बझाङ। बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बसे। फर्कने बेलामा उनले काेसेलीका लागि स्याउ खोजे, त्यसमा पनि साइपालमै फलेको। बजारमा धेरै खाेजे तर पाएनन्। घर जाने दिन उनले संयोगवस मल्लो बजारमा एक बोरा साइपाले स्याउ भेटे र सबै किनेर घर फिर्किए।
उनले लगातार साइपालकै स्याउ किन खोज्नुकाे एउटै कारण छ, साइपाल स्याउकाे स्वाद। उनीसँग साइपाल बसेको लामो अनुभव छ। दसैं तिहारको समयबाहेक उनी साइपालमै बस्छन्। घर आउँदा विशेष गरी उनले स्याउ कोसेलीका रूपमा ल्याउने गरेका छन्। यति मात्र हाेइन उनले ल्याउ छिमेकीलाई समेत बाड्ने गरेका छन्। बोहोरा घर आउन लागेको थाहा पाएपछि साइपाले स्याउकै माग हुन्छ।
बजारमा जतिसुकै स्याउ आए पनि साइपालको जस्तो मीठो अन्त नहुने भन्दै चैनपुर आएको मौकामा स्याउ खोजेको उनले बताए।उनले भने, 'बजारमा धेरै प्रकारको स्याउ आउँछ। हाम्रै बझाङमा पनि विभिन्न क्षेत्रको स्याउ पर्याप्त हुन्छ तर, स्वादिलो भने साइपालकै हुन्छ।' 'बुङ्गलको स्याउको लोकप्रियता पनि कम छैन,' उनले भने, 'साइपालको स्याउ धेरैजसो धेरै पटक खाएको हुँदा बुंली (बुङ्गली) स्याउको स्वादै लाग्दैन। स्याउ खानु पर्याे भने साइपालेकै याद आइहाल्छ।'
साइपालको स्याउ सबैका लागि “डाँडापारि सुन छ”, भनेजस्तै भएकाे उनले बताए। खच्चरमा ढुवानी गरेर सदरमुकामसम्म ल्याएको स्याउ संसारभर उत्पादन हुने स्याउभन्दा पनि उत्कृष्ट हुने उनकाे भनाइ छ। उनले पछिल्लो दुई वर्षमा खच्चरबाटै स्याउ मगाएर खाएकाे बताए । भारत तथा अन्य जिल्लाबाट आउने स्याउभन्दा २०/३० रूपैयाँ सस्तो पर्ने उनले बताए।
साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले साइपालमा स्याउ उत्पादन बढ्दै गएको बताए। सुरूमा आफैँलाई खानका लागि लगाउने कृषक अहिले व्यावसायिक रूपमै गर्न थालेकाे उनकाे भनाइ छ। उनले भने, 'सुरूमा खानका लागि दुई बोट लगाए, अहिले चार/पाँच सय बोट लगाएको छु। पन्ध्र/बीस बोट त फल्न थालेकाे छ।'
धामीका अनुसार साइपालमा स्याउ ब्लक क्षेत्र भनेर कृषकले हजारौँ बिरूवा रोपेका छन्। उत्पादन बढेपनि बजार नपाउँदा सस्तोमै गाउँमा बिक्री गर्नु परेकाे उनले बताए। 'गाउँमा ६०/७० रूपैयाँ केजीमा बिक्री गर्नुपर्ने बाध्यता रहेकाे उनकाे गुनासाे छ।
'स्याउ ढुवानी गर्न निकै कठिन छ,' उनले भने, 'बिरुवा रोपेको तीन वर्षमै फल्न सुरू हुन्छ। बिक्रीका लागि बजारमा ल्याउन बाटो छैन बोकेर सम्भव हुँदैन। थोरै थोरै सामान बोकेर फर्कने खच्चरमा पठाइरहेका छौं । हिउँ परेपछि खच्चर ढुवानी पनि बन्द हुन्छ।'
साइपालमा राजेन्द्र धामीजस्तै एक दर्जन किसानले स्याउ फलाउन सुरू गरेका छन्। वडा नम्बर ४ को धुली, गजेरा, धलौन, लातडी, ज्यापी, सोगौली, सैनगाउँ र गजेरा, वडा नम्बर ५ को तिउना, पलौडी, काकरकोटमा स्याउको उत्पादन फस्टाउँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए।
जोशीका अनुसार कृषि शाखाबाट लिएर स्याउको बिरूवाहरू कृषकले बढी रोप्न तथा कतिपयले उत्पादन गरेर बिक्री गर्न थालेका छनन्। कृषकले उत्पादन गरेको स्याउको बजारीकरणका लागि ढुवानी गर्न पालिकाले बजेट छुट्याएको उनले बताए। ढुवानीको लागि पैसा नलागेपनि कृषकले उत्पादन गरे पनि निकै फाइदा हुने उनकाे भनाइ छ।
यता कृषि ज्ञान केन्द्रले पनि साइपालमा स्याउ उत्पादन गर्नका लागि १५ लाख अनुदान दिएको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले उच्च घनत्व स्याउ संरक्षणका लागि साइपालमा १५ लाख दिएको बताए। उनले भने, 'बझाङका विभिन्न ठाउँमा स्याउको सम्भावना भए पनि साइपालमा चिसो हुने हुँदा हामीले बढी जोड दिएका छौं।'
विष्टले स्याउका लागि सबैभन्दा चिसो ठाउँ भयो भने स्याउ स्वादिष्ट हुने बताए। विष्टका अनुसार बझाङमा सबैभन्दा बढी स्याउ साइपाल, थलारा, खप्तडछान्ना, तल्कोट तथा बुङ्गलको सिरानीमा उत्पादन हुन्छ। अन्य पालिकामा पनि स्याउको उत्पादन बढ्दै गएको उनले जानकारी दिए। यो सिजनमा मात्रै बझाङबाट डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको विष्टले बताए।
रासस