काठमाडौं। आगामी मंसिर ४ मा तय भएको केन्द्र र प्रदेश चुनाव नजिकिएसँगै निःशुल्क हवाई टिकट माग्नेको लर्कोले वायुसेवा कम्पनीहरू हैरान हुन थालेका छन्।
आफ्नो पक्षमा भोट तान्न राजनीतिक दलका नेताहरूले विभिन्न प्रलोभन देखाइरहेका बेलामा हवाई टिकटको व्यवस्थासमेत गर्ने आश्वासन दिन थालेका छन्। त्यसका लागि राजनीतिक दलका नेताहरूले वायुसेवा कम्पनीहरूलाई निःशुल्क टिकट दिन दबाब दिन थालेको एक वायुसेवा सञ्चालकले गुनासो गरे।
‘चुनाव नजिकिएसँगै कार्यकर्तालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान निःशुल्क टिकट माग्नेको लर्को लागेको छ,’ एक वायुसेवा सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘अहिले नचिनेको नम्बरबाट फोनसमेत उठाउन छाडिसकेका छौं। हामी चुनाव नसकिएसम्म नचिनेको नम्बरबाट आएको फोन उठाउँदैनौं।’
आफ्ना कार्यकर्तालाई निःशुल्क टिकट दिनुपर्याे भन्दै दिनहुँ फोन आउने गरेको ती सञ्चालकको भनाइ छ। सञ्चालकहरूले भने वायुसेवाका कर्मचारीहरूका नम्बर दिने गरेका छन्।
‘हामीले नेताको कुरा काट्न नसक्ने भएपछि कर्मचारीको नम्बर पठाइदिएका हुन्छौं,’ अर्को एक वायुसेवा सञ्चालकले भने, ‘कर्मचारीले भने नचिनेको नम्बरबाट फोन नै उठाउदैनन्। अलिकति सहज भएको छ।’ विषेशगरी सुगम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीलाई नेता तथा कार्यकर्ताले निःशुल्क टिकट मागेर हैरान पारेको उनीहरूको गुनासो छ।
उधारो टिकट माग्ने पनि उत्तिकै
नेता तथा कार्यकर्ताले उधारो टिकट माग्नसमेत थालेका छन्। निःशुल्क नदिने भएपछि विभिन्न नेताका नाममा टिकट माग्नेहरू पनि बढ्न थालेको अर्का एक वायुसेवाका कर्मचारीले बताए।
कार्यकर्ताले पनि नेताहरूलाई भोट हाल्न जानका लागि हवाई टिकटको ‘बार्गेनिङ’ गर्ने गरेका छन्। जसका कारण बाध्य भएर नेताहरूले काठमाडौंदेखि विभिन्न गन्तव्य जान कार्यकर्ता र मतदातालाई निःशुल्क टिकटको व्यवस्था गर्नुपर्ने बाध्यता छ।
टिकटको समय सार्न नेताको फोन
अन्य बेला टिकटको समय हेरफेर गर्न सम्बन्धित व्यक्ति आफैंले फोन गर्ने र आफैं आउने गरेको भए पनि अहिले भने नेताहरूलाई फोन गर्न लगाउन थालेको बताउँछन्।
कुनै गन्तव्यमा रहेका यात्रुलाई तत्कालै उडान गर्न वा टिकट रद्ध गर्नसमेत नेताका सचिवालयबाट फोन आउन थालेको एयरलाइन्सका कर्मचारीका भनाइ छ। ‘सामान्य विषयमा समेत नेताका सचिवालयबाट फोन आउन थालेको छ,’ ती कर्मचारीले भने, ‘सायद, चुनाव नजिकिएर हुनसक्छ।’
बुकिङ उत्साहजक
आगामी मंसिर ३ गतेसम्म हवाई उडान हुने र ४ गते भने आकस्मिकबाहेक अन्य उडान हुँदैन। तर, मंसिर ३ सम्म टिकट उत्साहजनक बुकिङ भइरहेको जनाएको छ।
खासगरी निर्वाचनमा भोट हाल्न जानेले ३ गते सम्मलाई टिकट बुकिङ गरेको हुनसक्ने एयरलाइन्सका कर्मचारीको भनाइ छ। हाल बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन्।