काठमाडौं। १४ बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई छलफलको लागि नेपाल बिमा प्राधिकरण बोलाएको छ।प्राधिकरणले मर्जर तथा एक्विजिसनमा जान लागेको १४ बिमा कम्पनीका सिइओलाई छलफलका लागि बोलाएको हो।
मर्जरको तयारी बुझ्न १४ बिमा कम्पनीको सिइओलाई छलफलको लागि बोलाएको नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। तत्कालिन बिमा समितिले मर्जरको लागि १९ कम्पनीले सौद्धान्तिक सहमति दिएको हो।
जसमध्ये ४ निर्जीवन बिमा कम्पनी मर्ज भई एकीकृत कारोबार सुरू गरिसकेका छन्। अन्य १५ बिमा कम्पनीले एकीकृत कारोबार सुरू गरेका छैनन्। ९ जीवन र ६ निर्जीवन बिमा कम्पनी हालसम्म मर्जको लागि सहमति गरेका छन्।
‘मर्जरको सहमति पाएका कम्पनीका सिइओलाई छलफलको लागि बोलाएका छौं,’ उनले भने, ‘मर्जको प्रक्रिया कहाँ पुग्यो? किन ढिलाई भइरहेको छ लगायतका विषयमा छलफल गर्न सिइओलाई बोलाएका हो।’
केही बिमा कम्पनीले एकीकृत कारोबार सुरू गर्ने भनेको मिति सारिरहेकाले छलफलको लागि बोलाएको पौडेलले बताए। तत्कालिन समितिले बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न निर्देशन दिएको छ।
गत चैत १० मा जीवन बिमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीबन बिमा कम्पनीले न्यूनतम साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ। तोकिएको पुँजी पुर्याउनका लागि समितिले कम्पनीहरुलाई एक वर्षको समय दिएको छ।
हाल जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब र निर्जीबन बिमा कम्पनीहरुको १ अर्ब रूपैयाँ छ। पुँजी वृद्धिका लागि कम्पनीले हकप्रद सेयर जारी गर्न पाउँदैनन्। बोनस सेयरबाट मात्र पुँजी वृद्धि गर्न नसकिने भएपछि बिमा कम्पनी धमाधम मर्जरको प्रक्रियामा गएका हुन्।