काठमाडौं। आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७‘का लागि आवेदन खुला गरेको छ। आइडिया स्टुडियोले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७‘ को लागि आवेदन खुलाएको जानकारी दिएकाे हो।
आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५ सयभन्दा बढी नवीन विचारहरूको आवेदन प्राप्त भएको थियो। त्यसमध्ये ३ सय ५० भन्दा बढी व्यवसायहरू इन्क्युबेट भइसकेका छन्। आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायमध्ये ६५् भन्दा बढी व्यवसायहरू सफलतापूर्वक संचालनमा रहेका छन्।
आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवर्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरूलाई विशेष प्राथमिकता दिदै सोही विचारहरुलाई उत्कृष्ट बनाउन सल्लाह, व्यवसायिक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरशिप, रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजीकरण गराउन मद्दत पुर्याउँदै आएको छ ।
हालसम्म आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ। उक्त आइडिया स्टुडियो सिजन ७ को पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति थियो।
कार्यक्रममा वर्ल्ड वाईल्ड लाइफ फण्ड नेपालका देश प्रतिनिधि डा. घनश्याम गुरूङ, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, शिलापत्रका सहसंस्थापक, अध्यक्ष डा. सुरेश सिम्खडा, स्पेस ४ केका एमडी प्रभात चलौने, नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणालीका सिइओ सन्जिब सुब्बा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवाली र काठमाडौं मोडल कलेजका प्रध्यापक सुरेन्द्र सुवेदीले विचार राखेका थिए।
कलेज आइडिया हन्ट २०२२ मा प्राप्त भएको विचारहरू मध्ये २० विचारहरुलाई १५ दिनको इन्क्युबेसन साथै मेन्टरशिप प्रधान गरिएको थियो। छनौट भएका उक्त २० विचारलाई इन्क्युबेसन र मेन्टरशिप प्रक्रियापछि डेमो पिचको माध्यमबाट १० उत्कृष्ट विचारलाई अन्तिम प्रक्रियाका लागि छनौट गरिएको थियो।
सोही दिन कलेज आइडिया हन्ट २०२२ मा प्राप्त उत्कृष्ट १० आइडियामध्ये उत्कृष्ट ४ विजेता छनोट गरिएका थिए ती हुन: बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस् , मेहेनती डटकम, कलेज आइडिया हन्टका सबै बिजेतालाई १ लाख रूपैयाँ नगत पुरस्कार प्रधान गरिएको थियो। कलेज आइडिया हन्ट २०२२ का सबै विजेताहरु आइडिया स्टुडियो सिजन ७ मा स्वतह प्रस्थान गराइने छन्।
आइडिया स्टुडियो सिजन ७ मा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरूले २०७९ पुष १७ गते सम्ममा आवेदन दिइसक्नुपर्ने छ। आवेदकहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि याे लिंक मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्नेछन्।