, तर अब त्यसलाई मनमा लिने भन्ने कुरा हुँदैन। हामी हाम्रो जित निकाल्ने गरी काम गरिरहेका छौं,’ कलवार भन्छन्, ‘चौधरीजस्तो अन्तर्राष्ट्रिय छवि भएका व्यक्तिलाई जिताउन सकियो भने यस क्षेत्रमात्र होइन, मुलुककै समृद्धिका लागि टेवा पुग्छ।’
लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री विक्रम खनालले चौधरीलाई बाहिर सहयोग गरेजस्तै गरेर भित्रभित्र चौधरीलाई भोट नहाल्न सिकाइरहेका छन्। उनले आफूनिकट भेलामा चौधरीका विषयमा कुरा गर्दै भोट घन्टी वा अरू ठाउँमा हाल्न भनेको अडियो स्थानीयसँग ‘भाइरल’ जस्तै भएको छ। चौधरीको सम्पत्तिको स्रोतको कुरा गर्दै उनले भ्रम फैलाइरहेका छन्।