काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले चीन र बुद्ध एयरले भारतका विभिन्न गन्तव्यमा उडान गर्ने घोषणा गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ (सन् २०२३ जनवरी १) बाट व्यवसायिक रूपमा सञ्चालनमा आउने भएपछि नेपाल–चीन संयुक्त लगानीको हिमालय र निजी वायुसेवा बुद्धले पहिलो उडान चीन र भारतमा गर्ने भएका हुन्।
व्यावसायिक उडानका लागि योग्य भएसँगै बुद्धले भारतका तीन गन्तव्यमा उडान गर्ने जनाइसकेको छ। यस्तै हिमालयले चीनका विभिन्न गन्तव्यमा नियमित उडान गर्ने तयारी गरेको छ।
हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडानका लागि तयारी गरिरहेको जानकारी दिए।
विमानस्थलमा यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सकिएसँगै परीक्षण उडान गर्ने र त्यो सफल भएपछि व्यावसायिक उडान गर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ।
‘हामी पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका गर्न इच्छुक छौं,’ उपाध्यक्ष श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘परीक्षण उडानका लागि तयार हुनु नै हामी त्यहाँबाट उडाउँछौं भनेका हौ।'
पोखराबाट हुने अधिकांश उडान पर्यटकका लागि चार्टर उडान हुने र रोजगारीका लागि कमैमात्र उडान हुने हिमालयको भनाइ छ।
‘हिमालयले कहिले र कुन गन्तव्यमा उडान गर्छ भन्ने निर्णय गरिसकेका छैनौं,’ श्रेष्ठले भने, ‘जे होस् हामी पोखराबाट छिटोभन्दा छिटो उडान गर्ने छौं।’
अहिले चीनका अधिकांश गन्तव्यमा उडानमा समेत रोक लगाएको छ। चीनले उडान खुला गरेसँगै पोखराबाट उडान गर्ने तयारीमा आफूहरु लाग्ने उनले बताए।
यता बुद्धले पनि पोखराबाट भारतको बनारसका लागि सातामा तीन दिन, नयाँदिल्ली दैनिक दुई र देहरादुनका लागि सातामा तीन दिन उडान गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पहिलो चरणमा हिमालय र बुद्धले व्यावसायिक उडान गर्ने तयारी गरिरहेको जानकारी दिए।
अन्य वायुसेवाले पनि पोखराबाट उडान गर्न इच्छा देखाइरहेको उनको भनाइ छ। दुई छिमेकी चीन र भारतबाट पोखरा आउने पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानले थप सहज हुने प्राधिकरणको दाबी छ।
करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झन्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ। विमानस्थलमा हाल २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ तथा ३४ सेन्टिमिटर मोटाइको धावनमार्ग छ। एटिसी टावर, सातवटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ।
सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य लिए पनि कोभिड–१९ महामारीलगायत कारण निर्माण सम्पन्न हुन केही समय ढिलाइ भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले विमानस्थल निर्माण गरेको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार ‘फोरडी मोडल’ मा पर्ने पोखरा विमानस्थलमा ‘बोइङ७५७’ र ‘एयरबस३२०’ वा सोसरहका जहाजको उडान–अवतरण हुने जनाइएको छ।
विमानस्थलले वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्ने छ। विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर र चार ट्विनअटर गरी ११ थान जहाज पार्किङ गर्न सकिन्छ।