चिनियाँ राष्ट्रपति सी चिनफिङ अपरान्ह २ भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि सी नेपाल आउन लागेका हुन् ।
चिनियाँ राष्ट्रपति सी विशेष विमानबाट आज अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सी शुक्रबार विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहित ९० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत आएका थिए ।
राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ।
उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन् ।
राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो ।
२३ वर्षको अन्तरालमा चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउने भएका हुन् । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।
यस्तो छ, सीको शनिबारको भ्रमण तालिका
शनिबार
अपरान्ह ४ः३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना
आइतबार
बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर ।
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता