काठमाडाैं । नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले कलंकी स्थित् ढुंगे अड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ।
हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरि नेपालमै पहिलो पटक यस किसिमको लाउञ्ज निर्माण गरिएको हो ।
यात्रुहरूलाई आफू जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले बससेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो । लाउञ्जको शुक्रबार चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।
लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएको छ । लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन् । लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलोपटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए । यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठूलो भूमिका हुने बताए ।
यसैगरी चन्द्रागिरि नगरपालिका- १५ का वडाध्यक्ष घनश्याम लुइँटेलले यात्रुलाई सहज हुने किसिमका लाउञ्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए । यस्तै बससेवा डटकमका सिइओ पिआर खनालले सुरूदेखि नै आम यात्रुहरूलाई सहज हुने खालका सेवा प्रदान गर्दै आएको बताए ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध छन् ।