भोजमा अचाक्ली मिठो कुरा पाइयो भनेर अजीर्ण हुने गरी खाइयो भने त्यसको केही समयपछि औषधी सेवन गर्नुपर्ने हुन्छ। केही दिन खाना पनि खान सकिन्न किनभने स्वास्थ्यले दिँदैन। अहिले हामी अजीर्ण भएर औषधी खाने अवस्थामा पुगेका छौं।
ज्यादै लामो समयसम्म सस्तो ब्याजदरमा कर्जा पाइयो। मानिसले ७ प्रतिशत ब्याजमा ऋण लिएर गाडी किन्थे। ६ प्रतिशत ब्याजमा ऋण लिएर घर किन्थे। सस्तो ब्याजमै कर्जा पाउन थालेपछि व्यसायीले बढी फाइदा हुने व्यवसाय खोजेनन्। कर्जा महँगो भयो भनेमात्रै व्यवसायीले २० प्रतिशत नाफा हुने क्षेत्र खोज्न थाल्छ।
ब्याजदर ज्यादै कम छ भने उद्योगी–व्यवसायी कर्जा लिएर बैंकक घुम्न जान्छन। व्यवसायी अधिविकर्ष कर्जा लिएर दुबई घुम्न गए। छोराछोरीको बिहे पनि विदेशमै गरे। व्यवसायीले चालू पुँजी कर्जा लिएर इजिप्ट भ्रमण वा अफ्रिकन सफारीमा गएका कैयौं उदाहरण छन्।
६ प्रतिशत ब्याजमा ऋण पाइयो भनेर त्यो पैसा लिएर व्यवसायी विदेश भ्रमणमा निस्किए। लगानी गरेर दुःख पाउनुभन्दा घुम्न जाने इच्छा राख्छन्। सस्तो ब्याजदरको उपयोग अनुत्पादक क्षेत्रमा भयो भन्ने कुरा तथ्यांकबाट पुष्टि हुन्छ। अर्थतन्त्रको ८० देखि ८२ प्रतिशत निजी क्षेत्रको कर्जा थियो।
कोरोना कालखण्डपछि बढेर १ सय २० प्रतिशतसम्म पुगेको छ। कूल गार्हस्थ उत्पादन (जिडिपी) को ४० प्रतिशत कर्जा तीन वर्षको बीचमा प्रवाह भएको रहेछ। बैंकबाट गएको कर्जा उत्पादनशील क्षेत्रमा प्रयोग नभएको तथ्य आर्थिक वृद्धि नहुनुले पुष्टि गरेको छ।
आयात बढ्यो, डलर सञ्चिति घट्यो। सामान यहीँ मगाएर खर्च गरे वा बाहिर गएर खर्च गर्दा डलर सञ्चिति घट्यो। एकातिर अस्वाभाविक बिलासी वस्तुको आयात बढ्यो भने अर्कातिर, नेपालीहरू विदेश घुम्न निस्किए। नेपालमा आएर पर्यटकले खर्च गर्ने रकमभन्दा नेपालीहरूले बाहिर खर्च गर्ने रकम बढी छ। शिक्षा र घुम्नका लागि ७० अर्ब रुपैयाँहाराहारी बाहिर गएको छ। जबकि, पर्यटकले गरेको खर्च ३६ अर्ब रुपैयाँ पनि पुग्दैन।
कोरोना कालखण्डभन्दा अघि बाहिरबाट आएर पर्यटकले खर्च गर्ने रकम ७० देखि ७२ अर्ब रुपैयाँसम्म पुगेको थियो। यो किन भयो? यसको कारण हो सस्तो कर्जा। ब्याजदर कम भएपछि मान्छेले कर्जा लिएर बैंकबाट डलर साटेर बाहिर खर्च गर्न थाले। त्यसपछि त्यो नेपाली मुद्रा राष्ट्र बैंकमा फर्कियो।
