काठमाडौं। सेयर बजार अस्वभाविक रुपमा घटे पछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को टोलीले विशेष चासो दिएको छ।
बजार अत्यधिक अस्थिर हुनुको कारण र स्थिर बनाउन गरिएको प्रयासका बारेमा आइएमएफका प्रतिनिधिले नेपाल धितोपत्र बोर्डसँग आवश्यक परामर्श गरेको हो।
राष्ट्र बैंकको अडिट गरिरहेको आइएमएफको टोली धितोपत्र बजारबारे बुझ्न बोर्डका अध्यक्ष रमेश हमाललाई भेट्न पुगेका थिए। टोलीले नेपालको बजार अस्तिर हुनुको पछाडिको कारण सोधेका थिए। जवाफमा हमालले केन्द्रीय बैंकले लिएको नीतिका कारण बजार अस्वभाविक रूपमा घटेको बताएका थिए।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जाको ब्याज बढाएको थियो। त्यसको सिधा असर सेयर बजारमा परेको उनको आइएमएफलाई जवाफ थियो। नेपालमा मार्जिङ ट्रेडिङको व्यवस्था हुन नसक्दा कर्जाका लागि बैंककै भर पर्नुपर्छ।
कर्जा सस्तो हुँदा सेयर बजार अस्वभाविक रूपमा बढेको थियो। र कर्जाको ब्याज महँगो हुँदा बजार पुन अस्वभाविक रुपमा घटेको जवाफ दिएको थियो।
नियमित कार्यतालिकाअन्तर्गत केन्द्रीय बैंकको अडिटमा निस्किएको आइएमएफको टोलीले पुँजी बजारसँग सम्बन्धीत सम्पूर्ण संस्थाका प्रमुख वा प्रतिनिधिसँग भेट गरिरहेका छन्। संसारभरको पुँजीबजार स्थिर र आफ्नै गतिमा चल्ने तर नेपालको पुँजीबजार अस्वभाविक रुपमा घटबढ हुने गर्नुको कारण आइएमएफले खोजी गरिरहेको हो।
केन्द्रीय बैंकको नीति, अर्थतन्त्रमा आएको शिथिलताका कारण बजार अस्वभाविक रूपमा गिरावट आएको हो। नियामक निकायलाई प्रभावमा परेर गरिने चलखेल, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सीतिम व्यक्तिको कब्जामा हुँदा त्यहाँबाट डेटाहरुमाथि गरिने चलखेलका कारण बजार स्थिर बन्न नसकेको जवाफ आइएमएफलाई बोर्डले दिएको थियो।