भनिन्छ, सोचेको सबै कुरा पूरा हुन्छ भन्ने हुँदैन। कति कुरा आफूले बनाएका योजनाभन्दा फरक भइदिन्छ। आफ्नो होस् वा अरूकै कारणले। तर, जब ती काममा सफलता मिल्छ, तब आनन्द छाउँछ। र, निरन्तर त्यही काममा दत्तचित्त भएर लागिरहन्छ।
जब, कुनै काम मिहिनेत र लगनसाथ गरिन्छ, त्यहाँ असफलता भन्ने शब्द नै हुँदैन। त्यस्ता व्यक्ति नेपाली समाजमा सयौं छन्। तिनैमध्ये पर्छन्, अशोकचन्द्र पोखरेल। जो, तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन्। पर्यटनबाहेक उनले अन्य व्यवसायबारे सोच्न पनि भ्याएका छैनन्।
हुन त उनीमात्र पर्यटन क्षेत्रमा क्रियाशील भएका होइनन्। उनका बुबा स्वर्गीय टेकचन्द्र पोखरेल नेपाल पर्वतारोहण संघका सस्थापक सदस्य थिए। पर्यटन क्षेत्रमै जीवन बिताएका टेकचन्द्रले आफूमात्र होइन, छोराहरूलाई पनि यही क्षेत्रमा क्रियाशील बनाइराखे। सांग्रिला टुर्स, नेपालको एक प्रतिष्ठित ट्राभल कम्पनी हो। नेपालको पर्यटन क्षेत्रमा यस्ता कम्पनी एकाधमात्र खुलेका बेला सञ्चालनमा आएको सांग्रिला टुर्स अहिलेसम्म पनि उत्तिकै क्रियाशील छ। अर्थात, सांग्रिला टुर्स अहिले दोस्रो पुस्ताले हाँकिरहेको छ।
तीन दशकभन्दा बढी लामो यात्रामा रहँदा अशोकले अनेकौ आरोह–अवरोह पार गरे। पर्यटन क्षेत्र ‘बुम’ भएको देखि माओवादी द्वन्द्वले थिलथिलो र सुनसान भएको क्षण, विनाशकारी भूकम्पअनि विश्वव्यापी कोरोना महामारीसमेत अनुभव गरिसकेका छन्।
एयर इन्डिया ‘हाइज्याक’ र माओवादी द्वन्द्वले पर्यटन ओरालो
अशोक पर्यटन क्षेत्रमा लागेको ३२ वर्ष पूरा भइसकेको छ। यो अवधिमा ५० प्रतिशत सुखद र ५० प्रतिशत संघर्षशील भएको अनुभव उनको छ। पहिले र अहिलेको अवस्था फेरिएको छ। पहिलो १५ वर्षमा बिनारोकटोक सांग्रिला टुर्स राम्रोसँग चलेको थियो। किनकि, पर्यटक आएको आयै हुन्थे। नेपालमा टुर अपरेटर धेरै कम थिए। जसका कारण पर्यटन व्यवसाय राम्रो फस्टाएको थियो।
जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डियाको जहाज ‘हाइज्याक’ (अपहरण) भयो, त्यो घटना नेपालको पर्यटन क्षेत्रका लागि असाध्यै नकारात्मक असर पुग्यो। सन् २००१ मा भएको उक्त घटनाले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर ग¥यो र त्यसपछि मुलुकको पर्यटन ओरोलो लागेको लाग्यै हुन पुग्यो।
