काठमाडौं। अर्थशास्त्री डा. स्वर्णिम वाग्ले आफैं उम्मेदवार बन्न टिकट आकांक्षी थिए। नेपाली कांग्रेसभित्र र बाहिरबाट पनि वाग्लेलाई टिकट दिन नेतृत्वमाथि चर्को दबाब थियो। तर, त्यो दबाबको कुनै अर्थ रहेन। अन्ततः वाग्लेलाई आन्तरिक राजनीतिक दाउपेच र जोडघटाउका कारण टिकटबाट वञ्चित गरियो।
उनी चितवन, गोरखा र काठमाडौंमध्ये जुन ठाउँबाट टिकट पाए पनि चुनाव जित्ने ‘आत्मविश्वास’ साथ अघि बढेका थिए। वाग्लेको लोकप्रियता हेर्दा उनी जुन क्षेत्रबाट चुनावी मैदानमा उत्रिए पनि जित्न गाह्रो थिएन।
कांग्रेसको संकल्पपत्र लेख्ने मस्यौदा समितिका संयोजक नै बनेर योगदान गरेका वाग्ले टिकट नपाएपछि अहिले कांग्रेसको ‘स्टार इलेक्सन क्याम्पेनर’ का रूपमा उदाएका छन्। सार्वजनिक भाषणमा प्रखर कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आफ्नै क्षेत्रमा थन्किएपछि वाग्ले देश दौडाहामा छन्।
अर्थ र राजनीति राम्रोसँग बुझेका वाग्लेलाई आफ्नो क्षेत्रमा चुनावी भाषण गरिदिन आग्रह गर्नेको लर्को छ। जुन ठाउँमा वाग्ले भाषण गर्न पुगेका छन्, त्यहाँ उनको ‘क्रेज’ उच्च छ।
कात्तिक १० गते काठमाडौं-५ मा प्रदिप पौडेल नेतृत्वका उम्मेदवारसँग जनतामाझ भएको साक्षात्कार कार्यक्रममा उम्मेदवारभन्दा वाग्लेसँग सेल्फी खिच्नेको भीड थियो। त्यसैगरी काठमाठौं-४ मा उनले ‘गगन थापा देशको प्रधानमन्त्री बन्नुपर्ने’ भनेर गरेको भाषणले नेपालभरि गगनप्रतिको विश्वास थप उँचो भएको छ।
टिकट नपाएपछि राजनीतिबाट बाहिरिन्छन् कि भन्ने आँकलनलाई उनले मिथ्या साबितमात्रै पारिदिएनन्, प्रमुख चुनाव प्रचारकका रूपमा आफूलाई उभ्याएका छन्। वाग्लेसँगै अर्थराजनीतिलाई एकदमै नजिकबाट बुझेका प्रा.डा. गोविन्दराज पोखरेल पनि कांग्रेसको चुनावी आमसभामा छन्।
जनतालाई आफ्नो पक्षमा ध्यान केन्द्रित गराएर आफ्ना कुरा राख्न सक्ने नेता हुन् गगन र विश्वप्रकाश। अहिले दुवैजना आफू कसरी चुनाव जित्ने भन्नेमा मात्रै छन्। उनीहरूलाई देशभरिबाट भाषण गर्न आउन आग्रह भए पनि उनीहरू जान सक्ने अवस्थामा भने छैनन्। गगन र विश्वप्रकाशजस्तै सबैभन्दा बढी माग वाग्लेकै छ। उनीहरू तीनैजनामा एकअर्काका परिपूरक बन्ने खालको आफ्नै मौलिक शैली पनि देखिन थालेको छ।
वाग्लेलाई दुर्गम जिल्लाका विकट ठाउँमा बसोबास गर्ने सर्वसाधारणले समेत चिन्छन्। गाउँ-गाउँमा भर्खरमात्रै इन्टरनेट पहुँच पुगेको र युट्युबमा आएका वाग्लेका विचारलाई धेरैले सुनेर प्रभावित भएको पाइन्छ। यसलाई सायदै कसैले नकार्लान्।
देशको अर्थतन्त्र, विकास र राजनीतिमाथि गहिरो ज्ञान राख्ने वाग्ले अहिले कांग्रेसका प्रमुख वक्ताका रूपमा उदाएका छन्। उनले काठमाडौंदेखि पूर्व झापा र पश्चिम बर्दियासम्मका चुनावीसभालाई सम्बोधन गरिसकेका छन्।
पार्टीले टिकट नदिएपछि वाग्ले र पोखरेललाई स्वतन्त्र उठ्न चौतर्फी दबाब थियो। तर, स्वतन्त्र उठेर जित हासिल गरे पनि आर्थिक समृद्धिको सपना साकार पार्न सम्भव थिएन। वाग्लेले आर्थिक तथा राजनीतिक रूपान्तरण खोजेका छन्। स्वतन्त्र उठेर अनि जितेर संसद गई कुनै पनि उपलब्धी हुने वाग्लेले देखेनन्।
इतिहास बोकेका दुई पार्टीमा सुधार नभई रूपान्तरण असम्भव भएको वाग्लेको बुझाइ छ। उनका हरेक सार्वजनिक कार्यक्रममा व्यक्त भएका भाषणमा त्यही झल्किन्छ।
