विशेष आर्थिक क्षेत्र बनाएर सफल रुपमा सञ्चालन गरेको चीनलाई नेपालले पनि काभ्रेपलाञ्चोक जिल्लामा विशेष आर्थिक क्षेत्र निर्माणका लागि प्रस्ताव गर्ने भएको छ ।
सरकारले २०७१ सालमा पनि चीन सरकारलाई पाँचखालमा सेज बनाइदिन प्रस्ताव गरेको थियो । चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमणमा आउन लागेको बेला पुन उक्त प्रस्ताव गर्न लागेको हो ।
५ वर्ष अघि नेपालले चीनलाई सेज बनाइदिन प्रस्ताव गरेपछि चिनियाँ लगानीकर्ताले बनाउनका लागि चासो दिएका थिए । तर, यो बीचमा सरकारले ‘फलो’ नगर्दा पाँचखाल बन्ने सेजले गति लिन सकेको थिएन । अहिले सी भ्रमणका आउन लागेको बेला उक्त प्रस्ताव गर्न लागिएको हो ।
पाँचखालको सेजका लागि लगभग ५० हेक्टर (एक हजार रोपनी) जमिन छुट्याइसकिएको छ । उक्त क्षेत्रमा प्रारम्भिक अध्ययनको काम पनि सकिसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम पनि सकिसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को केही काम भए पनि टुंगोमा पुगेको छैन ।
पाँचखालमा उद्योग स्थापना गरी चीनतर्फ सामग्रीहरु निर्यात गर्न नजिक हुने भएकाले पाँचखालमा चिनियाँ लगानीकर्ताको आकर्षण छ । सरकारले १४ स्थानमा सेज पूर्वाधार निर्माणको तयारी गरे पनि चिनियाँ लगानीकर्ताले भने तातोपानी नाकाबाट कच्चा पदार्थ आयात वा तयारी सामग्री निर्यात गर्न नजिकको दूरीमा पाँचखाल रहेकाले यसलाई रोजेका छन् । त्यही भएर सरकारले प्रस्ताव गर्न लागेको हो । आफ्नै लगानीकर्ताकै चासो भएकाले चीनले पूर्वाधार निर्माणको काममा सहयोग गरिदिने विषयमा मन्त्रालय उद्योग मन्त्रालय विश्वस्त रहेको देखिन्छ ।
मुलुकमा अहिलेसम्म भैरहवामा मात्रै एउटा सेज निर्माण भएको छ । यसबाहेक सिमरा, कपिलवस्तु, नेपालगन्ज, झापा, रौतहट, धनगढी, नुवाकोट, विराटनगर, जुम्ला, रौतहट, धनुषा र गोरखाको सेजका लागि प्रारम्भिक अध्ययनको काम मात्रै सकिएको छ । सरकारले भैरहवापछि दोस्रो प्रथमिकतामा पाँचखाल सेजलाई राखेको छ । यो क्षेत्रमा झन्डै ४० भन्दा बढी निर्यातमूलक उद्योग स्थापना गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।
मुलुकमा सेजको अवधारणा करिब १७ वर्षअघिबाट सुरु भएको हो । अन्य मुलुकको सेज अवधारणा अनुसार त्यसभित्रका मजदुर तथा कर्मचारीले बन्द हडताल गर्न पाउने छैनन् । भन्सार कार्यालयहरुले पूरा गर्नुपर्ने अधिकांश काम सेज क्षेत्रमै पूरा हुनेछ ।
सेजमा स्थापना हुने उद्योगले कम्तीमा ६० प्रतिशत उत्पादन अनिवार्य निर्यात गर्नुपर्छ । त्यस्ता उद्योग स्थापनाका लागि सरकारले सुरुमा सूचना आह्वान गरे पनि प्रक्रिया पूरा नगरे कुनै पनि उद्योगलाई स्थापनाको अनुमति नदिन पनि सक्छ ।
सेजमा स्थापित उद्योगले अरु कुनै उद्योगसँग करार गरी निकासीका लागि वस्तु उत्पादन गराई उत्पादित वस्तुमा प्रयोग हुने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ सामग्रीमा लागेको भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर निर्यात भएको परिमाणको आधारमा निकासीकर्ताले तोकिए बमोजिम फिर्ता पाउनेछ ।