२००१ डिसेम्बरपछि नेपाल घुम्न आउने पर्यटक कम हुँदै गए। भर्खरै सुरु भएको माओवादी द्वन्द्वले आगोमा घ्यु थप्ने काम ग¥यो। पयर्टन क्षेत्र लगभग सखापै हुने अवस्थामा पुग्यो। र, त्यतिन्जेलसम्म नेपाल आउने पर्यटक संख्या ७५ प्रतिशत घटिसकेको थियो। त्यो बेला वार्षिक २ लाख ५० हजारभन्दा कम पर्यटक आउन थाले। ५ लाख पर्यटक ल्याउने घोषणासहित मनाइएको ‘नेपाल भ्रमण वर्ष १९९८’ को लक्ष्य १९९९ मा भने पूरा भएको थियो। त्यसबेला ५ लाख पर्यटक नेपाल आएका थिए।
तर, त्यसपछि भने पर्यटक संख्या ओरालो लागेर आधाभन्दा कम हुँदै गयो। भ्रमण वर्ष लक्ष्य गरी पर्यटन क्षेत्रमा ठूलो लगानी भएको थियो। त्यही बेला सूचना प्रविधि प्रयोग धेरै भएको थियो। अशोकले १९९८ मा काम गर्दा ३५ प्रतिशतसम्म नाफा लिन सकिन्थ्यो। हवाई टिकट काट्ने कम्पनी हातका आंैलामा गन्न सकिन्थ्यो। अरूको पहुँच पनि थिएन। र, टिकटमा पनि नियन्त्रण थियो। त्यसबेला २÷३ सय प्रतिशतसम्म ‘मार्जिन’ राखेर काम गर्न सकिन्थ्यो। नयाँ गन्तव्यका लागि राम्रो मार्जिनको कुनै समस्या थिएन।
बिस्तारै माओवादी द्वन्द्वले मूलराजनीतिक धारमा विश्राम लिएपछि सञ्चार पहुँच सबै ठाउँमा पुग्यो। इमेल–इन्टरनेटबाट सबै कामबारे जानकारी लिन सकिने अवस्था आयो। विदेशीले पनि नेपाली कम्पनीसँग ‘बार्गेनिङ’ बढाए। ‘फलानो कम्पनीले यो मूल्यमा लान्छु भनेको छ, तिमी के गर्छौ?’ भन्ने प्रश्न गरेर इमेल पठाउन थाले। तर, पहिले सूचना पहुँच नहुँदा जतिमा कुरा मिलाए पनि एउटा कम्पनीको कुरा अर्कोलाई थाहाँ हुँदैनथ्यो। बार्गेनिङ हुन थालेपछि मूल्य घटाउँदा–घटाउँदा विनाशकारी भूकम्प अघिसम्म पनि राम्रै भइरहेको थियो।
भारतका व्यवसायीले जापानमा गएर समेत नेपालको टिकट बिक्री गर्थे। ती कति कम्पनीले अहिलेसम्म कति होटलका रकमसमेत तिरेका छैनन्। उनीहरूले एउटा ग्रुप ल्याउँदै पुराना ऋण तिर्दै आउने गरेका थिए। जुन कम्पनी बीचमा हराएका थिए। अहिले फेरि त्यस्तै खालका कम्पनी बजारमा आएको भन्ने सुनिएको अशोक बताउँछन्।
अनुभवी कर्मचारी अभाव
विनाशकारी भूकम्पपछि बिस्तारै माथि उठ्न थालेको पर्यटन क्षेत्र फेरि वैश्विक कोरोना महामारीको चपेटामा जकेडियो। अहिलेकै अवस्थामा पर्यटन क्षेत्र बुम भइहाल्ने स्थिति देखिँदैन। पर्यटन व्यवसायी पनि पलायन हुन थालेका छन् भने दक्ष कामदारसमेत पाउन मुस्किल हुन थालेको छ। होटलका अधिकांश कर्मचारी अहिले विदेश पलायन भइसकेका छन्।
नेपालका होटलमा ‘म्यानेजर’ (प्रबन्धक) मा काम गरेकाहरू अहिले दुबई र दोहामा वेटरको काम गर्न थालेका छन्। यहाँको भन्दा त्यहाँको कमाइ राम्रो छ र सुविधा पनि राम्रो भएपछि अब उनीहरू तत्कालै नेपाल फर्किने सम्भावना न्यून देख्छन् अशोक।
