काठमाडौं। प्रतिस्पर्धी बजारलाई मात खुवाउँदै सिमेन्ट व्यवसायीले भाउ बढाउन प्रत्येक उद्योग वर्षको दुई महिना बन्द गर्ने प्रस्ताव अघि सारेका छन्। सिमेन्ट उद्योग संख्या बढ्दै गएको र तीव्र प्रतिस्पर्धाका कारण मूल्यमा चाप परेपछि उद्योग बन्द गर्ने प्रस्ताव अघि बढाएका हुन्।
कम्तिमा दुई महिना उद्योग बन्द हुँदा सिमेन्ट उत्पादन कम हुने, त्यसले बजारमा माग बढाउने र मागका नाममा भाउ बढाउन सहज हुने अनुमान गरी उद्योगीहरू छलफलमा जुटेका छन्।
पछिल्लो समय निर्माणजन्य गतिविधि सुस्ताउँदै गएपछि सिमेन्ट बजार बिस्तारै ओरालो लागेको व्यवसायीका भनाइ छ।
‘एक्कासि मूल्य बढाउँदा विरोध आउने भएकाले पहिला उत्पादन बन्द गराउने र बजारमा अभाव भएपछि बढाउने गरी व्यवसायीबीच छलफल अघि बढेको हो,’ एक व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा क्यापिटल नेपालसँग भने, ‘व्यवसायीबीच लिखित सहमति नभए पनि केही उद्योगमा भने उत्पादन कम गरिएको छ। केही भने बन्द नै गरिएका छन्। केहीले मर्मतका नाममा अहिले उद्योग बन्द गरेका छन्।’
नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष तारा पोखरेलले बजारमा माग घटेपछि उद्योग बन्दको प्रस्ताव अघि सारिएको बताए। ‘मागभन्दा उत्पादन बढी भएपछि बाध्य भएर यो प्रस्ताव अघि सारिएको हो,’ उपाध्यक्ष पोखरेलले भने, ‘घाटा सहनुभन्दा बन्द गर्नु नै उत्तम उपाय हो।’
बैंकको ब्याज वृद्धि, बैंकमा पैसा अभावलगायत कारण निजी घर निर्माण नहुँदासमेत सिमेन्ट माग घटेको उनको भनाइ छ। अर्कातर्फ, सिमेन्टका लागि आवश्यक कच्चापदार्थ, इन्धन मूल्य, कोइला मूल्यमा समेत वृद्धि भएका कारण उद्योगीहरू समस्यामा परेपछि अधिकांश उद्योगले उत्पादन कटौती गरेर ३० प्रतिशतमा झारेको उपाध्यक्ष पोखरेलले जानकारी दिए।
‘यो समस्या सिमेन्टमा मात्र होइन, अधिकांश उद्योगमा देखिएको छ,’ पोखरेलले भने, ‘राजनीतिक अस्थिरताको असर देखिएको छ।’ समग्र सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता ४० हजार टन क्लिङ्कर र ५० हजार टन सिमेन्टबराबर छ।
नेपाल केही वर्षदेखि सिमेन्टमा आत्मनिर्भर छ। केही उद्योगले भारत निर्यातसमेत सुरु गरिसकेका छन्। तर, भारत निर्यातका लागि विभिन्न मापदण्ड पूरा गर्न लामो समय लाग्ने भएकाले पनि तत्काल उत्पादन घटाउन र पछि बढाउन उद्योगीहरू लागेका छन्।
बजारमा एकपछि अर्को सिमेन्ट उद्योग थपिँदै जाने क्रम बढिरहेका बेला उद्योगीबीच नै दुई÷दुई महिना उद्योग बन्द गराउने सहमति जुट्न लागेको हो।
पछिल्लो समय निर्माण व्यवसायीले पनि सरकारसँग मूल्यृिद्धिको विरोध गर्दै आन्दोलन गर्दै आएका छन्। व्यवसायीले निर्माण ‘होलिडे’ मनाउँदै आएका छन्।
आर्थिक मन्दी छाएको भन्दै निर्माण गतिविधिसमेत प्रभावित भएसँगै सिमेन्ट माग घटेको व्यवसायीको भनाइ छ। सिमेन्ट उत्पादक संघका अनुसार गत आर्थिक वर्ष जेठसम्म नेपालमा ६५ सिमेन्ट उद्योग सञ्चालनमा छन। ती उद्योगमा ३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। यस्तै क्लिङकर उत्पादन गर्ने २० वटा उद्योग सञ्चालनमा छन ।