काठमाडौं । कोरोना महामारीपछि बिमा कम्पनीको व्यवसायमा निरन्तर गिरावट आएको छ । चालू आर्थिक वर्षको भदौमा जीवन बिमा कम्पनीहरुले कुल १० अर्ब ९७ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
कम्पनीहरुले भदौमा मात्र २ अर्ब ६० करोड प्रथम व्यवसाय शुल्क र ८ अर्ब ३७ करोड रुपैयाँको नवीकरण गरेका छन् । गत वर्ष यसै अवधिमा कम्पनीहरुले कुल ११ अर्ब ५४ करोड रुपैयाँको व्यवसाय गरेका थिए । जसमा प्रथम शुल्कबापत ३ अर्ब ६४ करोड र नवीकरणमार्फत ७ अर्ब ७८ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षको भदौमा जीवन बिमा कम्पनीको प्रथम बिमा व्यवसाय ७.७१ प्रतिशत र नवीकरण व्यवसाय ९.३५ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष ०७७/०७८ को भदौसम्म कम्पनीहरुले कुल २ खर्ब ८१ अर्ब ३६ करोड ६ लाख रुपैयाँको व्यवसाय गरेका थिए । आर्थिक ०७८/०७९ भदौ मसान्तसम्ममा कुल २ खर्ब ६० अर्ब ३२ करोड ७ लाख रुपैयाँ बराबरको शुल्क संकलन गरेका छन् । गत भदौको तुलनामा चालू आवको भदौमा कम्पनीको कुल बिमा शुल्क व्यवसायमा ७.७८ प्रतिशतले गिरावट आएको देखिन्छ ।
निर्जीवन बिमा कम्पनीहरुको पनि व्यवसाय घटेको छ । गत असोजमा कम्पनीहरुले ३ अर्ब ३० करोड रुपैयाँको व्यवसाय गरेका थिए । चालू आर्थिक वर्षको असोजमा कम्पनीहरुले २ अर्ब ९६ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
जुन गत वर्षको तुलनामा निर्जीवन बिमा व्यवसाय ८.९६ प्रतिशतले घटेको छ । सरकारले गत वैशाख दोस्रो सातादेखि नै कार÷जिप र भ्यान, १५० सीसीमाथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ ।
सवारी आयातमा लगाइएको प्रतिबन्धले निर्जीवन बिमा व्यवसायलाई असर गरेको निर्जीवन बिमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले क्यापिटल नेपाललाई बताए ।
‘सरकारले मंसिर मसान्तसम्मका लागि आयातमा प्रतिबन्ध लगाएको छ,’ उनले भने, ‘चाड पर्वको समयमा सवारीको व्यापार बढ्ने हुँदा निर्जीवन बिमा राम्रो हुन्थ्यो ।
अहिले सवारी साधनको व्यापार छैन जसको असर निर्जीवन बिमा कम्पनीमा परेको छ ।’ यस्तै बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटले पनि बिमा व्यवसायमा असर गरेको ती सिइओ बताए । तत्कालीन बिमा समितिको नीतिले पनि बिमा व्यवसाय घटाउन सहयोग गरेको बिमा कम्पनीहरुको भनाइ छ ।
‘नियामकीय नै लुज (कमजोर) भएकाले बिमा व्यवसाय घटेको हो,’ उनले भने, ‘अब तत्कालीन समिति प्राधिकरण रुपान्तरण भएको छ । अब समिति प्राधिकरणमा रुपान्तरण भई नियमन राम्रो भई व्यवसाय राम्रो हुन्छ ।’प्राधिकरणको राम्रो नियमनले विस्तारै बिमा व्यवसाय वृद्धि हुने ती सिइओको भनाइ छ ।
‘तत्कालीन समिति हुँदा नियमन लुज थियो,’ उनले भने, ‘बिमा कम्पनीको अस्वस्थ्य प्रतिस्पर्धाले पहिले पोलेसी बुक गर्ने र पछि मात्र प्रिमियम भुक्तानी ल्याउने अवस्था थियो । अहिले तत्काल भुक्तानी गर्नुपर्छ ।’
बिमा पोलेसी नगदमा हुन थालेपछि पनि बिमा व्यवसाय घटेको हो, ती सिइओले भने ।
‘पहिले ठूला–ठूला बिमा पोलेसी बिक्री गर्दा सम्पत्ति शुद्धीकरण कुरा आउँदैन थियो,’ ती सिइओले क्यापिटल नेपालसँग भने, ‘त्यसलाई नेगलेट गरी पोलेसी सेल हुन्थ्यो । जसले गर्दा कालो धन पनि बिमामा आउँथ्यो । अहिले सम्पत्ति शुद्धीकरणले गर्दा बिमा कम्पनीमा निगरानी बढाउँदा गाह्रो हुने र ठूलो बिमा पोलेसी सेल हुन सकेको छैन ।’
ठूलो बिमा पोलेसी सेल गर्न नसकिएपछि बिमा व्यवसाय घट्ने नै भयो, उनले भने । सानो खुद्रा पोलेसीले भोलुम ठूलो नहुने ती सिइओको भनाइ छ ।
साथै, एक एजेन्टले अर्को कम्पनीको एजेन्ट बन्न नपाउने व्यवस्था आएको छ । यसले पनि बिमा व्यवसाय घटेको देखिन्छ, उनले भने ।
चाड पर्वका बेलामा विदेशबाट पैसा आएर यो बेलामा बिमा व्यवसाय बढ्नुपर्ने उनको भनाइ छ । चैतपछि लक्ष्य प्राप्ति गर्न सबै खटिएर लाग्ने भएर बिमा व्यवसाय ग्रोथ राम्रो देखिने ती सिइओले बताए ।
तरलताको संकट र सवारी आयातमा लगाएको प्रतिबन्धका कारण बिमा व्यवसाय घटेको बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ ।
पूर्वटे«डिसन हेर्दा यो समयमा बिमा व्यवसाय घटेको पौडेलको भनाइ छ । चुनाव सकिएपछि विस्तार बिमा व्यवसाय बढ्ने पौडेलले बताए ।
बैंकिङ प्रणालीमा तरलता समस्या आउँदा जीवन बिमा कम्पनीहरुको व्यवसाय घटेको पौडेललको भनाइ छ ।
‘गाउँ–गाउँमा रहेको पैसालाई बिमाले समेट्ने हो,’ उनले भने, ‘गाउँ– गाउँबाट फन्ड ल्याएर त्यसलाई कार्यान्वयन गर्ने हो । चाडवाडसँगै चुनाव आयो त्यसले व्यवसाय अलि घटेको हो । अब विस्तार बढ्छ ।’ पौडेलले भने ।