‘नेपालमा पर्यटक नआउने नै भन्ने होइन। अहिले सरकारले २०३२ भित्र ३५ लाख पर्यटक ल्याउने, दैनिक ५ सय अमेरिकी डलर खर्च गर्ने र २० दिन बसाउने अभियान घोषणा गरेको छ,’ अशोक भन्छन्, ‘तर, अहिलेकै मोडलमा यो सम्भावना छैन। तै पनि सरकारले यस्तो लक्ष्य घोषणा गर्नु त राम्रो हो।’
उनका अनुसार अहिले टुर अपरेटरहरू पनि पलायन हुन थालेका छन्। अर्थात, वैैकल्पिक पेसा रोज्न थालिसकेका छन्। अब टुर अपरेटरहरूले पुरानै सामान प्रयोग गर्ने अवस्था पनि छैन र नयाँ खरिद गर्ने अवस्थामा पनि उनीहरू छैनन्। ‘बरु, अब यो क्षेत्रमा लगानी गर्ने पैसा त बैंकमै राख्दा पनि राम्रो ब्याज पाउँछन्। व्यवसाय गरेर नाफा नआउने भएपछि यो क्षेत्रमा किन लगानी गर्ने त,?’ उनको प्रश्न छ।
कोरोना महामारीका कारण अहिले लगानी जोखिममा परेको छ। त्योसँगै दक्ष जनशक्तिसमेत पलायन भएको छ। अहिले दक्ष कामदार अधिकांश विदेश पुगिसकेका छन् भने पुराना कर्मचारी गाउँ फर्किएर आफ्नै व्यवसायमा रमाउन थालिसकेको उनी सुनाउँछन्।
अहिले अंग्रेजी बोल्ने गाइडसमेत अभाव हुन थालेको छ। पहिला भएकाहरू अहिले ‘रिटायर’ भइसके। ‘यो समस्या अहिले नआए पनि जब ५÷६ लाख पर्यटक नेपाल आउन थाल्छन् तब होटल, टुर, ट्राभलसहित सबै क्षेत्रमा देखापर्छ,’ अशोक भन्छन्, ‘अर्को भनेको हाम्रो लगानी अभाव हुने निश्चित छ। पहिला भएका सामान बेचेर कर्मचारीको तलब खुवाउनेदेखि अफिस सञ्चालन र घर खर्चमा सकिइसकेको छ। अब त केही पनि छैन र लगानी त पलायन भयो।’
योसँगै पर्यटन क्षेत्रले लगानीकर्तासमेत गुमाएको छ। अहिले पर्यटन व्यवसायीले अर्कै व्यवसाय सुरु गरेका छन्। कोरोनाकै कारण ३० वर्षसम्म काम गरेका पुराना व्यवसायीसमेत पलायन भएका छन्। पुराना अपरेटरसमेत नहुँदा पर्यटकलाई दिने सेवा प्रभावित हुने दख्छन् अशोक।
पुराना र अनुभवी व्यवसायी नै पर्यटन क्षेत्रबाट पलायन हुँदा मुलुकलाई ठूलो नोक्सानी हुन्छ। ‘जसले नेपालको टुर अपरेसनमा वर्षौं काम गरिरहेको थियो, उसले नै काम छाडेपछि विदेशी अपरेटरले त नेपाललाई नै प्राथमिकता दिन्छ भन्ने हुँदैन। उसले नेपालको ठाउँमा अर्को मुलुकलाई छान्न सक्छ। यसको असर दिर्घकालीनरूपमा पर्यटन क्षेत्रमा देखा पर्नसक्छ,’ उनी भन्छन्, ‘पर्यटन व्यवसाय भनेको सम्बन्धकै आधारमा चल्ने हो। अहिले पनि नेपाल आउने विदेशी धेरै वर्ष पुराना कम्पनीसँगको सम्बन्धकै आधारमा आउने गरेका छन्।’
स्कुले जीवन
