काठमाडौं । न्यौपाने, अग्रवाल र पौडेल परिवारले सञ्चालन गरेको अम्बे स्टिल प्राइभेट लिमिटेडको व्यापार १७ प्रतिशतले बढेको छ । सन् २०२२ मा अम्बे स्टिलले १० अर्ब ९३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२१ मा उद्योगले ९ अर्ब २८ करोड ४० लाख, २०२० मा ६ अर्ब ३७ करोड ६० लाख र २०१९ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । सञ्चालन आम्दानी बढे पनि कच्चा वस्तुमा भएको मूल्यवृद्धिले उद्योगको मार्जिनमा गिरावट आएको छ ।
उद्योगले ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
उद्योगले अम्बे ब्राण्डमा टीएमटी बार, जीआइ वायर र बाइन्डिङ वायर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले बिलेट, पिग आइरन र स्पन्ज आइरन छिमेकी भारतबाट आयात गर्र्दै आएको छ । उद्योगको ८२ प्रतिशत आम्दानी टीएमटीबार बिक्रीबाट हुने गरेको छ ।
त्यसपछि जीआई वायर, ग्याबिन बक्स र ब्यान्डिङ वायरबाट आम्दानी भएको अम्बेले जनाएका छ । उद्योग आफैले बिलेट उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन गरेको बिलेटले स्टिल उत्पादनमा ६० प्रतिशत योगदान गरेको छ ।
उद्योगको बिलेटल उत्पादन क्षमता वार्षिक ८० हजार टन छ । उद्योगले बिलेट उत्पादन क्षमता वार्षिक ४५ हजार टन थप्ने तयारी थालेको छ । यसपछि १ लाख २५ हजार टन पुग्ने छ ।
बिलेट उत्पादन बढाउन उद्योगले मेल्टिङ प्लान्टको क्षमता बढाउन लागेको छ । आगामी सन् २०२४ सम्म मेल्टिङ प्लान्ट सञ्चालनमा ल्याउने तयारी उद्योगको छ ।
सरकारले बिलेट आयातमा भन्सार शुल्क र अन्तःशुल्क लगाएपछि अम्बेलाई अनुकुल अवस्था सिर्जना भएको छ । यद्यपी स्टिल उद्योगहरुको संख्या बढ्दै गएकाले अम्बेलाई बजार हिस्सा जोगाउन थप चुनौति आएको छ ।
सन २०१६ देखि २०१८ सम्म देखिएको राम्रो व्यापारमा त्यसपछि घटदै गएको छ । स्टिल उद्योगको उत्पादन क्षमता घटेर ५० प्रतिशतमा झरेको बताइएको छ ।
नेपालको ठूलो मध्ये एक अम्बे स्टिल सन् २००९ मा स्थापना भएको हो । कारखाना लुम्बिनीको भैरहवामा छ । उद्योग न्यौपाने, अग्रवाल र पौडल परिवारले अम्बे ग्रुपअन्र्तगत सञ्चालन गरेका छन ।
अम्बे ग्रुप १९८२ मा स्थापना भएको हो । उद्योगमा शोभाकर न्यौपानेको ६०, रमेशकुमार अग्रवाल र सज्जन अग्रवालको २५ र बाँकी १५ प्रतिशत स्वामित्व पूर्णबहादुर पौडेलको छ ।