काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एरोथाइलाई अनुमति दिएको छ।
नोभेम्बर १३ देखि डिसेम्बर ५ सम्म यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालनका लागि अनुमति दिएको प्राधिकरणले जनाएको हाे। सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो।
पोखरा विमानस्थलमा सन् २०२३ जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए।
यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ। सो जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको चेकजाँच गर्नेछ। एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने जनाएको छ। सो कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ।
करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ। विमानस्थलमा हाल २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ। एटिसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ।
सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य लिए पनि कोभिड १९ महामारीलगायतका कारण निर्माण सम्पन्न हुने केही समय ढिलाइ भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले विमानस्थल निर्माण गरेको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ। विमानस्थलले वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्नेछ। विमानस्थलमा तीनवटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ।