काठमाडौं। निजी लगानीमा क्लिङ्कर प्लान्टसहितको नयाँ उद्योग सञ्चालनमा आउने भएको छ। ८ अर्ब ९७ करोड रुपैयाँ लगानीमा गौरिशंकर सिमेन्ट प्रालि सञ्चालनममा आउन लागेको हो।
उद्योगले दैनिक २ हजार ५ सय टन सिमेन्टको कच्चापदार्थ क्लिङ्कर उत्पादन गर्ने छ। क्लिङ्कर प्लान्टले आगामी तीन वर्षभित्र व्यावसायिक उत्पादन थाल्ने उद्योगले जनाएको छ। उद्योगको पूर्वाधार तयारीको काम एभरेस्ट इरेक्टर्सले गर्ने छ।
गौरिशंकरले ६ अर्ब ७३ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजीबाट जुटाइने गरी लगानी संरचना तयार पारेको छ। उद्योगले बैंकहरूसँग ऋण लगानी सम्झौता गरिसकेको छ। त्यसैले उद्योगलाई लगानी समस्या छैन।
उद्योगमा तीन संस्थागत र एक व्यक्तिगत लगानीकर्ता छन्। उद्योगमा जेपी सिमेन्ट, गरिमा सिमेन्ट र महाशक्ति सिमेन्ट उद्योगको लगानी हुनेछ। गौरिशंकरले तीन सहायक उद्योगलाई सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चा वस्तु क्लिङ्कर आपूर्ति गर्ने छ।
गौरिशंकरका लगानीकर्ताले ग्रान्डिङ प्लान्टबाट दैनिक २ हजार ४ सय टन सिमेन्ट उत्पादन गरिरहेका छन्। प्रस्तावित उद्योगदेखि तीन किलोमिटर दुरीमा ग्रान्डिङ युनिट छन्।
जेपी र गरिमाको १/१ हजार टन र महालक्ष्मीको दैनिक ४ सय टन सिमेन्ट उत्पादन क्षमता छ। उद्योग लुम्बिनी प्रदेशको कपिलवस्तु शिवराज नगरपालिकामा छ। चार दशकदेखि सिमेन्ट उत्पादनमा संलग्न शिरोमणि ढकालले परियोजनाको नेतृत्व गरेका छन्।
उद्योग नेपाल-भारत सिमाना नजिक रहेकाले 'लोकेसन एडभान्टेज' रहेको छ। उद्योग कृष्णनगर, भैरहवा र नेपालगन्ज नजिक छ। सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान सुविधा दिएकाले उद्योगले यसबाट थप लाभ लिन सक्ने छ। जसले बढ्दो व्यापार घाटा कम गर्न सघाउ पुग्ने छ।
नेपालमा अहिले धमाधम नयाँ सिमेन्ट उद्योग आउन थालेका छन्। हालसम्म ६० ग्रान्डिङ र २० क्लिङ्कर उत्पादन गर्ने उद्योग छन्।