काठमाडौं । यति बेला मुलुक चुनावी माहोलमा होमिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि विभिन्न राजनीतिक दलका नेताहरु अहिले चुनावी मैदानमा आआफ्नो एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् ।
चुनावी मैदानमा होमिनेमा नेता मात्र हैन, उद्यमी व्यवसायीहरु, इन्जिनियर, डाक्टरहरुसमेत लागेका छन् । अहिले राजनीतिक दलका नेताहरुलाई आआफ्ना एजेन्डाहरु लिएर लगिरहेका छन् । दोलखामा पनि पछिल्लो समय चुनावी माहोलले छोएको छ ।
तीनै मध्येका एक उम्मेदवार हुन् बालकृष्ण शिवाकोटी । उद्योगी व्यवसायीका रुपमा प्रतिष्ठित शिवाकोटी दोलखा जिल्लाबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । युवा उद्यमी शिवाकोटीको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । तर, उनी आफू यो अवस्थासम्म आइपुग्न धेरै समस्या र चुनौतीको सामना गर्नुपरेको बताउँछन् ।
उनका हजुरबुबा गणेशराज शिवाकोटीले दोलखाको सुनखानी गाउँमा इँटा र ह्याचरी उद्योग सञ्चालन गरेका थिए । सडक सञ्जालको पहुँच नपुगेको सुनखानीमा इँटा उद्योग सञ्चालन गर्ने काम चुनौतीपूर्ण थियो ।
चुनौतीलाई चिर्दै हजुरबुबाले थालेको इँटा उद्योगलाई अहिले उनले निरन्तरता दिएका छन् । उनको व्यावसायिक जीवन गाउँबाट सुरु भयो । तर, गाउँमै सीमित भने भएन । उनको व्यावसायिक काम काठमाडौंलगायत देशका विभिन्न जिल्लामा फैलिएका छन् ।
व्यावसायिक पृष्ठभूमिको परिवार भएका कारण उनलाई व्यवसाय सञ्चालन गर्न केही समस्या त भएन । तर, सञ्चालन भएका व्यवसायलाई निरन्तरता दिने काममा भने चुनौती थपिइरहे ।
२०२६ सालमा दोलखाको सुनखानीमा जन्मिएका शिवाकोटीले २४ वर्षको उमेरदेखि नै हजुरबुबा र बुबा विष्णुराज शिवाकोटीले थालेको व्यवसायलाई निरन्तरता दिएका हुन् । गाउँमा व्यवसाय गर्दै आएको शिवाकोटी परिवार गाउँमै सीमित हुन चाहन्नथ्यो ।
त्यसैले राजधानीमा गएर व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोचका साथ २०३८/३९ सालतिर बालकृणका बुबा विष्णुराजले नयाँ बानेश्वरमा काष्ठ व्यवसाय थाले । गाउँमा लामो समय प्रधानपञ्च भएका उनका विष्णुराजले राजनीतिसँगै व्यवसायलाई पनि अघि बढाएका थिए । त्यतिबेला विष्णुराजले काठमाडौंमा केही आफन्तसँग मिलेर व्यवसाय सञ्चालन गरेका थिए ।
युवा उद्यमी बालकृष्णले पनि अहिले धेरैजसो उद्योग पार्टरसिपमै सञ्चालन गरिरहेका छन् । जुनसुकै कामलाई विश्वासका साथ अगाडि बढाउन सकियो भने सबै काममा सफलता मिल्छ भन्ने उनको विश्वास छ । बुबाको कामलाई निरन्तरता दिन गाउँबाट सहर छिरेका शिवाकोटीलाई काठमाडौंमा आएर व्यवसाय सञ्चालन गर्न कम्ती चुनौतीपूर्ण थिएन । तर, ती चुनौती चिर्दै उनले सफलता हात पारिछाडे ।
