काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सोनाम लामाले मुस्ताङको मुक्तिनाथ र काठमाडौंको ठमेलमा दुइटा चार तारेस्तरको होटल निर्माण गरेका छन्। मुक्तिनाथमा निर्माण भएको ‘मुस्ताङ हिमालयन रिसोर्ट’को कात्तिक १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी छन्।
पहिलो, दोस्रो र तेस्रो चरणमा निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको उक्त रिसोर्टसँगै स्याउ बगानको पनि निर्माण भइरहेको छ। पहिलो चरणमा २५ करोड रूपैयाँ भन्दा बढी लगानी भइसकेको र तेस्रो चरणसम्ममा ५० करोड रूपैयाँ भन्दा बढी लगानी हुने रिसोर्ट सञ्चालक लामाले क्यापिटल नेपाललाई जानकारी दिए। रिसोर्टमा एक सय वटा कोठा छन्।
बुटिक अवधारणामा बनेको होटल करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ। चारै दिशामा हिमाल अवलोकन गर्न सकिने मुक्तिनाथको रानीपौवा हाइटमा रहेको रिसोर्ट क्षेत्रमै ५ सय बोट भएको स्याउ फार्म पनि छ।
निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहे जस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना स्पादेखि घोडा चढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए।
होटल र स्याउ बगान लामाले नाफा कमाउने भन्दा पनि त्यहाँ रहेको ६४ वटा घरहरुलाई नै निश्चित वर्षपछि फिर्ता दिने योजना बुनेका छन्। उनले ३०/३५ वर्षपछि त्यही समुदायलाई दिने गरी सहमति गराएका छन्।
उनी केही वर्षअघि गाउँमा पुग्दा त्यहाँका स्थानीयले प्लटिङ गरेर बिक्री गर्न लागेका बेला उक्त जग्गा रोकेका थिए। आफ्नो गाउँ ठाउँको जग्गा जमिन अरूलाई बेच्नु भन्दा आफैले आम्दानी आउने श्रोत बनाउनुपर्छ भनेर रोकेको जग्गामा लगानी गरेका हुन्। अहिले लाखमा बेचेर त्यतिकै सकाउनु भन्दा उत्पादनलाई जोड दिएर अर्बौ मूल्यको बनाउने सोच उनले अघि सारेपछि स्थानीयले उक्त जग्गा बेच्नबाट पछि हटेका थिए।
अंग्रेजी नयाँ वर्षमा ठमेलको होटल
मुक्तिनाथसँगै उनी काठमाडौंको ठमेलमा ‘होटल लो मुस्ताङ’ सञ्चालनको तयारीमा छन्। २ रोपनी क्षेत्रफलमा निर्माण भएको सो होटल आगामी सन् २०२३ जनवरीदेखि पूर्ण रुपमा सञ्चालन गर्ने तयारी लामाको छ। ७ वर्ष अघिदेखि निर्माण सुरू गरिए पनि विविध कारणले ढिलाइ भएको उनले बताए।
चारतारेस्तरको होटल पूर्ण रूपमा बुटिक बनाउने गरी हरेक संरचना बनाइएको छ। होटलमा १०० वटा कोठा छन्। मुस्ताङ र ठमेलको होटल उनले नेपाली व्यवस्थापनलाई नै जिम्मेवारी दिएका छन्।
होटलमा नेपाली मौलिकतामा देखाउने उद्देश्यका साथ मुक्तिनाथ र ठमेलको होटल एकै प्रकारकाे बनाएका छन्। उनका २ वटा होटलमा मात्र २ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन्।
गैरआवासीय सोनाम २७ वर्षअघि अमेरिकामा गएका थिए। उनले मुक्तिनाथमा सयौं रोपनी क्षेत्रफलमा स्याउ खेतीसमेत सुरू गरेका छन्।
६ करोडमा ३५ फिट अग्लो बुद्धको मुर्ति
लामाले मुक्तिनाथमा ३५ फिटको बुद्धको मुर्तिसमेत बनाएका छन्। रिसोर्टसँगै जोडिएको जग्गामा मुर्ति बनाएका हुन्। त्योसँगै विष्णुको मुर्तिसमेत राख्ने तयारी गरेका छन्।
मुक्तिनाथ आउने आन्तरिक एवंम बाह्य पर्यटकहरुलाई लक्षित गरेर मुर्ति निर्माण गरिएको उनको भनाइ छ। आफ्नो जन्मभूमिमा केही नयाँ काम गर्ने उद्देश्यका साथ बुद्धको मूर्ति स्थापना गरिएको र त्यसका लागि ६ करोड रूपैयाँ लागेको लामाले जानकारी दिए। मूर्ति निर्माणका लागि उनले आफ्नो परिवारको बाहेक अन्यको सहयोग लिएका छैनन्।