काठमाडौं। नेपाल पर्यटन बोर्ड, जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ।
कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय,नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायहरूबीच कार्यशालासमेत आयोजना गरिसकेको छ।
उक्त कार्यक्रम मार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारको भूमिका र दायित्व आदी विषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए।
जस अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय,नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस (नाटा) होटल एशोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य विभिन्न सरोकारवाला सस्थाहरूसँग मिलेर कार्ययोजना तयार गर्न लागेको हो।
प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाहरूले स्पष्ट पर्यटनमैत्री नीति,पर्यटनमा एकद्वार प्रणाली, पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। यस्तै कार्यशालाको अवसरमा व्यवसायीहरुले स्थानीय खाद्यान तथा घरवास कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने बताए।
लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाहरूले आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने कुरामा जोड दिए। यस्तै सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको प्रवर्द्धनकाे लागि छुट्टै आन्तरिक पर्यटन प्रवर्द्धनकाे रणनीति एवं ठोस योजना आवश्यक रहेको बताए।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा कोभिड–१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरू गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरूले अल्पकालिन रोजगारका अवसरहरू प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरूका पर्यटकीय सम्पदाहरूको सम्वर्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरूको लागि रोजगार र आयआर्जनका अवसरहरुमा वृद्धि गर्ने उद्देश्यले जीविकोपार्जन पुनरूत्थानका लागि दीगो पर्यटन परियोजना संचालनमा ल्याइएको थियो।
यसै सन्दर्भमा परियोजनाले कोभिड–१९ का कारणबाट पर्यटन व्यवसायीहरू तथा जनशक्तिहरूमा परेको प्रभावलाई मूल्याकंन गरी आगामी दिनहरूमा विपत्ती तथा चुनौतिहरूसँग सामना गर्न सक्ने गरी आन्तरिक पर्यटन रणनीतिक कार्य योजना निर्माण गर्न लागेको परियोजनाका जिजिकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए। उनले यस प्रकारका कार्यशाला क्रमश सबै प्रदेशमा आयोजना गरिने र सोको आधारमा रणनीति तय गरिने समेत जानकारी दिए।