काठमाडौं । सेयर बजार घट्दै जाँदा हितग्राही खाता (डिम्याट खाता) खोल्नेको संख्यामा पनि कमी आएको छ । गत वर्षको असोजको तुलनामा यो वर्ष डिम्याट खाता खोल्नेको संख्या ७ गुणाले घटेको ।
गत वर्षको असोजमा १ लाख ६५ हजार ९ सय १९ जनाले डिम्याट खाता खोलेका थिए । चालू आर्थिक वर्षको असोज महिनामा २३ हजार ५५० जनाले मात्र डिम्याट खाता खोलेका छन् । जुन गत वर्षको तुलनामा सात गुणा कम हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको संख्या ५४ लाख ३२ हजार ९ सय ३२ छ ।
त्यस्तै मेरो सेयरको संख्या ४५ लाख २४ नाघेको छ। अघिल्लो दुई आर्थिक वर्षमा डिम्याट र मेरो सेयरको संख्या उल्लेख्य मात्रामा बढे पनि आर्थिक वर्ष सुरु भएसँगै डिम्याट खोल्नेको संख्या घट्दै गइरहेको सिडिएस एण्ड क्लियरिङका आईटी प्रमुख सुरेश न्यौपानेले बताए ।
‘अघिल्लो दुई वर्षमा डिम्याट खोल्ने उलेख्य बढेको थिए,’ उनले भने, ‘पुनर्बिमा र नेपाल इन्फ्रास्ट्रचर बैंकले ठूलो संख्याको आइपिओले डिम्याट खोल्ने बढेका थिए ।’ कोरोना महामारीको समयमा बजार निरन्तर बुलमा हुँदा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेर डिम्याट खोल्ने उल्लेख्य बढेको न्यौपानेको भनाइ छ ।
पछिल्लो एक वर्षमा बजार घट्दै गएसँगै डिम्याट खोल्नेको संख्यामा गिरावट आएको छ । कोरोना महामारीको समयमा समग्र क्षेत्र ठप्प भई वित्तीय क्षेत्रमा पर्याप्त तरलता र लगानीको क्षेत्र नहुँदा सेयरबजार सर्वसाधारण लगानीकर्ताको आकर्षण देखिँदा डिम्याट खाता खोल्ने उल्लेख्य बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलीले बताउँछन ।
‘अन्यन्त्र लगानीको क्षेत्र थिएन,’ उनले भने, ‘त्यो बेलामा लगानीकर्ताले लगानीको क्षेत्र सेयर बजारलाई बनाए । जसले गर्दा बजार बढ्दै गयो । बजार बढ्दै जाँदा सर्वसाधारण लगानीकर्ताको समेत सेयर बजारमा आगमन भयो र जसले गर्दा एकै महिनामा करिब २ लाख डिम्याट खातासमेत थपिएका थिए ।’
अवस्था सामान्य भई लगानीका क्षेत्र खल्दै गएपछि लगानीकर्ता सेयर बजारमा चासो कम हुँदा डिम्याट खाता खोल्ने घटेको पराजुलीको भनाइ छ ।
२०७७ सम्ममा डिम्याट खाता खोल्नेको संख्या १६ लाख ९२ हजार थियो । सिडिएससीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २० लाख ३७ हजार जनाले डिम्याट खाता खोले । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख ५७ हजार र आर्थिक वर्षको असोजसम्म १ लाख ४५ हजार जनाले डिम्याट खाता खोलेको छन्।
गत आर्थिक वर्ष २०७८/०७९को साउनमा ३ लाख २६ हजार ५२५ जनाले डिम्याट खाता खालेका थिए । त्यस्तै, भदौमा ३ लाख १ हजार, असोजमा १ लाख ६५ हजार, कात्तिकमा १ लाख २४ हजार, मंसिरमा ९६ हजार, पुसमा ५८ हजार, माघमा १ लाख ९ हजार, फागुनमा १ लाख २८ हजार, चैतमा ८९ हजार, वैशाखमा ५४ हजार जेठमा ४३ हजार र असारमा ५८ हजारले डिम्याट खाता खोलेका थिए ।
चालू आर्थिक वर्ष ०७९/०८० को साउनमा ६७ हजारले डिम्याट खाता खोलेका छन् । त्यस्तै भदौमा ५३ हजार र असोजमा २३ हजाले डिम्याट खाता खोलेका छन् ।
पछिल्लो १५ महिनाको विवरण हेर्दा असोजमा सबैभन्दा कम डिम्याट खाता खोलिएको सिडिएसीले जनाएको छ । सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य छ । प्राथमिक सेयर होस वा दास्रो बजारबाट खरिद गरेको सेयर डिम्याट खातामा जम्मा हुन्छ । तसर्थ सेयर कारोबारका लागि डिम्याट अनिवार्य छ । पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो।
त्यो व्यवस्था हटेकाले अहिले विद्युतीयरूपमा डिम्याट खातामा जम्मा हुन्छ। डिम्याट सुरु भएसँगै खरिद गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ ।
धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै आइपिओको आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले अघिल्लो दुई वर्षमा यस्ता खाता खोल्नेको संख्या बढेको नेपाल धितोपत्र बोर्डको भनाइ छ। बजार घढ्दै जाँदा आइपिओमा आवेदन दिनेको संख्यामा समेत गिरावट आएको छ । महंगो सिआस्बा शुल्क त्यसमा पनि नपर्ने हुँदा आइपिओ भर्न छोडेको लगानीकर्ताको गुनासो छ ।
लगानीकर्ताले सिआस्बा शुल्क अत्याधिक भएको गुनासो गरिरहेको वर्षौंपछि धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशीका, २०७३ तेस्रो संशोधन गरी सिआस्बा शुल्क ५ रुपैयाँ बढी लिन नपाउने व्यवस्था गरेको छ । बोर्डको उक्त व्यवस्थापश्चात हाल आधा दर्जन वाणिज्य बैंकले सिआस्वालाई निःशुल्क गरेका छन् ।
पछिल्लो एक वर्षदेखि सेयर बजार निरन्तर बियर यात्रामा हुँदा सिआस्वा शुल्क घटाए पनि आईपिओमा आवेदन दिने बढ्न सकेका छैन । ६ महिनामा निष्कासन भएका आइपिओमा औसतमा १५ लाखले आवेदन दिँदै आइको पाइन्छ ।