काठमाडौं । बजारमा मदिराकाे मन्दी आएका बेला हिमालयन डिस्टिलरी लिमिटेडको नाफा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा २.१२ प्रतिशत बढेको छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुदनाफा गरेको छ । उत्पादकहरुले समग्र मदिरा बजार २५ प्रतिशतले घटेको बताइरहेका बेला हिमालयन डिस्टिलरीको नाफा भने बढेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ नाफा कमाएको मंगलबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा कम्पनीको बिक्री उल्लेख्य बढेको छ । कम्पनीको बिक्री लागतका साथै प्रशासनिक तथा वित्तीय खर्च बढेका कारण खुदनाफा सामान्य बढ्न पुगेको हो।
असोज मसान्तससम्ममा कम्पनीको सञ्चालन आम्दानी १२.२९ प्रतिशत बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब २३ करोड थियो ।
त्यसैगरी कम्पनीको कुल सञ्चालन आम्दानी ५.१९ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको कुल आम्दानी ४ अर्ब ४६ करोड थियो ।
नाफा सामान्य बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ घटेको छ । चुक्ता पुँजी बढेपछि चालू आर्थिक वर्षको असोज मसान्तसमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ५६ रुपैयाँ ८४ पैसामा झरेको छ।
कम्पनीको चुक्ता पुँजी ७५ प्रतिशतले बढरे १ अर्ब ५१ करोड पुगेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख थियो ।
असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ। गोल्डेन ओक, ब्लाक ओक र ब्लुक ओक ब्रान्डाका मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
हिमालयन डिस्टिलरी लिमिटेडको प्रमुख चुनौतिको भनेको आर्थिक ऐन, २०७९ ले अन्तःशुल्क दरमा वृद्धि हुने गरेकोले उत्पादन मदिराको उपभोक्ता मूल्यमा वृद्धि हुन गई उत्पादनको बिक्री वितरणमा थप चुनौति सामना गर्नुपर्नेछ ।
त्यस्तै बजारमा चालु पुँजीको अभाव, बैंकहरुले ऋण प्रवाहमा कडाई, व्याजदर वृद्धिले यस क्षेत्रमा लगानीको अभाव रहेको एवं उपभोक्ताको क्रयशक्तीमा ह्रास आउदा मदिराको कारोबारमा प्रभाव पर्ने देखिन्छ ।
गोल्डेन ओक जस्तै देखिने उस्तै लेबल, बोतल, कम शक्ति र कम गुणस्तरको मदिरा उत्पादन विक्री वितरण कार्य जारी र गोल्डेन ओक ब्राण्ड जोगाइ चुनौतिपूर्ण देखिन्छ । यसले कम्पनीलाई लगायत नेपाल सरकारको राजस्वमा समेत ठुलो असर परेको छ ।