काठमाडाैं। रसुवा जिल्लाबाट मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सत्तापक्षिय गठबन्धनका साझा उमेदवार व्यवसायी मोहन आचार्य प्रतिस्पर्धी भन्दा बलिया देखिएका छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणमको आँकडाअनुसार नेपाली कांग्रेसका आचार्य प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार छोवाङतेन्जीन तामाङ भन्दा बलिया देखिएका हुन्। यसअघि प्रतिनिधिसभा सदस्यको जिम्मेवारी हासिल गरी सकेका आचार्य रसुवा जिल्लाका पाका र रसुवावासीले मन पराएका उमेदवार हुन्।
५ वटा पालिका रहेको रसुवा जिल्लामा संघीय प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ। भने प्रदेशतर्फ दुइटा निर्वाचन क्षेत्र छ। स्थानिय तहको निर्वाचनमा पाँच मध्ये ३ वटा पालिका प्रमुखमा र दुइटा उप–प्रमुखमा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो।
दुइवटा पालिका प्रमुख र तीन वटा उप–प्रमुखमा नेकपा एमालेका उमेदवार विजयी भएका थिए। स्थानिय चुनावमा दलहरू एक्ला एक्लै भिडेको अवस्थामा नेकपा एमाले भन्दा १२१ मत कम ल्याए पनि तीन वटा पालिका प्रमुखमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्।
कुल ३९ हजार ४५९ मतदाता रहेको रसुवा जिल्लामा माओवादी केन्द्र, नेकपा (समाजवादी) लागाएतका दलहरुको गवठबन्धनका साझा उमेदवारका रूपमा मोहन आचार्य प्रतिस्पर्धामा छन्। गत वैशाख महिनामा सम्पन्न स्थानीय चुनावमा नेकपा एमालेले जिल्लाको पाँच वटै पालिकाको कुल १२ हजार २८७ मत, नेपाली कांग्रेसले १२ हजार १५५, माओवादी केन्द्रले ३२ सय २७ र नेपाल नेकपा (समाजबादी) ले ४६ मत हासिल गरेको थिए।
सोही मत परिणाम समायोजन गर्दा गठबन्धनको मत कुल १५ हजार ४३९ हुन्छ भने, एमालेको १२ हजार २८७ मत हुन आउँछ। यो परिणामलाई हेर्दा गठबन्धनकातर्फका उमेदवारको मत ३१ सय ५२ बढी देखिएकोले रसुवामा गठबन्धनतर्फका साझा उमेदवार नेपाली कांग्रेसका आचार्य विजयी हुने सम्भावना बढी छ।
त्यस्तै प्रदेशसभाका लागि (क) बाट नेपाली कांग्रेसका प्रभातलामा तामाङ उमेदवार बनेका छन् भने नेकपा एमालेबाट कुल प्रसाद भट्ठ प्रतिस्पर्धामा छन्। त्यस्तै प्रदेशसभा (ख) मा गठबन्धनतर्फका नेकपा माओबादी केन्द्रबाट इन्द्रप्रसाद गोतामे (जगतजंग) र नेकपा एमालेबाट तेम्बेल तामाङबीच कडा प्रतिस्पर्धा हुँदैछ।
रसुवा जिल्लामा संघ भन्दा प्रदेशसभाका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रसबाट टिकट नपाएका सारदाप्रसाद न्यौपाने नेपाली कांग्रेस (विपि) पार्टीको उमेदवार बन्दै प्रदेशसभाका लागि (ख) बाट प्रतिसपर्धी गर्दैछन्। न्यौपानेले कांग्रेसको केही मत काट्ने भएकाले प्रदेशसभाका लागि (ख) मा गठबन्धनका इन्द्रप्रसाद गोतामेलाई अप्ठेराे पर्ने सम्भावना छ।
तर निरन्तर घरदैलो गठबन्धनको निरन्तर सहकार्यका कारण गोतामे उच्च मनोबलका साथ चुनावमा होमिएका छन्। मतदाताले देखाएको चासो र आश्वासनले आफू जितको नजिक रहेको पनि गोतमेले दावी गर्दै आएका छन्।
गठबन्धनसहितका दल चुनावी मैदानमा होमिई घरदैलोमा व्यस्त हरेका बेला रसुवामा ३ स्वतन्त्र उमेदवार पनि प्रचार प्रसारलाई तीव्र बनाई रहेकाछन्। स्थानीय चुनावमा काठमाडौ, धरानलागाएतका केही स्थानमा स्वातन्त्र उमेदवारको सफलता देखेर आफूलले पनि जित्ने सपना देखेका स्वतन्त्र उमेदवारलाई रसुवामा गठबन्धनसहितका दलसँग प्रतिस्पर्धा गर्नु फलामकाे चिउरा चपाउनु झै हुने देखिन्छ। प्रतिनिधिसभा सदस्यको चुनावमा रसुवा जिल्लाबाट ३ स्वातन्त्रसहित १० पार्टीले प्रतिस्पर्धा गर्दैछन्।