डुम्रे । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझाले बताए। “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैन”, उनले भने, ““पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम आउने र कम गुलियो छ ।”
कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताए । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ । “पहिले रासायनिक मल भन्ने नै थाहा थिएन । गोठ नै खेतबारीमा राखिन्थ्यो । प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो । स्वादिलो हुन्थ्यो”, उनले भने, “ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ ।”
“अहिले खेतीपाती गर्न खर्चिलो छ । रासायनिक मलको प्रयोग गरिन्छ । त्यो किन्नै पर्यो । अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ । अनि कसरी राम्रो उत्पादन होस् । यो दुःख गर्नुभन्दा बजारको चामल सस्तो पर्छ । केको दुःख गर्नु अहिलेकाले”, ओझा भने, “भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल । दुःख किन गर्छन् र ?”
आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनले भने, “अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ ।” “अहिले तीन भकारी धान भए पनि वर्षभरलाई खान पुग्दैन”, ओझा भन्नुहुन्छ, “रासायनिक मलकै कारण पहिलेको जस्तो आटिलो हुँदैन ।” विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताए । केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनले बताए ।
उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ । उनले अहिले पनि केही खेतमा धान रोप्ने गरेका छन् तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आएका छन् । खेती नगर्न छोरा, बुहारी, नातिनातिनाले सुझाव दिने गरेको उनले बताए ।
यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए। “खेतीपाती गर्न सकिँदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ”, शाहीले भने ।
बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ छ । आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उनीहरुको भनाइ छ ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए । “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन । जसले गर्दा धान खेतीमा युवाको चासो छैन”, उनले भने । साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उनको भनाइ छ ।
जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए । सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उनको भनाइ छ । “जबसम्म स्थानीय, प्रदेश र संघ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैन । तबसम्म बाँझो जमिन बढ्दै जान्छ । यसको न्यूनीकरणका लागि कम्पनी मोडेलतर्फ सरकारले योजना बनाउनुपर्छ”, उनले भने ।
कृषि पेसालाई बचाइ राख्न कम्पनी मोडेलको योजना सरकारले बनाउनतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको तिवारीले बताए । “कृषि पेसालाई कम्पनी मोडेलतर्फ विकास गर्न सकिएन भने कृषि प्रधान देशमा नै अध्ययनको विषय बन्न सक्ने सम्भाव्यता बढेको छ”, उनले भने । कृषि प्रधान देशमा नै कृषि पेसा अध्ययनको विषय बन्ने अवस्थामा पुग्न नदिन किसानसँग सम्बन्धित रहेका पक्ष सचेत हुन आवश्यक देखिएको छ ।