काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक र व्यापारको अवस्था सन्तोषजनक नभएको बताएका छन्।
बिहीबार नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २३ औं वार्षिक उत्सव तथा साधारणसभामा बोल्दै पुनले छिमेकी मुलुक चीन–भारतले व्यापार तथा आर्थिकरूपमा ठूलो फड्को मारिसकेको अवस्थामा नेपालको भने व्यापारीक तथा आर्थिक अवस्था सन्तोषजनक नभएको बताएका हुन्।
‘हाम्रो देशको व्यापारीक अवस्था राम्रो छैन। नेपालको निर्यातको अवस्था निकै कमजोर भएको छ,’ उपराष्ट्रपति पुनले भने ‘नेपालले वस्तुको उत्पादन गरेर निर्यात बढाउन सक्नुपर्छ। तब मात्र देशले आर्थिक विकासमा फड्को मार्न सक्छ।’ उनले छिमेकी दुई देशहरू व्यापारीक दृष्टिकोणले विशाल भएको कारणले नेपालका लागि यो चुनौती तथा अवसर दुवै भएको बताए।
नेपालको व्यापारलाई बढाउनको लागि चीनले महत्वपूर्ण सहयोग गरेको बताउँदै उपराष्ट्रपति पुनले नेपाल–चीन उद्योग वार्णिज्य संघले नेपालको व्यापारलाई बढाउन थप सहयोग गर्नेमा विश्वास व्यक्त गरे। नेपालको आर्थिक अवस्था सुधार गर्नका लागि सबैले सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाइ छ। पुनले नेपाल एक चीन नितिप्रति प्रतिबद्ध रहेकाे बताए।
त्यस्तै कार्यक्रममा नेपाल–चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीचको व्यापारीक अवस्था नेपालका लागि चित्त बुझ्दो नभएको प्रतिक्रिया दिए। कोरोना महामारीपछि नेपालले अन्य देशको साथमा चीनमा गर्ने निर्यातको अवस्था पनि निरासाजनक भएको बताए।
‘नेपाल र चीनबीचको व्यापारीक सम्बन्ध निकै पुरानो हो। पुरानो सम्बन्ध भएको कारणले गर्दा पनि नेपाल र चीनसम्बन्ध निकै प्रगाढ छ,’ अध्यक्ष तुलाधरले भने ‘तर नेपाल र चिनबीचको व्यापारीक अवस्था पनि नेपालका लागि चित्त बुझ्दो छैन।’ नेपालमा चीनबाट आयातको मात्र बढेको तर नेपालले गर्ने निर्यातको मात्रा भने झन् घटेर गएको उनको भनाइ छ। पछिल्लो तीन महिनाको अवस्थालाई हेर्दा नेपालको निर्यात झन् कमजोर अवस्थामा पुगेको उनले बताए।
नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २३ औं वार्षिक उत्सबमा उपराष्ट्रपति पुनले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गरे। अध्यक्ष तुलाधरले आफूसहितको नयाँ पदाधिकारी टिमले चीनजस्तो ठूलो बजारमा नेपालको व्यापारलाई बढाएर व्यापारघाटा सुधार्न भरपुर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे।