काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान फेडेरेसन) को अध्यक्ष पदमा रणजित पौदारले उम्मेदवारी घोषणा गरेका छन्। क्यान फेडरेसनको केन्द्रीय साधारणसभा एवं महाधिवेशन आगामी पुस ९ गते काठमाडौंमा हुँदैछ।
पौदारले सूचना प्रविधिको गुणस्तरीय विकास, सफ्टवेयर उद्योगको प्रवद्र्धन र यस क्षेत्रमा आबद्ध पेसाकर्मी, विद्यार्थी एवं व्यवसायीका लागि काम गर्ने अठोट र योजनासाथ अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।
‘नेपालमा छोटो समयमा सूचना प्रविधिले ठूलो फड्को मारेको छ। तर यो व्यवस्थित र गुणस्तरीय भने छैन,’ पौदारले क्यापिटल नेपालसँग भने, ‘मेरो उम्मेदवारी यही सूचना प्रविधि क्षेत्र व्यवस्थित र गुणस्तरीय बनाउन हो।’
लगभग २० वर्षदेखि सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अनुभवलाई नेपाल र नेपाली अर्थतन्त्रमा सहयोग पु¥याउने गरी सूचना प्रविधि उद्योग विकास गर्ने उनको भनाइ छ।
सूचना प्रविधि क्षेत्र विकास, दक्ष जनशक्ति निर्माण र रोजगारी सिर्जना गर्न आफूसँग पर्याप्त योजना रहेको उनको भनाइ छ। आफू नेतृत्वमा आएको खण्डमा नेपालबाट विश्वबजारमा सफ्टवेयर उद्योगबाट जनशक्ति बाहिर गइरहेको अवस्थालाई नेपालमै उच्च गुणस्तरको सिकाइ प्रदान गरेर नेपालकै विकासमा अधिकतम प्रयोग गर्न विभिन्न संस्थासँग सहकार्य गर्ने उनको प्रतिबद्धता छ।
नेपाली जनशक्ति विश्वबजार पुर्याएर उनीहरूको विकास गर्न सकिने र नेपालमै प्रयोग र उपयोग गर्ने वातावरण बनाउन सकिने उनले बताए। ‘यसो गर्न सके जनशक्ति पनि बाहिर नजाने र अर्थतन्त्र पनि सुधार हुनेछ,’ पौदारले भने।
सूचना प्रविधि क्षेत्रमा सरकार र निजी क्षेत्रबीच सहकार्य अभावले पनि नेपालले सूचना प्रविधिबाट लिनुपर्ने लाभ लिन नसकेको उनको बुझाइ छ।
‘निजी क्षेत्र र सरकारबीचको सहकार्य कम भएको जस्तो मलाई लाग्छ,’ उनले भने ‘यी दुईबीचको ग्याप कम गर्न के गर्न सकिन्छ? कसरी अगाडि बढ्दा समग्र क्षेत्रमा सहयोग पुग्छ? भन्ने विषय हेरेर पर्याप्त काम गर्न सकिन्छ भन्ने विश्वास मलाई छ,’ उनले थपे।
उनले आफू नेतृत्वमा पुगे यस्तै किसिमका विभिन्न अवस्था पहिचान गरी सूचना प्रविधि क्षेत्रमा व्यापक सुधार ल्याउन जागरुकतासाथ काम गर्ने दाबी गरे।
त्यस्तै सूचना प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारीका अवस्था तथा सेवा–सुविधामा सुधार गर्न पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ। यस क्षेत्रका उद्योगलाई सरकारले केही छुट दिएर, केही सुविधा थपेर विकास गर्न सक्ने भएकाले उक्त सहयोगका लागि आफूले समन्वयकारी भूमिका खेल्ने पनि उनले बताए।
मुलुकका कतिपय स्थानमा इन्टरनेट नपुगेको अवस्था रहेको भन्दै उनले ती ठाउँमा इन्टरनेट पुर्याउन लबिङ गर्ने, उपत्यकामा इन्टरनेट अवस्था जति राम्रो छ त्यति अन्य बाहिरी क्षेत्रमा नरहेकाले त्यसलाई सुधार गर्न आएसपीसँग बसेर काम गर्नेजस्ता काम गर्ने पनि बताए।
सूचना प्रविधि क्षेत्रमा आबद्ध पेसाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न क्यान महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।
आफ्ना अजेन्डा र योजना आफ्नो टिमसँगै ल्याउने र त्यसका लागि आफूले काम गरिरहेको उनले जानकारी दिए।