एजेन्सी। चिनियाँ कम्पनीले भारतमा ठूलो कर छली गरेकाे खुलासा भएकाे छ। भारतीय कर अधिकारीले दुई देशबाट प्राप्त डाटामा ठूलो भिन्नता फेला पारेपछि चीनबाट सामान आयात गर्ने व्यवसायले न्युनबिजीकरण (अन्डर इनभ्वाइस) मार्फत अर्बौं भारू कर छलेको पाइएको हो।
सरकारले कर छलीको सम्भावित प्रमाणहरू खोजिरहेकाे छ। चीनबाट भारततर्फ हुने निर्यातको तुलनामा देशमा चलान गरिएको आयात निकै कम देखिएको छ। भारतका भन्सार अधिकारीले सेप्टेम्बरको अन्तिम सातादेखि ३२ आयातकर्तालाई अप्रिल २०१९ देखि डिसेम्बर २०२० सम्म अन्डर इन भ्वाइसिङमार्फत १ खर्ब ६० अर्ब भारू कर छली गरेको बताएका छन्।
अनुसन्धानले विशेष गरी चीनबाट अन्डर इनभ्वाइसका धेरै घटना पत्ता लगाएको छ। ‘हामीले पहिले नै ३२ आयातकर्तालाई १ खर्ब ६० अर्ब भारू कर छलीको लागि अन्डर इनभ्वाइस र शंकास्पद कर छलीको लागि सूचना पठाएका छौं’ एक वरिष्ठ सरकारी अधिकारीले भने। यी आयातमा मुख्यतया इलेक्ट्रोनिक्स, ग्याजेट र धातु समावेश छन्।
सामान्यतया, आयातकर्ताले भन्सार महसुल बचत गर्न अन्डर इनभ्वाइसमार्फत गरेको पाइएको छ। भारतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न इलेक्ट्रोनिक सामान, मोबाइल फोनलगायतमा आयात शुल्क लगाएको छ। उच्च शुल्कले अन्डर इनभ्वाइसमार्फत कर छलीलाई प्रोत्साहन गरेको छ।
आधिकारिक तथ्यांकअनुसार सन् २०२२ को पहिलो नौ महिनामा भारतले ७९.१६ अर्ब डलर बराबरको सामान चीनबाट आयात गरेको थियो। चीनको भन्सार प्रशासनले सोही अवधिमा भारततर्फको निर्यात ८९.९९ अर्ब डलर रहेको देखाएको छ। यसमा १० अर्ब डलरको अन्तर देखिएको छ।
यो अन्तर प्रत्येक वर्षसँगै बढ्दै गएको छ। २०१९ मा चीनबाट भारतको आयात ६८.३५ अर्ब डलर थियो। जबकि चीनको डाटाले ७४.९२ अर्ब डलरको निर्यात देखाएको छ। यसमा ६ अर्ब डलरको अन्तर छ। जुन २०२० मा ८ अर्ब डलर र २०२१ मा बढेर १० अर्ब डलरमा पुगेको छ।
भारतीय निर्यात संगठन महासंघका महानिर्देशक अजय सहायले भने, ‘चीनबाट ढुवानी सुरू भई भारत पुग्न दुई महिनाको ढिलाइका कारण फरक पर्न सक्छ। साथै, धेरै लेनदेन उच्च समुद्रमा हुन्छन् जब भारतको लागि खेप अन्य देशमा डाइभर्ट गरिन्छ। सन् २०१९ मा प्रकाशित अमेरिकास्थित थिंक ट्यांक ग्लोबल फाइनान्सियल इन्टिग्रिटीको प्रतिवेदनका अनुसार, मिस इन भ्वाइसिङको व्यापारमा भारतले १३ अर्ब डलर अर्थात ९ खर्ब भारू बढीको घाटा व्यहोरेको छ। यो धेरैजसो चीनबाट आयातसँग सम्बन्धित रहेको बताइएको छ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)