काठमाडौं। इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सिंहदरबार वरिपरिका विभिन्न स्थानमा अव्यवस्थित रूपमा टाँगिएका तथा प्रयोगमा नरहेका तारहरू हटाउन सुरू गरेको छ।
नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई विद्युत प्राधिकरणको पोल प्रयोग गरी अव्यवस्थित तरिकाले टाँगिएका र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबलको–एक्साइल केबल ४५ दिनभित्र व्यवस्थापन गर्न निर्देशन दिएको थियो। निर्देशनपश्चात सेवा प्रदायकले तार व्यवस्थापनको काम धमाधम गर्न थालेका हुन्।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुदीर पराजुलीले सिंहदरबार वरपरका स्थानमा तार व्यवस्थापनका काम सुरू गरेको बताए। ‘हामीले अव्यवस्थित तार व्यवस्थापन कार्यक्रमअन्तर्गत टोखामा व्यवस्थापनको काम गरिसकेका छौं, त्यतै ठमेलमा पनि व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ,’ अध्यक्ष पराजुलीले भने, ‘हाल हामीले यही व्यवस्थापन कार्यक्रमअन्तर्गत रहेर सिंहदरबार वरपर व्यवस्थापनको काम गरिरहेका छौं।’
उनले अन्य दिन ट्राफिक तथा अन्य समस्याका कारणले तार व्यवस्थापन कार्य गर्न समस्या हुने गरेको बताउँदै शनिबार र अन्य बिदाको दिन सो काम तीव्रताका साथ गरिरहेको बताए।
अव्यवस्थित तार हटाउने काम आइस्पानसँगै नेपाल दूरसञ्चार प्राधिकरण, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय (काठमाडौं उपत्यका), नेपाल विद्युत प्राधिकरणलगायतको सहकार्यमा शनिबारबाट सञ्चालन गरिरहेको र यो कार्यलाई निरन्तर अगाडि बढाउने बताए।
अव्यवस्थित तारलाई व्यवस्थित गर्ने काम पुतलीसडकदेखि रामशाह पथ हुँदै अगाडि बढाइने उनको भनाइ छ। अव्यवस्थित तार व्यवस्थापन गर्ने काम इन्टरनेट सेवा अबरुद्ध नहुने गरी गरिने पनि उनले स्पष्ट पारे। उनका अनुसार सिंहदरबार आसपासका क्षेत्रमा व्यवस्थापनको काम सकिएपछि अन्य क्षेत्रमा पनि निरन्तर व्यवस्थापन कार्य अगाडि बढाइने छ।
विद्युत प्राधिकरणले केही साता अघि इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकले केबल जडान गर्दा, पोलमा केबल टाङ्दा आफूले टाङ्ने केबल र विद्युतीय लाइनबीचको दूरी मापन गर्नुपर्ने, दोस्रो फाइबर केबल र जमिनबीचको दूरी मापन गर्नुपर्ने, ४०० भोल्ट लाइन अर्थात् नाङ्गो तार भएको विद्युतीय पोलमा फाइबर केबल र तारबीचको दूरी ८० सेन्टिमिटर राख्नुपर्ने, ४०० भोल्ट लाइन (इन्सुलेटेड तार) भएको पोलमा फाइबर र तार बीचको दूरी ३० सेन्टिमिटर हुनुपर्ने र ११ केभि देखी ३३ केभि लाइन भएको पोलमा केबल र लाइन बीचको दूरी २.० मिटर हुनुपर्ने मापदण्ड तोकेको थियो।
त्यस्तै प्राधिकरणले पोलमा राउटर, रिपिटर, फाइबर वितरण बक्स जस्ता उपकरण राख्दा पोलको एकै साइडमा क्रमसँगै मिलाएर नझर्ने र नहल्लिने गरी राख्नुपर्ने, सेवा प्रदायकले आफ्नो केबल पहिचानमा सहजताका लागि अप्टिकल फाइबरमा ट्याग लगाउनुपर्ने, फाइबर विस्तार गर्दा धरै कोर भएको फाइबर विस्तार गर्न र प्रयोगमा नभएका अप्टिकल फाइबर तथा उपकरण तत्कालै हटाउनुपर्ने मापदण्ड तोक्दै ४५ दिने अल्टिमेटम दिएको थियो ।