काठमाडौं। चुनावको मुखैमा आएर व्यापारीले खानेतेलको भाउ बढाएका छन्। खानेतेल लिटरमा ३५ रूपैयाँसम्म बढाएर व्यापारीले उपभोक्ताको ढाड सेकेका छन्।
तिहारसम्म स्थिर रहेको खानेतेलको भाउ पछिल्लो सातादेखि बढ्न थालेको हो। अहिले बजारमा तोरीतेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९०, भटमास २ सय ८० र सनफ्लावरको २ सय ९० रूपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको भाउ ४० प्रतिशतसम्म बढेपछि त्यसको असर नेपालमा परेको भन्दै व्यापारीले बाध्य भएर खानेतेलको भाउ बढाउनुपरेको दाबी गरेका छन्। भारतमा गत एक महिनामा खानेतेलको कच्चापदार्थको भाउ ४० प्रतिशतले वृद्धि भएको थियो।
भारत कोलकातामा प्रतिटन (१ हजार किलो) १ हजार १ सय अमेरिकी डलरहाराहारीमा रहेको भटमासको कच्चातेलको भाउ बढेर १ हजार ५ सय डलरभन्दा माथि पुगेपछि त्यसको असर यहाँ देखिएको नेपाल तेल उत्पादक संघका अध्यक्ष सन्दीप गाडियाले बताए।
उनका अनुसार तोरीतेल प्रतिटन ८ सय ७० डलरसम्म पुगेको छ। सनफ्लावर तेलको भाउ १ हजार ५ सय ९० डलरसम्म पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य एकैपटक ४० प्रतिशतसम्म वृद्धि भएका कारण तेलको मूल्य उद्योगअनुसार फरक छ।
केही उद्योगसँग पुरानो कच्चापदार्थ भएको तथा केहीले नयाँ मूल्य आधार मानेर भाउ निर्धारण गरेका कारण उद्योगअनुसार भाउ फरक भएको उनको भनाइ छ।
ठूला व्यापारीले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढेका कारण नेपालमा खानेतेलको मूल्यवृद्धि भएको बताउँदै आएका छन्। कच्चापदार्थका कारण नै मूल्यवृद्धि भएको भन्दै अध्यक्ष गाडियाले यसमा आफूहरूको हात नरहेको दाबी गरे।
नेतालाई चन्दा दिँदा मूल्यवृद्धि: खुद्रा व्यापार संघ
ठूला व्यापारीले अन्तर्राष्ट्रिय बजारमा भएको कच्चापदार्थको मूल्यवृद्धिलाई देखाए पनि खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघले आन्तरिक कारण रहेको दाबी गरेको छ।
संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार एक सातादेखि सबै किसिमका खानेतेलको मूल्य लिटरमा ३० देखि ३५ रुपैयाँसम्म वृद्धि भएको छ। ठूला व्यापारीले भने कच्चापदार्थको भाउ बढेर आएका कारण मूल्यवृद्धि भएको जवाफ दिने गरेको उनले बताए।
‘निर्वाचन नजिकिएसँगै बजारमा खानेतेलको मूल्य व्यापक वृद्धि भएको पाइएको छ। गत सातादेखि नै खानेतेलको मूल्यवृद्धि भएको हो,’ अध्यक्ष बज्राचार्यले क्यापिटल नेपालसँग भने, ‘व्यापारीसँग हामीले कुरा गर्दा कच्चापदार्थको मूल्यवृद्धि भएर आएको प्रतिक्रिया दिन्छन्। तर, निर्वाचनका बेला राजनीतिक दलले व्यापारीसँग चन्दा लिने गरेको र सोही कारण खानेतेलको मूल्यवृद्धि भएको हुनसक्ने हाम्रो अनुमान छ।’
बज्राचार्यका अनुसार केही प्रकारका तेलमा १५ देखि २० रुपैयाँ मूल्यवृद्धि भएको छ। केहीमा ३० देखि ३५ रुपैयाँसम्म भाउ बढेको छ। अन्तर्राष्ट्रिय तथा बाहिरी कारण केही नभए पनि गत सातादेखि खानेतेलमा भएको मूल्यवृद्धि निर्वाचन देखाएर जनतालाई मूल्यवृद्धिको भार बोकाउने काम गरिएको निष्कर्षमा आफूहरू पुगेको उनको प्रतिक्रिया छ।