काठमाडौं। मेलम्चीको पानी चुनाव अघि काठमाडौं नआउने भएको छ। बर्खामा गएको बाढी र त्यसबाट अवरुद्ध सडक मार्ग मर्मतको काम सम्पन्न नभएपछि काठमाडौंमा पानी ल्याउने समय लम्बिएको हो।
केही समय अघिसम्म कात्तिक अन्तिम अर्थात् चुनावभन्दा पहिला काठमाडौंमा पानी ल्याउन सकिने मेलम्ची खानेपानी आयोजनाले जनाउँदै आएको थियो। तर, अहिले सडक मर्मत भइरहेकाले कात्तिकमा पानी ल्याउने सम्भावना नरहेको आयोजनाले जनाएको हो।
मेलम्ची बजारबाट खानेपानी आयोजना स्थलमा पुग्ने करिब ८ किलोमिटर पहुचमार्गको सडक वर्खामा भत्किएको थियो। सो सडक मर्मत नभएसम्म मेसिनलाई आयोजना स्थलमा पुर्याउन नसकिने हुँदा पानी आउन ढिलाइ हुने भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदक कुँवर बताउँछन्।
उनका अनुसार हिँडेर सुरुङसम्म पुग्न सकिन्छ। अबको एक हप्तासम्म सडक मर्मत गर्न लाग्ने छ। त्यसपछि मात्रै काठमाडौंमा पानी ल्याउने एकिन मिति भन्न सकिने सिडिई कुँवर बताउँछन्। ‘हामी हिँडेर सुरुङसम्म पुगेर त्यहाँको मर्मत गरेका छौं, मेसिन नभइ पानी पाठाउँन सकिँदैन त्यसको लागि सडक मर्मत भइरहेको छ’, उनले भने।
सडक मर्मत भने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गरेको छ। २०७८ असार र साउनमा मेलम्ची खोलामा गएको बाढीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो। उक्त बाढीबाट आयोजनामा पुगेको क्षतिको विवरण हासम्म पनि एकिन भएको छैन। त्यस यता वर्खाको समयमा पानी ल्याउन बन्द गर्ने र हिँउद लागेपछि पानीको आपूर्ति गर्ने गरिएको छ।
सोहीअनुसार यो वर्षको हिँउद लागेसँगै मेलम्चाीको पानी काठमाडौंमा ल्याउने तयारी थालिएको हो। काठमाडौं उपत्यकामा दैनिक ४३ हजार करोड लिटर पानीको माग हुने गरेको छ।
मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ। बाँकी पानीको माग काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पूरा गर्दै आएको छ।