काठमाडौं। मर्ज वा एक्विजिसन (प्राप्ति) गर्न रोक्का सेयर कारोबार फुकुवा गर्न कम्पनीहरू नै अनिच्छुक देखिएका छन्। कारोबार फुकुवा गर्न कम्पनीहरू नै अनिच्छुक देखिँदा सेयर कारोबार सुरु हुन सकेको छैन।
नेपाल धितोपत्र बोर्डले गत बिहीबारदेखि लागू हुने गरी संगठित संस्था एकापसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ जारी गर्याे।
निर्देशिकामा मर्ज तथा प्राप्तिमा जाने कम्पनीको १५ दिन बढी कारोबार रोक्का गर्न नपाइने व्यवस्था छ।
जारी निर्देशिकाअनुसार अबदेखि मर्ज तथा प्राप्तिमा सहभागी हुने कम्पनीका आधारभूत सेयरबाहेक अन्य सेयर कारोबार एकीकृत कारोबार हुने समयमा मात्रै रोक्का हुनेछ। आधारभूत सेयरधनीबाहेक सेयर एकीकृत कारोबार हुँदा अधिकतम १५ दिनमात्रै रोक्का हुने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए।
‘सम्बन्धित कम्पनीले आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको कारोबार फुकुवा गर्न आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्ने छ,’ हमालले क्यापिटल नेपालसँग भने, ‘निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्ने छ।’
आधारभूत सेयरधनीका हकमा भने कम्पनीको प्रारम्भिक सम्झौता भएदेखि एकीकृत कारोबार हुँदासम्म रोक्का हुने हमालले बताए।
‘आधारभूत सेयरधनीको प्रारम्भिक सम्झौता भएदेखि एकीकृत कारोबार हुँदासम्म रोक्का हुन्छ भने, त्यसबाहेक सेयरधनीको भने हुँदैन,’ उनले भने, ‘आधारभूतबाहेक सेयरधनीको एकीकृत कारोबार हुँदा अधिकतम १५ दिन भनेका छौं, त्यो संस्थाले सेयर मिलान प्रक्रिया जति चाँडो सम्पन्न गर्छ त्यसैमा भरपर्छ। यदि सात दिन अगावै सकिए पनि बोर्डले सोही समयावधीका लागिमात्रै सेयर रोक्का गर्छ।’
यसअघि मर्जका लागि रोक्का कम्पनीले आधारभूत सेयरधनीको विवरणसहित निवेदन दिएर अन्य सेयर फुकुवा गर्नुपर्ने हमाले बताए। मर्ज वा प्राप्ति (एक्विजिसन) का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल ३४ कम्पनीको कारोबार रोक्का रहेको छ।
नेप्सेले आठ वाणिज्य बैंक, आठ निर्जीवन बिमा, १० लघुवित्त र आठ जीवन बिमा कम्पनीका कारोबार रोक्का गरेको छ। बोर्डले निर्देशिका जारी गरेको साता बित्न लाग्दासमेत कुनै कम्पनीले सेयर कारोबार फुकुवा गर्ने तयारी थालेका छैनन्।
मर्जर वा प्राप्ति प्रक्रियामा रहेका ३४ कम्पनीको कारोबार रोक्का रहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए। ‘नेप्सेमा बैंक तथा वित्तीय संस्था, बिमा र हाइड्रोपावर गरी ३४ कम्पनीको कारोबार रोक्का छ,’ उनले भने, ‘यसअघि कारोबार रोक्का रहेका कम्पनीले आधारभूत सेयरधनीको विवरणसहित नेप्सेमा निवेदन दिनुपर्छ।’
कारोबार रोक्का गरिएका कम्पनीले फुकुवाका लागि निवेदन दिए कारोबार फुकुवा गरिने पराजुलीले बताए। ‘कम्पनीहरूले आधारभूत सेयरधनीको विवरणसहित निवेदन दिनुपर्छ,’ उनले भने, ‘सिडिएससीले आधारभूत सेयरधनीबाहेकको सेयर खुला गर्छ।’ तर, हालसम्म कुनै पनि कम्पनीले कारोबार फुकुवा गर्न आवेदन नदिएको पराजुलीको भनाइ छ।
बोर्डले कम्पनीहरूलाई कारोबार खोल्न ‘टाइमलाइन’ भने तोकेको छैन। रोक्का कारोबार फुकुवा गर्न कम्पनीले निवेदन नदिए बोर्डले कारबाही थाल्ने धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए।
‘बोर्डले हालसम्म कम्पनीहरूलाई कारोबार फुकुवाका लागि टाइमलाइन तोकेको छैन,’ उनले भने, ‘कम्पनीहरूले दुई साताभित्र कारोबार फुकुवा नगरे कारबाही प्रक्रिया थाल्छौं।’ बिमा समिति र राष्ट्र बैंकका कारण कारोबार रोक्का छ भने त्यहाँबाट एउटा सहमति लिनुपर्ने उनले बताए।