काठमाडौं । सेयर बजारमा जलविद्युत कम्पनीको हिस्सा बढ्दै गइरहेको छ । जलविद्युतको हिस्सा बढेर ११.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सेयर बजारमा हिस्सा ९.६ प्रतिशत थियो। एक वर्षमा जलविद्युतको हिस्सा १.५ प्रतिशतले बढेको छ।
जलविद्युतको हिसा बढेसँगै बैंक तथा वित्तीय र बिमा कम्पनीको बजार हिस्सामा भने गिरावट आएको देखिन्छ। २०७९ भदौसम्म बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको बजार हिस्सा ६७.६ प्रतिशत छ। अघिल्लो वर्ष बैंक तथा वित्तीय र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरण ६९.१ प्रतिशत थियो।
अघिल्लो वर्षको तुलनामा बैंक तथा वित्तीय र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरण हिस्सा १.५ प्रतिशतले घटेको देखिन्छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्विविसन नीति लिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि नयाँ अनुमतिपत्र (लाइसेन्स) बन्द गरेको छ। अहिले बैंकहरु धमाधम पार्टनर खोज्दै मर्जमा गइरहेका छन ।
यस्तै नेपाल बिमा प्राधिकरणले पनि २०७८ चैतभित्र मर्जमा जान जीवन तथा निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ। अहिले बिमा कम्पनीहरू धमाधम मर्ज तथा प्राप्ति प्रक्रियामा सहभागी भइरहेका छन्।जलविद्युत उत्पादकमूलक क्षेत्र भएकाले यस्को धितोपत्र बजार हिस्सा बढ्नु राम्रो भएको जानकारहरूको भनाइ छ।
नेपालमा जलविद्युत कम्पनीको संख्या थपिँदै जाँदा सर्वसाधारणको लगानी बढ्दै गइरहेको छ। जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्थाका कारण कम्पनीहरूले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिरहेका छन ।
हाल करिब २१ जलविद्युत कम्पनी आइपिओ निष्कासनको अनुमति कुरिरहेका छन ।साथै, पिपुल्स हाइड्रोपावर र बाराही हाइड्रोपावरले आइपिओ निष्कासनको अनुमति पाइसकेका छन ।
२१ हाइड्रो कम्पनीलाई बोर्ड अनुमति दिएसँगै यी कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि सेयर जारी गर्नेछन ।
कम्पनीहरूले सेयर जारी गरिसकेपछि धितोपत्र बजारमा जलविद्युत कम्पनीको पुनः हिस्सा बढ्नेछ। चालू आर्थिक वर्ष ०७९०८० को भदौ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रूपैयाँमा झरेको छ। अघिल्लो वर्ष यसै अवधिमा धितोपत्र बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रूपैयाँको थियो।
गत वर्षको तुलनामा बजार पुँजीकरण ९.७३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कोरोना महामारीका त्रासका कारण अन्य क्षेत्रमा लगानी गर्न जोखिम हुँदा सबै क्षेत्रका लगानीकर्ता सेयरबजार देखिदा बजार बढ्न गई बजार कुल पुँजीकरण बढेको सेयर बजार विज्ञ बताउँछन्। २०७८ भदौ मसान्तमा २८१२.३ रहेको नेप्से सूचकाँक २०७९ भदौ मसान्तमा १९१०.४ कायम भएको छ ।
गत वर्षको भदौमा नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक २८ सय बिन्दु माथि हुँदा बजार पुँजीकरण पनि ३९ खर्ब ३५ अर्ब रूपैयाँ पुगेको थियो। गत वर्ष तुलनामा यो वर्ष नेप्से परिसूचक ९०२ बिन्दुको गिरावट आएको छ।
गत वर्षको तुलनामा यो वर्ष नेप्से परिसूचक ९.२ प्रतिशत विन्दुले घट्दा बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ।
२०७९ भदौमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३९ पुगेको छ। गत वर्ष यसै अवधिमा सूचीकृत कम्पनीको संख्या २२० कम्पनी थिए।
सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन्। ५७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्।
सूचीकृत कम्पनीहरूमध्ये जलविद्युत कम्पनीको हिस्सा ११.१ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत छ।
चालू आर्थिक वर्ष ०७९८० को दुई महिनामा ३५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र २३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ८ अर्ब ३१ करोड बराबरको बोनस सेयर, ५ अर्ब ३९ करोड बराबरको साधारण सेयर, ३ अर्ब २७ करोड बराबरको म्युचुअल फन्ड र १ अर्ब २१ करोड बराबरको हकप्रद सेयर गरी कुल ७६ अर्ब ६२ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब २४ करोड बराबरको डिबेन्चर, ३ अर्ब १५ करोड बराबरको म्युचुअल फन्ड, ९५ करोड बराबरको हकप्रद सेयर र १८ करोड बराबरको साधारण सेयर गरी कुल ८ अर्ब ५२ करोड रूपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।
यो वर्षमा १० कम्पनीले आइपिओ निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन । यो वर्ष घोराही सिमेन्ट र सर्वोत्तम सिमेन्टले प्रिमियमा आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो।
त्यस्तै, सगरमाथा जलविद्युत, डोल्टी पावर, नेपाल रिपब्लिका मिडिया, माई खोला, अपर लोहर खोला, मेन्चियम हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल, रिलायन्स स्पेनिङ मिल्स, चिख्वा हाइड्रोपावर र मोदी इनर्जीले आइपिओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन्।
बोर्डले यो वर्षको असोज मसान्तसम्म ५ कम्पनीलाई ४ अर्ब २१ करोड रूपैयाँको आइपिओ निष्कासनको लागि अनुमति दिएको छ। बोर्डले साउन ९ गते इस्टर्न हाइड्रोपावर, साउन १० गते खप्तड लघुवित्त, १८ गते श्रीजनशिल लघुवित्त, भदौ २१ गते पिपुल्स पावर र असोज २३ गते र बाराही हाइड्रोपावरले अनुमति पाएका छन ।
चार कम्पनीले आइपिओ जारी गरिसकेका छन । त्यस्तै पिपुल्सले कात्तिक २५ गतेबाट सर्वसाधारण लगानीकर्ताको लागि आइपिओ खुल्ला गरेको छ। बाराही हाइड्रोपावरले आयोजान क्षेत्रका वासिन्दाको लागि आइपिओ निष्कासन खुल्ला गरेको छ ।