काठमाडौंमै जन्मिई हुर्किएका अशोकले कक्षा ३ देखि नै भारत दार्जिलिङमा अध्ययन गरे। स्कुल तहको पढाइ पूरा गरेपछि उनी उच्चशिक्षा अध्ययन गर्न नयाँदिल्ली गए। जब उनी दिल्ली पुगे, त्यसपछि उनले वास्तविक संसार देखे। स्कुले जीवनमा होस्टल र स्कुल गर्दै बिताएका अशोकले वास्तविक संसारको महसुस दिल्लीमा गरे। ‘जिन्दगी भनेको के हो र संसार कस्तो हो भन्ने अनुभव दिल्लीमा गरेँ,’ अशोक सम्झिन्छन्।
त्यहाँ तीन वर्ष अध्ययन सकेर काठमाडौं फर्किए। स्नातकोत्तर अध्ययन गर्न विदेश जाने तयारीमा लागिसकेका अशोकको बाटो त्यहीँबाट मोडियो, जब बुबाले सम्हालिरहेको सांग्रिला टुर्सका ‘जनरल म्यानेजर’ ले जागिर छाडेर गए। र, उनको ठाउँमा केही दिन (तीन महिनाजति) हेरिदिन बुबाले अनुरोध गरे। बुबाको अनुरोध मानेर तीन महिनाजति कम्पनीको व्यवस्थापन हेर्न थालेका अशोक निरन्तर ३२ वर्ष यसैमा तल्लिन रहे। उनले कहिल्यै पछाडि फर्किएर हेरेनन्।
बुबाबाट पर्यटनमा सिकेका कुरा
अशोकका बुबा टेकचन्द्र आफैं पर्यटनका ‘पायोनियर’ थिए। टेकचन्द्रले सन् १९६८ बाट पर्यटन क्षेत्रमा काम सुरु गरेका थिए। सांग्रिला टुर नै भनेर काम सुरु गरेको भने १९७८ तिरबाट हो। बुबाले काम गरिरहँदा अशोक र उनका दाइलाई पनि जिम्मेवारी दिँदै गए। दाइले फाइनान्स हेथेै भने अशोकले बिक्री (सेल्स) हेर्थे।
‘बिस्तारै काम गर्दागर्दै बुबाले हामीलाई पूर्णरूपमा कम्पनीको जिम्मेवारी दिनुभयो। बुबाले काम गरेको र हाम्रो नेतृत्वमा काम गर्दा केही फरक आइसकेको थियो,’ अशोक सम्झिन्छन् ‘बुबाले एउटै मान्छेसँग लामो समयसम्म काम गर्नुहुन्थ्यो भने पछि मूल्यमा बार्गेनिङ चल्ने, सस्तो प्याकेज खोज्नेहरू धेरै आउन थाले। अहिले आएर पूरै परिवर्तन भएको छ।’
बुबा बित्नुभन्दा पहिले यस्ता विषयमा कुरा गर्ने गरेको उनी बताउँछन्। ‘बुबाले मलाई सिकाएर जानुभएका कुरा भनेको पहिलो त सम्बन्धलाई निरन्तरता दिनुपर्छ भन्ने नै हो। त्योबाहेक आफूले तिर्नुपर्ने पैसा तत्कालै तिर्नुपर्छ भन्ने ज्ञान पनि हो र अर्को भनेको विश्वासलाई नै आधार मान्नुपर्छ,’ अशोक बुबालाई सम्झिँदै भन्छन्, ‘जे छ वास्तविकता त्यही नै भन्नुपर्छ भन्ने सन्देश पनि बुबाले नै दिनुभएको हो, जुन मैले अहिले पनि लागू गरिरहेको छु।’
पत्रकारिताको थियो सोच, बने पर्यटन व्यवसायी
बुबाले पर्यटन क्षेत्रको काम गरिरहँदा पनि अशोकलाई यो क्षेत्रमा लाग्छु भन्ने सोच नै थिएन। आमसञ्चारमा स्नातकोत्तर गरेर पत्रकारिता गर्ने सोच उनले बनाएका थिए। ‘भारतमा भर्खर–भर्खरै पत्रपत्रिका र निजी टेलिभिजन च्यानल सुरु भएका थिए,’ उनी विगत सम्झिन्छन्, ‘भारतमै गएर पत्रकारिता अध्ययन गर्ने र त्यतै काम गर्ने सोच बनाएको थिएँ, तर मेरो सोच पूरा हुन पाएन।’
पर्यटनमै कसरी अड्किए?
