काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने औपचारिक भ्रमणका लागि आज (शनिबार) अपराहन्न ४ बजे काठमाडौं आउँदै छन्।
एयर चाइनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। भारत हुँदै सी शनिबौैर चेन्नईबाट काठमाडौं आउने भएका हुन । सीलाई नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने छिन्। उनको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ
२३ वर्षपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन लागेको हो । नेपालले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने भएको छ
यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए। त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन्। सन् २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिए पनि स्थगित भएको थियो। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालकी समकक्षी, प्रमुख प्रतिपक्ष दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुसँग समेत भेट गर्नेछन्।
आइतबार १ बजे स्वदेश फर्कने उनले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
नेपाल अवतरणपछि चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता हुनेछ। दुई समकक्षी बीचको भेट साँझ साढे ६ बजे हुनेछ। त्यसपछि सी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ। देउवा र सीको भेटपछि राष्ट्रपति भण्डारीले सीको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्नेछिन्।
आइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सीबीच भेटवार्ता हुनेछ। उनीहरुबीच आइतबार बिहान १०ः३० मा भेट तय भएको छ।
त्यसलगत्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ। सोपश्चात् उनी बेइजिङका लागि प्रस्थान गर्ने छन्।