काठमाडौं। मंसिर ४ गते हुने निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले जानकारी दिएको छ।
इओसी नेपालले बिहिबार आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो।
लामो समयका लागि ४६ जिल्लामा ४६ पर्यवेक्षक र छोटो समयका लागि ७५ जिल्लाका निर्वाचन क्षेत्रमा इओसी नेपालका पर्यवेक्षकले निर्वाचनको विविध पक्ष तथा आयामको पर्यवेक्षण गर्नेछ।
इओसी नेपालले पर्यवेक्षक परिचालन गरी आवश्यक दक्षतासम्बन्धी पाँच दिने तालिम पनि सम्पन्न गरेको छ। निर्वाचनमा कुल पाँच सय छ जना पर्यवेक्षक परिचालन हुँदैछन्।
निर्वाचन आयोगबाट आवश्यक स्वीकृति लिएर पर्यवेक्षकको परिचयपत्रसमेत प्राप्त गरी सम्बन्धितलाई वितरण कार्य भइरहेको इओसी नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पर्यवेक्षकको सूचीमा आदिवासी, जनजाति, खस(आर्य, थारू, दलित, मधेसी, मुस्लिमलगायतको प्रतिनिधित्व गराइएको छ।
पर्यवेक्षकहरू परिचालित निर्वाचन केन्द्रमा मतदान अघि नै पुगेर मतगणना सम्पन्न गरी नतिजा प्रकाशन हुँदाको समयसम्म सम्बन्धित स्थानमा खटिने छन्। निर्वाचन आचारसंहिताको अतिरिक्त निर्वाचनको प्रक्रिया तथा विधि र विषयमाथि समेत अध्ययन, अवलोकन गरी प्राप्त सूचनालाई आधारभूतरूपमा ग्रहण गर्दै पर्यवेक्षण गर्ने जारी विज्ञप्तिमा जनाइएको छ।
यसपटकको निर्वाचनमा जेलका कैदीबन्दी र वृद्धाआश्रमका वृद्धावृद्धाले पनि पहिलोपटक मतदान गर्न मिल्ने व्यवस्था भएको निर्वाचन पर्यवेक्षक समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले बताए। जेल र वृद्धाश्रममा पनि अहिले मतदान केन्द्र स्थापना भइरहेको उनको भनाइ छ।