काठमाडौं। नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित होङ्सी शिवम सिमेन्ट्स प्रालिको क्षमता विस्तार रोकिएको छ। नयाँ कम्पनीका बजार प्रवेश र सिमेन्ट मागमा आएको गिरावटले गर्दा उद्योगले उत्पादन विस्तारलाई अहिले स्थगन गरेको छ।
उद्योगले अहिलेको उत्पादन दोब्बर बनाएर दैनिक १२ हजार टन उत्पादन गर्ने लक्ष्य लिएको थियो। उत्पादन क्षमता बढाउन उद्योगले कागजी काम पूरा गरिसकेको छ। लगानीलगायत अन्य तयारी भए पनि बजार सुस्तताले होङ्सी शिवमले तत्काल क्षमता विस्तारको काम रोकेको हो।
सिमेन्ट माग घट्नु र बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) संकटका कारण उद्योगले क्षमता विस्तार हाललाई स्थगन गरेको होङ्सी शिवमका एक अधिकारीले क्यापिटल नेपाललाई बताए। अवस्था सुधार आएपछि क्षमता विस्तारको काम हुने उनले बताए।
कारखानामा एउटा प्लान्ट थपेर सिमेन्ट उत्पादन दोब्बर बनाउने योजना होङ्सी शिवमको छ। नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि होङ्सीले ३७ अर्ब रुपैयाँ लगानी गरेको छ। उसले उक्त रकम नेपाली बैंक तथा वित्तीय संस्थाबाट जुटाएको छ।
होङ्सीमा शिवमको ३० र होङ्सीको माउ कम्पनी हङकङ रेडलाइन सिमेन्ट नम्बर–३ लिमिटेडको ७० प्रतिशत लगानी छ। सिमेन्ट बजार दिन प्रतिदिन बिग्रिँदै गइरहेको अवस्थामा नयाँ लगानी थप्ने सम्भावना नै नभएको ती अधिकारीको भनाइ छ। लगानी बोर्डले होङ्सी सिमेन्टको दोस्रो चरणको उत्पादन योजना स्वीकृत गरिसकेको छ।
उद्योगमा एनएमबी बैंकको अगुवाइमा १६ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ। उद्योगमा नेपाल इन्भेस्टमेन्ट, प्रभु, एभरेस्ट र नेपाल एसबिआई बैंक र कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेका छन्। कर्जा सुरक्षण जमानत बैंक अफ चाइना र मिङसेङ बैंकले दिएका छन्।
क्लिंकर आपूर्तिका लागि कन्भेयर बेल्ट निर्माणमा उद्योगलाई केही समस्या भएको छ। यता, होङ्सीको माउ कम्पनी हङकङ रेडलाइनले दैनिक ६ हजार टन क्षमताको दाङ सिमेन्टको ८५ प्रतिशत स्वामित्व खरिद गरिसकेको छ। दाङ सिमेन्ट सञ्चालनका लागि लगानी बोर्ड र कम्पनीबीच समझदारी (एमओयु) को तयारी भइरहेको छ। त्यसपछि परियोजना लगानी सम्झौता (पिआइए) को तयारी हुनेछ।
आम्दानी घट्यो
बजारमा माग घटेपछि होङ्सी शिवमको सञ्चालन आम्दानीमा केही कमी आएको छ। होङ्सीको सन २०२२ मा सञ्चालन आम्दानी १७ अर्ब ४ करोड रूपैयाँमा अडेको छ। २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख रूपैयाँको सिमेन्ट व्यापार गरेको थियो।
तर, गत वर्षको तुलनामा यो वर्ष उद्योगको आम्दानीमा कमी आएको छ। २०२० मा १३ अर्ब ३७ करोड १० लाख रूश्रपैयाँ बराबर व्यापार गरेको थियो।
त्यस्तै २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। उद्योगको कूल आम्दानीमा क्लिंकर व्यापारको हिस्सा ४७ प्रतिशत छ। बाँकी ५३ प्रतिशत सिमेन्ट बिक्रीबाट आम्दानी हुने गरेको वित्तीय विवरणमा उल्लेख छ।
उद्योगले होङ्सी ब्रान्डमा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। आर्थिक गतिविधिमा आएको मन्दीको असर सिमेन्ट व्यवसायमा पनि परेको देखिन्छ। उद्योगले ६ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
२०१५ मा स्थापना भएको होङ्सीले सिमेन्ट र कच्चा वस्तु क्लिंकर उत्पादन गर्दै आएको छ। उद्योगको क्षमता वार्षिक २० लाख टन क्लिङकर र २३ लाख टन सिमेन्ट हो। होङ्सी नवलपरासीको बेनी मनिपुर गाउँपालिकामा छ। उद्योगले २०१८ मार्चबाट सिमेन्ट र मेबाट क्लिंकर उत्पादन थालेको हो।
नेपालमा मात्रै ५५ सिमेन्ट र २० क्लिंर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएकाले बजारमा तीव्र प्रतिस्पर्धा छ। अझै केही ठूला सिमेन्ट तथा क्लिंकर उद्योग सञ्चालनमा आउने तयारीमा छन्। प्रतिस्पर्धाले सिमेन्ट मूल्यमा निरन्तर गिरावट आइरहेको छ।
निर्माण सामग्रीमा सबैभन्दा बढी लगानी भएको क्षेत्र सिमेन्ट हो। बितेका केही वर्षयता सिमेन्टमा लगानी ह्वात्तै बढेको छ। तर, बजारमा माग भने घट्दै गएको उद्योगी बताउँछन्।
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार सिमेन्ट उद्योगमा हालसम्म २ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। उद्योगको जडित क्षमतामात्रै वार्षिक २ करोड टन कटिसकेको छ। माग भने १ करोड टन पनि पुगेको छैन। अहिले अर्घाखाँची र पाल्पालगायत केही सिमेन्ट उद्योगले भारत निर्यात थालेका छन।