काठमाडौं। चौधरी ग्रुपअन्तर्गत सिजी एग्रोले नेपालमा 'नानो युरिया' मलको बिक्री सुरू गरेको छ। सिजी एग्राेले आइतबार राजधानीमा कार्यक्रम आयाेजना गरेर युरिया मलको बिक्री सुरू गरेकाे जानकारी दिएको हो।
एग्रोले बिक्री सुरू गरेको मल भातरको इन्डियन फार्मर फर्टीलाईजर कोअपरेटीभ लिमिटेड (सीजी–आईएफएफसीओ) ले उत्पादन गरेको युरिया मल हो। तरल रूपमा रहेको यो युरिया अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटविरूवामा छर्कन मिल्छ।
नानो युरिया मल तरल परम्परागत रसायनिक युरियाको तुलनामा आधाले माग घटाउने दाबी गरिएकाे छ। युरिया एक लिटर सफा पानीमा दुईदेखि चार मिलिलिटर नानो झोल मिसाएर बालीको पातमा छर्कन सकिन्छ। बालीनाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फूल्ने एक हप्ता अघि दुई पटक छर्कनुपर्ने उत्पादकले जनाएको छ। सामान्यतया ५०० मि.लि. नानो युरियाले एक हेकड क्षेत्रमा स्प्रेयर, ड्रोन, पावर स्प्रेयर आदिमार्फत स्प्रेयर गर्न प्रयाप्त हुने बताइएको छ।
मल सार्वजनिक कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालका विभिन्न ठाउँमा समयसमयमा मलको अभाव व्यापक रूपमा हुने गरेको बताउँदै नानो युरियाले मल अभावको समस्या समाधान गर्ने बताए। ‘नेपालमा मलको समस्या लामो समयदेखिको हाे,’ प्रबन्ध निर्देशक चौधरीले भने ‘नानाे युरिया मलले कृषकको मलको समस्या निराकरण गर्ने भन्नेमा म विश्वस्त छु।’ उनले बजार तथा पसलमा यसलाई समयमै पुरानतर्फ आफूहरू लाग्नुपर्ने जाेड दिए।
त्यस्तै भारतका पूर्व केन्द्रीय रेलमन्त्री शुरेष प्रभुले भारत तथा नेपालमा अधिकांश मानिसहरू कृषि पेसामा आबद्ध रहेको बताउँदै सिजी एग्रोले मल उपलब्ध गराएर किसानलाई महत्वपूर्ण योगदान गरेको बताए। उत्पादकका अनुसार नानोले माटोमा कुनै पनि प्रकारको नकरात्मक असर नगर्ने र बिरूवाको वृद्धि र विकासका लागि पोषक तत्व नाइट्रोजन प्रदान गर्नेछ ।