तरलता संकुचन नेपाली मुद्रा राष्ट्र बैंकमा फर्किएकाले भएको हो। डलर किन्ने मान्छेले नेपाली मुद्रा राष्ट्र बैंकमा पु¥याए। अर्थतन्त्रलाई दुष्चक्रमा पु¥याउने काम सस्तो ब्याजदरमा कर्जा लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्नेहरूबाट भयो। केन्द्रीय बैंकको नीतिले अर्थतन्त्रलाई दुष्चक्रमा पु¥याएको भने होइन। हो, ज्यादै लामो समयसम्म राहत दिने प्रयत्न गर्दा पनि समस्या आएको हो।
राष्ट्र बैंकले कोरोनाबाट प्रभावित नभएकालाई पनि प्रभावित भएका हुन् कि भन्ने मानेर सोलोडोलो राहत दिँदा समस्या उत्पन्न भयो। कोरोना कालखण्डमा अनलाइन व्यवसाय फस्टाएको थियो। होम डेलिभरी व्यवसाय फस्टाएको थियो। आन्तरिक उत्पादन गर्ने उद्योग राम्रोसँग फस्टाएका थिए किनभने बाहिरबाट सामान आउँदैन थियो। उद्योगले उत्पादन भएकै छैन भन्थे, त्यो सत्य थिएन। उनीहरूले ल्याएको कच्चा पदार्थको मौज्दात सकिएर नयाँ मगाइरहेका थिए। त्यसले पनि नेपालको आयात बढेको हो।
बैंकका सबै कुरा औपचारिक रिपोर्टिङ हुन्छ। उद्योगको उत्पादन र खपतको रिपोर्टिङ हुँदैन। बैंकहरू पारदर्शी छन्। लुकाउन पनि सम्भव छैन। बिक्री छैन भने तर खपत भएको देखियो। सस्तो कर्जाले हामीलाई यो समस्यामा पु¥यायो। त्यसको उपचार भनेको केही समयसम्म महँगो कर्जा हो। महँगो कर्जाबाट स्थिति सामान्य भएपछि तरलता वृद्धि हुन्छ।
तरलता वृद्धि भएपछि ब्याजदर स्वतः घटछ। तरलता वृद्धिका लागि उपभोग गर्न होइन, बचत गर्न उत्प्रेरित गर्न आवश्यक छ। बचत गर्न थाल्ने बित्तिकै आयात कम हुन्छ। आयात कम हुने बित्तिकै डलर सञ्चिति बढ्छ। डलर सञ्चिति बढ्ने बित्तिकै केन्द्रीय बैंकसँग मुद्रा प्रदाय गर्ने क्षमतामा वृद्धि हुन्छ।
अर्थतन्त्रलाई असल चक्रमा लैजान केही समय औषधी सेवन गरेर बस्नैपर्छ। अहिले औषधी सेवन गर्दिनँ भनेर केटाकेटीले जिद्धी गरेजस्तो गर्नु हुँदैन। म औषधी खाँदिन भन्यो भने त्यसको परिणाम अर्कै हुन्छ। अहिले आन्दोलन गर्नु भनेको उहाँहरूको व्यक्तिगत पीडा हो।
ऋण लिएर तिर्दिन, आन्दोलन गरेर तिर्नुपर्दैन भन्ने व्यक्तिहरू हाबी भएका कारण नेपाल उद्योग वाणिज्य महासंघको नेतत्व पनि निरीह भएको छ। नेतृत्वले यो कुरा नबुझेको होइन। उहाँहरू धेरै पढेबुझेका हुनुहुन्छ। तर, जो कर्जामा डुबेको छ, जो कर्जा तिर्न चाहँदैन केन्द्रीय बैंकलाई दपेटेर ब्याज मिनाह गराउन सकिन्छ भने को चाहँदैन र?
(पूर्वअर्थ सचिव खनालसँग गरिएको कुराकानीमा आधारित)