पार्टीको आन्तरिक महाधिवेशन प्रभाव एवं हार्ने समूहतिर वाग्ले र पोखरेलको संग्लनता भएपछि जित्ने समूहले चुनावमा उनीहरूलाई टिकट दिएन।
तर, टिकट नपाए पनि चुनावीसभामा वाग्ले र पोखरेलले पार्टीभित्रको बेथितिसँगै समृद्धिको सपना पूरा गर्ने संकल्प बाँडिरहेका छन्।
अहिलेको बेथिति अन्त्य नगरी मुलुक आर्थिक र राजनीतिकरूपमा सुध्रिँदैन भन्ने वाग्लेको प्रष्ट विचार छ। त्यही भएर कांग्रेसभित्रका राम्रा उम्मेदवार जिताउन वाग्ले देश दौडाहामा छन्।
‘वाग्लेले रूपान्तरण चाहेका हुन्। रूपान्तरण गर्न आफू संसद नपुगे पनि गगन, विश्वप्रकाशहरू पुगेर केही गर्न सके भने त्यहाँबाट पनि वाग्लेले चाहेको रूपान्तरण हासिल गर्न सकिने बुझाइ उनमा देखिन्छ,’ कांग्रेसका एक प्रभावशाली नेताले क्यापिटल नेपालसँग भने, ‘त्यही हिसाबबाट वाग्लेसहित पोखरेल पार्टीलाई सहयोग गरेर अघि बढेका छन्।’
वाग्ले यसरी देश चहार्दा समानुपातिकमा भोट बढ्ने अनुमान गरिएको छ। कांग्रेस के हो? किन आवश्यक छ? भन्ने प्रष्ट्याइसहित चुनावी आमसभामा सम्बोधन भइरहेको छ। त्यसको नेतृत्व वाग्लेले गरिरहेका छन्।
यद्यपि, वाग्लेले चुनावी आमसभामा आफ्ना हरेक नेतालाई महाभारतका कृष्ण हुन् भनेर भनेका पनि छैनन्। पार्टीले टिकट वितरणमा गरेको पैसाको खेल, बेथिति, व्यापकरूपमा भएका ठूला भ्रष्टाचारलगायत घटनाका यथार्थ चित्र बाहिर लगेर पनि वाग्लेको गाम्भीर्य र विश्वसनियताले उचाइ लिएको हो।
आमसभामा सहभागीबीच ‘भोट रुखमै हालौं, रुखभित्र उभिएका राम्रा मान्छेलाई जिताएर पठाऔं’ भन्दै वाग्लेले आममतदातालाई आग्रह गरिरहेका छन्।
वाग्लेले हरेक सभामा बौद्धिक तथा वस्तुपरक भाषण गर्छन्। त्यही भाषणका कारण उनी बढी आकर्षणको केन्द्रमा परेका हुन्। वाग्लेको बौद्धिक भाषणलाई पोखरेलले सरलरूपमा बुझाइदिने भएकाले मञ्चमा दुवै ‘पपुलर’ छन्।
गगन र विश्वप्रकाशसँग वाग्ले र पोखरेलको तुलना
नेपाली कांग्रेसका नेता गगन थापा लोकप्रिय नेताका रूपमा परिचित छन्। थापापछि बढी परिचित विश्वप्रकाश हुन्। यी दुई नेतासँगै आममानिसले वाग्लेलाई अहिले रुचाएका छन्। उनीप्रति गोरखाको गाउँमा जन्मेर पनि उल्लेख्य अन्तर्राष्ट्रिय छवि स्थापित गराउन सकेकोमा युवाको विशेष आकर्षण छ। अहिले जनताले वाग्लेलाई गगन र पोखरेललाई विश्वप्रकाशको परिपूरकका रूपमा हेर्नसमेत थालेका छन्।
विश्वप्रकाशको लय र बोलाई राम्रो छ। गगनको ‘कन्टेन्ट’ राम्रो छ। अहिले स्वर्णिमले कन्टेन्टमा बढी बोल्छन् भने पोखरेलको लय उत्कृष्ट छ। पोखरेल वाग्लेले प्रस्तुत गरेका विश्लेषण, तर्क, तथ्य र तथ्यांकलाई जनजिब्रोमा झुन्डिने गरी पस्किन्छन्।
युवालाई आसा जगाउने र कसैलाई गालीगलोज नगरी जनतालाई आकर्षित गर्ने वाग्ले र पोखरेलको खुबी देखिन्छ। देश, सरकार, पार्टीभित्र भएका बेथिति जनतासामु सत्य र तथ्यसहित पनि भनिदिने गरेका कारण उनीहरू दुवैलाई आमसर्वसाधारणले रुचाएको पाइन्छ।
वाग्ले र पोखरेलले झापा, मोरङ, काठमाडौं, कास्की, बर्दिया, चितवनलगायतमा चुनावी सम्बोधन गरिसकेका छन्। मकवानपुर, नुवाकोट, भक्तपुर, कञ्चनपुर, दाङलगायत देशभरिबाट वाग्लेको माग भइरहेको छ भने काठमाडौं–४ र ५ मा उनले पटक–पटक कार्यक्रम गरिसकेका छन्।