चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणका बेला नेपालले रेल, प्रशारणलाईन र सुरुङमार्गलाई उच्च प्रथामिकता दिने भएको छ । नेपालका राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा यही यही असोज २५ नेपाल आउन लागेका चिनियाँसमकक्षीसँग सरकारले पूर्वाधारलाई मुख्य एजेन्डा बनाएको छ ।
सरकारले सडक पूर्वाधार, रेल पूर्वाधार र प्रशारणलाईनलाई मुख्य प्रथामिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा उनले पूर्वाधारको क्षेत्रलाई उच्च प्रथामिकता राखेको बताएका हुन् ।
चीनसँग सडक र पूर्वाधार निर्माणका विषयमा मुख्य छलफल हुने जनाउँदै प्रधानमन्त्री ओलीले किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषयमा चीनसँग वार्ता हुने बुझिएको छ । सन १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको भ्रमणपछि २३ वर्ष अन्तरमा हुन लागेको राष्ट्रपति सीको भ्रमणलाई ‘आपसी विश्वास र आत्मीयताको कडी’ का रुपमा लिइएको छ ।
राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गबारे नयाँ घोषणा हुन सक्छ । सम्भवतः चिनियाँ लगानीमा रेलमार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तयारी छ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पनि चीनले नै गरेको थियो, जसले रेलमार्ग निर्माण गर्न सकिने तर जटिल भौगोलिक क्षेत्र रहेकाले निकै कठिन रहेको देखाएको छ ।
काठमाडौं–केरुङ रेलमार्गबारे लगानीको मोडालिटीबारे सहमति जुट्न सकेको छैन । सडक सञ्जाल अन्र्तगत अरनिको राजमार्गको स्तरोन्नती र रसुवागढी–छहरे–काठमाडौं टनेल एजेण्डामा छन् । नेपाललाई चीनसँग जोड्ने अरनिको राजमार्ग भूकम्प ०७२ ले क्षतिग्रस्त भएको थियो । यसलाई दुई लेनमा स्तरोन्नती गर्ने सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।
रसुवागढी–छहरे–काठमाडौं टनेलको भने प्रारम्भिक अध्ययन भइसकेको छ । निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । यो सडक बनेमा काठमाडौंबाट चिनियाँ सीमा क्षेत्र केरुङ एक घन्टा आसपासको दुरीमा समेटिने छ ।