काठमाडौं। नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न परेको मुद्दा छिनोफानो भएको छैन। मंगलबार डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको उक्त मुद्दा मंगलबार हेरिएको छैन।
पुरानो ठूलो मुद्दाको सुनुवाइ भएकाले आज उक्त मुद्दा हेर्न नभ्याइएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। ‘श्रीमानले अर्को ठूलो मुद्दा हेरिरहनु भएको छ,’ उनले भने, ‘आज समय नभ्याएर नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न परेको मुद्दा हेर्न नभ्याइएको हो।’
फाँटले मुद्दा हेर्न एक साता वा १० दिन पछि पुनः बोलाउने पौडेलले बताए। यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो। रिटमा अदालतले तत्कालको लागि प्रकृया अघि नबढाउन आदेश दिएपछि अहिले तीनवटै लाइसेन्सको प्रक्रिया रोकिएको छ।
बोर्डले लाइसेन्स खुल्ला गरेपछि सो प्रक्रियाविरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त मुद्दामा अदातलतले तत्कालको लागि प्रक्रियाअघि नबढाउन अल्पकालिन आदेश दिएकाले फैसला नभएसम्म नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको प्रक्रियाअघि नबढ्ने भएको छ।
बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि असोज २ गते आवेदन आव्हान गरेको थियो। बोर्डले ३० दिन भित्र ब्रोकर लाइसेन्स र स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको ४५ दिन भित्र आवेदन दिन आव्हान गरेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिफारिसमा बोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने ४६ कम्पनीको आवेदन लिएको छ। त्यस्तै स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको आवेदन दिने अन्तिम दिनमा आएर बोर्डले अर्को सूचना नआएसम्मको लागि सम्पूर्ण कार्य स्थास्थितिमा राखेको छ।