सुरु–सुरुमा काठमाडौंमा व्यवसाय सञ्चालनका लागि राम्रो ठाउँसमेत पाउन उनलाई मुस्किल पर्यो । त्यसमाथि ठूला व्यवसायीसँग प्रतिस्पर्धा गरेर व्यववसाय गर्न समस्या पनि पर्यो । तर उनले हिम्मत हारेनन् । अघि बढिरहे । सफल हुँदै पनि गए । शिवाकोटीले अहिले होटलदेखि केबलकार सेवालगायत व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
साना तथा मझौला उद्योगीहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋण दिनसमेत आनाकानी गरेको अनुभव शिवाकोटीको छ । व्यवसाय सञ्चालन सुरु गर्दा कुनै पनि बैंकले ऋण नदिँदा ठुल्ठूला समस्या बेहोर्नुपरेको तीतो यथार्थ उनीसामु छ ।
आफूले जस्तै अरू व्यवसायीलाई ऋण लिन गाह्रो नपरोस् भनेर शिवाकोटीले दोलखामा केन्द्रीय कार्यालय रहने गरी कालिञ्चोक डेभलपमेन्ट बैंक सञ्चालनमा ल्याए । शिवाकोटी अध्यक्ष रहेको बैंकले छोटो समयमै जिल्लाका विभिन्न बजारमा शाखा विस्तार गरेको थियो । बैैंकको रामेछाप र सिन्धुलीमा समेत शाखा स्थापना भए । सोही बैंकबाट अहिले ऋण लिएर धेरै युवा व्यवसायमा जम्दै छन् ।
राष्ट्र बैंकको निर्देशनपछि अरनिको डेभलपमेन्ट बैंकसँग मर्ज भएको उक्त बैंक अन्ततः मेगा बैंकसँग गाभिएको छ । हाल उनै शिवाकोटी मेगा बैंकको सञ्चालक समिति सदस्यसमेत बनेका थिए । उद्योगीहरुको नेतृत्व गर्दै लगानी बोर्डको सदस्यमा पनि उनी नियुक्त भएका थिए ।
मिनी क्याबिनेटका रुपमा लिइने लगानी बोर्डमा उनी दोस्रोपटक नियुक्त भएका थिए। आफ्नो मिहिनेत र लगनशीलता देखेर नै सरकारले दोस्रो पटक पनि लगानी बोर्डको सदस्यमा नियुक्त गरेको उनको दाबी छ। राजनीतिक रुपमा जुन पार्टीमा आस्था राखे पनि गृहजिल्ला दोलखाको विकासका लागि सधैं लागिरहने शिवाकोटीको प्रतिबद्धता छ ।
पर्यटनमार्फत नेपालको आर्थिक समृद्धि सम्भव छ भन्ने लागेरै उनले दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्य कालिञ्चोकमा केबलकार सञ्चालनमा ल्याएका छन् ।
पर्यटन क्षेत्रमा सम्भावना रहँदारहँदै पनि उचित पूर्वाधार नभएकै कारण नेपालका धेरै पर्यटकीय स्थल ओझेलमा परेको उनको बुझाइ छ । सरकारले निजीक्षेत्रलाई पर्यटकीय स्थलहरुमा पूर्वधार निर्माणका लागि वातावरण बनाइदिए लगानीको समस्या नरहेको उनले बताए ।
कालिञ्चोकमा केबलकार सञ्चालनका लागि धेरै कम्पनीले सर्भे गर्दैै छाड्दै गरे पनि आफूले भने त्यो काम फत्ते गरेकोमा उनलाई गर्व छ । केबलकारसँगै दोलखामा स्टार होटल सञ्चालन गर्ने उनको तयारी छ ।
अरू ठाउँमा पनि केबलकार सञ्चालन गर्न उनले सरकारसँग अनुमति मागेका छन । तर, अनुमति नपाएका कारण ती कामले मूर्तरूप लिन सकेका छैनन् । तर, पनि बालकृष्णले आशा मारेका छैनन् ।