बुबाको कम्पनीमा तीन महिनाजति काम गरिसकेपछि अशोकलाई एक दिन अमेरिका जाने अवसर मिल्यो। त्यहाँका टुर अपरेटरहरूलाई भेट्ने अवसर पाएपछि उतै गए।
‘अहिलेको जस्तो हवाई सेवा थिएन। त्यो बेला एकचोटि गएपछि कम्तिमा डेढ महिनासम्म उतै बस्नुपथ्र्योे। त्यही भएर अमेरिकाका धेरै सहर घुमेर नेपाल फर्किएँ,’ उनी अनुभव सुनाउँछन्, ‘त्यही बेला मैले पत्रकारिता पढ्ने सोच हटाइसकेको थिएँ। किनकि मेरो मनमा घुम्न पाउने लोभले बास बसिसकेको थियो।’
काठमाडौं फर्किएपछि फेरि बुबाले ट्रेकिङको ‘लिड’ गर्ने जिम्मा अशोकलाइए दिए। ‘म ट्रेक लिडर भएर काम गर्न थालेँ। यो दुईवटा कामका बीचमा मैले अर्को काम गर्ने सोचै आएन। २२÷२३ वर्षकै उमेरमा अमेरिकनलाई ट्रेकिङ लगेर जाँदा दैनिक कमाइ नै ९० डलर थियो। १५ दिनको ट्रेकिङ जाँदा १५ सय डलर आउँथ्यो। खर्च खासै हुन्थेन,’ उनी हाँस्दै भन्छन्, ‘उनीहरूलाई गफ लगाएको भरमा यति धेरै पैसा आउने भएपछि मेरो रस पनि पर्यटनमै पर्दै गयो। यति धेरै कमाइ हुन थालेपछि मैले अर्को काममा ध्यान नै दिइनँ। ट्रेकिङबाट फर्किएर आएपछि साथीभाइलाई पार्टी नै मैलेमात्र दिन्थेँे।’
जब उनी पूर्णरूपमा पर्यटन व्यवसायमा लागे तब उनका बुबाले भनेका थिए– ‘तिमीले यो काम त सुरु ग¥यौ, तर तिम्रो जीवनशैली भने अर्बपतिको भन्दा फरक भने हुँदैन है।’
त्यसको मतलब विदेश गइरहने, महँगा–महँगा होटलमा बस्न पाइन्थ्यो। ग्राहकसँग ‘डिल’ गर्न पनि महँगा र ठूला होटलमा बस्नुपथ्र्यो। अहिले पनि पर्यटन क्षेत्रमा काम गर्नेका लागि ‘ग्लामर’ नै रहेको अशोक बताउँछन्।
तेस्रो पुस्तालाई स्वतन्त्रता
बुबाले सुरु गरेको व्यवसायलाई अशोकलाई निरन्तरता दिँदै आएका छन्। ‘तर, मेरा छोराछोरीले यही काम गर्छन् भन्ने मलाई लाग्दैन। छोरीले त अध्ययन नै पर्यटनभन्दा बाहिर सिभिल इन्जिनियरिङ गरिरहेकी छिन्। छोराले अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी अध्ययन गरेका छन्,’ अशोक भन्छन्, ‘उनीहरूले यो काम गर्नुपर्छ भन्ने पनि छैन। रहर गरेर यही व्यवसायलाई अगाडि बढाउन चाहे भने ठाउँ छँदैछ। होइन हामी यो काम गर्दैनौं, अर्कै गर्छौ भने पनि कर गर्ने कुरा भएन। सकेसम्म चलाउँछौं, त्यसपछि केही विकल्प सोच्छौं। मलाई रिटायर हुन भने मन छैन। म काम गर्न भने रोक्दिनँ।’
रमडुडलको कुरा
‘रमडुडल’ पनि १९७९ तिरै स्थापना भएको हो। नेपालमा पहिले ट्रेकरहरू बढी आउने गर्र्थे। उनीहरू होटलमा आएर बसेपछि राम्रो खाना खान नपाउने समस्या थियो। त्यस्ता ग्राहकलाई राम्रो खाना खुवाउनका लागि रेस्टुराँको महसुस भयो। त्यो बेला ठमेलमा केसीज र दरबारमार्गमा नाङ्लो रेस्टुराँमात्र सञ्चालनमा थिए।
