काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका पारित गरेको छ ।
बोर्डको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ पारित गरेको हो ।
संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति हुँदा १५ दिन बढी कारोबार रोक्का गर्न नपाइने गरि निर्देशिका पारित भएको बोर्डका उच्च अधिकारीले बताए ।
‘बोर्ड सञ्चालक समितिले संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ निर्देशिका पारित गरेको छ,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘अब मर्जरको नाममा वर्षौ कम्पनीको सेयर कारोबार रोक्का गर्ने परिपाटीको अन्त्य भएको छ ।’
बुधबार बोर्ड सञ्चालक समितिले निर्देशिका पास गरेकाले बिहीबारदेखि लागू हुने ती अधिकारीले बताए ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ खारेजको घोषणा गरेको थियो।
सोही घोषणाअनुसार यस विषयलाई बोर्डले नै टुंगो लगाउने भन्दै राष्ट्र बैंकले गएको असोजमा विनियमावलीको उक्त व्यवस्था खारेज गरेको गर्यो।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा भएलगत्तै बोर्डले पनि संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको मस्र्याैदा तयार पारेको हो।
राष्ट्र बैंकले विनियमावलीको उक्त व्यवस्था खारेज गरेको केही दिनमै बोर्डले निर्देशिका पारित गरेको छ । मस्यौदामा उल्लेख गरिएका अधिकांश विषयहरू यथावत राखिएको ती अधिकारीको भनाई छ ।
एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ, उनले भने ।
यस्तै, बोर्डबाट गाभ्ने र गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरे पश्चात सोको जानकारीसहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्नेछ
निर्देशिकामा बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
मर्जर तथा एक्विजिसनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन।
यसअघि मर्जर तथा एक्विजिसनमा गएको बैंक तथा वित्तीय संस्थाको हकमा प्रक्रिया पूरा नभएसम्म नेप्सेले दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्दै आएको थियो। मर्जर तथा एक्विजिसनकै कारण हालसम्म नेप्सेले ३४ कम्पनीको सेयर कारोबार राकेको छ।