काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत र बढी कारोबार हुने समूहभित्र पर्ने शिवम् सिमेन्टको व्यापार खस्किएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनले शिवम् सिमेन्टको व्यवसाय गत वर्षको पहिलो त्रैमासको तुलनामा उच्च दरमा खस्किएको हो।
गत वर्षको असोजमा २ अर्ब २० करोड ६७ लाख रूपैयाँ सञ्चालन आम्दानी गरेको शिवम् सिमेन्टको यो वर्षको सोही अवधिमा भने १ अर्ब ५३ करोड ४५ लाख रूपैयाँमा खुम्चिएको छ। गत वर्षको तुलनामा व्यवसायबाट हुने आम्दानी ३० प्रतिशतले घटेको हो।
यसले कम्पनीको व्यवसाय खस्किएको पुष्टि गर्छ। तर, शिवम् सिमेन्टले आफ्नो उच्च देखाइराख्न अन्य आम्दानीको साहरा लिएको छ। त्यो अन्य आम्दानी के हो भनेर खुलाएको भने छैन। २०७८ असोजमा ९३ लाख ६० हजार रूपैयाँ मात्रै रहेको अन्य आम्दानी २०७९ असोजमा आइपुग्दा ३१ करोड ३४ लाख १३ हजार रुपैयाँ देखाएको छ।
नेपाल लेखामानअनुसार ठूलो रकम अन्य आम्दानी देखिँदा त्यो कहाँबाट प्राप्त भएको हो भनेर विस्तृत विवरण सार्वजनिक (डिस्क्लोजर) गर्नुपर्छ। तर, शिवम् सिमेन्टले बिना कुनै डिस्क्लोजर करोडौं रूपैयाँ अन्य आम्दानीमा देखाएको छ। जसले गर्दा अन्य आम्दानीको स्रोत रहस्यमयी देखिन्छ।
कम्पनीको आम्दानी घट्दा उसले तिर्नुपर्ने करको हिस्सा ह्वात्तै घटेको छ। गत वर्ष ३ करोड ५७ लाख ८७ हजार चालू कर तिरेकोमा गत असोजमा ६ लाख ४० हजार रुपैयाँ मात्रै कर तिरेको छ। उसले आफ्नो खुद नाफामा ४८ लाख ९४ हजार रुपैयाँ स्थगित कर (डिफर्ड ट्याक्स) जोडेको छ।
कम्पनीको व्यापार घटिरहँदा उसको कतिपय सञ्चालन घटेको देखिन्छ। गतवर्ष असोजमा १ अर्ब ९५ करोड २५ लाख रूपैयाँ कुल खर्च गरेकोमा चालू असोजमा १ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको छ। गतवर्षको तुलनामा कच्चा पदार्थ, विद्युत्, कर्मचारी खर्च र अन्य खर्च घटेको विवरणमा उल्लेख छ।
तर, वित्त खर्च (फाइनान्स कस्ट) भने दोब्बरभन्दा बढीले बढेको छ । गत वर्ष वित्त खर्चमा ७३ लाख ६३ हजार खर्च भएकोमा चालू असोजमा १ करोड ९० लाख ८२ हजार रुपैयाँ भएको छ।
शिवम्को आम्दानी बढ्दा प्रतिसेयर आम्दानीमा पनि सकारात्मक प्रभाव पर्छ। प्रतिसेयर आम्दानीमा लगानीकर्ता लोभिने सम्भावना बढी हुन्छ। र त्यसले सेयर कारोबारलाई बढावा दिन्छ। असोजमा प्रतिसेयर आम्दानी २४.९८ रूपैयाँ छ। जबकी, २०७८ असोजमा प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ छ । प्रतिसेयर आम्दानी बढे पनि प्रतिसेयर कुल सम्पत्तिको मूल्य भने घटेको छ।
गत वर्ष प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९८ रुपैयाँ ९६ पैसा रहेकोमा चालू असोजमा आइपुग्दा २८१ रुपैयाँ ६ पैसामा खुम्चिएको छ।
शिवम्ले सेयर बजारलाई चलायमान बनाउन बेला–बेला विभिन्न हत्कण्डा अपनाउने गर्छ। खासगरी, बेला–बेला संस्थापक सेयर बिक्री गर्ने मनशायले सेयर बजारलाई आफ्नो काबुमा राख्न यसका लगानीकर्ताहरुले खोजेका हुन कि भन्ने पनि देखिन्छ। अन्य क्षेत्रबाट भएको आम्दानी के हो भन्ने नखुलाउने यसमा शंका गर्ने ठाउँ छ।
शिवम् सिमेन्टले गत असारमा ११ करोड बोरा सिमेन्ट बिक्री गरेको भन्दै व्यापाक हल्ला चलाएको थियो। त्यही बीचमा सेयर मूल्य उचालेर संस्थापक समूहको ३० लाख कित्ता सेयर बिक्री गर्न सफल भएका थिए।
शिवम्ले सोमबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेसँगै सेयर बजारमा एक प्रकारको चाप देखाएको छ। मंगलबार पनि यसको कारोबार उच्च दरमा भइरहेको छ।
सोमबार शिवम्को मूल्य न्यूनतम ६०८ र अधिकतम ६२५ सम्म किनबेच भएर ६१६ रूपैयाँ बन्द भएको थियो। कात्तिक २१ मा शिवम्को मूल्य बढाएर ७१५ सम्म पुर्याएकाे थियाे।
सोमबार ४ करोड १५ लाख रूपैयाँको सेयर किनबेच हुँदा मंगलबार ४ करोड २६ लाखको सेयर किनबेच भएको छ। अधिकतम मूल्य भने प्रतिकित्ता ६१० छ।