‘त्यसैले हामीले पनि यो रेस्टुराँ खोलेका हौं। एक दिन प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारी हाम्रो रेस्टुराँ आइपुगे। उनले एउटा काठको टुक्रामा हस्ताक्षर गरेर गए। ठूला मान्छेले गरेको हस्ताक्षर भनेर हामीले पनि भित्तामा टाँसेर राख्यौं,’ अशोक भन्छन्, ‘एकपछि अर्को आउँदै गर्दा त्यो को हो, म पनि सगरमाथा आरोहण गरेको हुँ भन्दै हस्ताक्षर गर्दै जाने क्रम बढ्यो र भित्ता नै ढाकियो। हामीले त्यसलाई जोगाएर राख्यौं। काठको टुक्रामा हस्ताक्षर गरेकालाई राख्ने गरेका छौं।’
रेस्टुरेन्टको नाम पनि पृथक छ– रमडुडल। यो नाम कसरी रह्यो त? ‘१९५३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण भएपछि १९५६ मा ‘द सेन्टर फ्रम डुडल’ नामक किताब प्रकाशन भयो। त्यो किताबमा भने हिमाल आरोहणबारे हँसाउने खालका विषय राखिएका छन्। हिमाल आरोहीलाई खिसी उडाएर लेखिएको भए पनि त्यो किताब चर्चित छ र त्यसैलाई आधार मानेर रेस्टुँराको मेनु पनि त्यहीखालको बनाएका छौं,’ उनी भन्छन्।
पर्यटनमा कोरोना प्रभाव
कोरोना महामारीअघि पर्यटन क्षेत्रमा भोगिएका समस्या सबै आन्तरिक थिए। अर्थात, नेपालभित्रकै मात्र। अहिले भने विश्वव्यापी समस्याकै रूपमा आएको छ। ‘अहिलेको जस्तो ठूलो चुनौती पहिले कसैले लिएका थिएनन् र अबका पुस्ताले भोग्नुपर्छ जस्तो पनि लाग्दैन। अहिलेको यो चुनौती पार गरेर जानेहरू भने सधैं सफल हुनसक्छन्,’ अशोक अनुमान गर्छन्।
सरकारले विपत जोखिम न्यूनीकरणका लागि ठोस काम गर्न नसकेको उनको भनाइ छ। अहिले पनि विपत जोखिम न्यूनीकरणका लागि बलियो समिति बनाउन आवश्यक रहेको उनी बताउँछन्। किनकि यस्तो विपत्ति जहिले पनि आउन सक्छ। ‘त्यसैले सरकारले विपत व्यवस्थापन समिति भने तत्कालै बनाएर दिर्घकालीन योजना बनाउन आवश्यक छ,’ उनी भन्छन्, ‘अहिले पनि धेरै जोखिम हामीसँग छ।’
नेपाल एयरलाइन्स किन बन्दैन?
अशोकले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य भएर पनि काम गरेका थिए। ‘तर, नेपाल एयरलाइन्सलाई राम्रो बन्न दिन्नन्। बीचमा केही समय जहाज किन्दा चुप लागेर बसेका थिए। तर, पछि केही राम्रो गर्न थालेपछि भने हस्तक्षेप सुरु भयो,’ उनी अनुभव सुनाउँछन्, ‘त्यसैले यो सञ्चालनका लागि सरकारले ठोस निर्णय लिन आवश्यक छ। हुन त यस्तो सोच भएका कुनै पनि नेतृत्व देखिएको छैन। राष्ट्रिय ध्वजावाहकका जहाज धेरै भए नेपालमा पर्यटक धेरै ल्याउन सकिन्छ। नेपाल एयरलाइन्स बलियो बनाउन सके पर्यटकमात्र होइन, तेस्रो मुलुकबाट व्यापार गर्नसमेत सहज हुन्छ। यो विषयमा सरकार गम्भीर भएर लागेको देखिँदैन।’